महामारी खाद्य व्यवस्थाका लागि ठूलो चुनौती, ४२ प्रतिशत जनसंख्या पौष्टिक आहारबाट वञ्चित

काठमाडौं, १० पुस । जलवायु परिवर्तन, महामारी, कृषि र अर्थव्यवस्थामा आएको परिवर्तन खाद्य व्यवस्थाका लागि चुनौतीका रूपमा देखा परेको छ।

विश्वभर फैलिएको कारोना भाइरस महामारी र देखा परिरहेका नयाँ भेरियन्टका कारण विश्व अर्थ व्यवस्था थप जटिल बन्न पुगेको छ। जसको कारण विश्वको खाद्य व्यवस्थाले थपिएका समस्या थपिएका कारण कठिनाइ सामना गर्नुपर्ने भएको छ।

कृषि र अर्थव्यवस्थामा आएको परिवर्तनले संसारका करिब ४२ प्रतिशत जनसंख्या पौष्टिक आहार खरिद गर्न नसक्दा समस्यामा परेका छन्।

भने संसारका ३०० करोड मानिस आफू र सन्तानका लागि पौष्टिक आहार खरिद गर्न सक्षम छैनन्। त्यसैले उनीहरू आफ्ना सन्तानलाई पर्याप्त पोषण उपलब्ध गराउन सक्दैनन्।

यति मात्र होइन, आर्थिक संकटका कारण जनताको आम्दानी एक तिहाइले घट्यो भने थप १०० करोड मानिसले पौष्टिक खाद्यान्न किन्न नसक्ने अवस्था आउन सक्ने अनुमान खाद्य तथा कृषि संगठन (एफएओ) ले गरेको छ।

विश्व यातायात व्यवस्थामा बाधा उत्पन्न भयो भने करिब साढे ८४ करोड मानिसले पहिलेको तुलनामा खाद्यान्न महँगोमा किन्नुपर्ने तथ्य एफएओको पछिल्लो प्रतिवेदनमा उल्लेख छ।

एफएओका अनुसार २०२० मा विश्वका करिब ७७ करोड मानिस भोकमरीको सिकार बनेका थिए। यो विश्व जनसंख्याको १० प्रतिशत हो । सन् २०१९ मा भन्दा सन् २०२० मा थप १२ करोड मानिस भोकमरीको चपेटमा परेका थिए।

प्रतिवेदनअनुसार विश्वले सन् २०३० सम्ममा भोकमरी र कुपोषण उन्मूलनका लागि तय गरेको लक्ष्य हासिल गर्ने सम्भावना महामारी हुनुअघि नै देखिएको थिएन।

अब महामारीले यो समस्यालाई झनै विकराल बनाइदिएको छ। महामारी मात्र होइन, जलवायु परिवर्तन, द्वन्द्व र खाद्यान्नको बढ्दो मूल्य विश्वव्यापी रूपमा खाद्य उत्पादन र आपूर्ति शृंखलालाई असर गर्ने प्रमुख कारण बनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here