सन् २०२१ : रेकर्ड नै रेकर्ड बनाएको शेयर बजार, लगानीकर्ताका लागि सुखद र दु:खद दुवै

काठमाडौं । सन् २०२१ मा नेपाली शेयर बजारका लागि सम्झन लायक नै रह्यो ।

यही वर्षको नेप्से हालसम्म उच्च विन्दु र यही नै वर्ष न्यून बिन्दुमा पुगेको थियो । नेप्से परिसूचक र कारोबार शेयरको सार्वाधिक कित्ता कारोबार पनि २०२१ मा नै भएको थियो ।

सन् २०२१ अगस्ट १८ तारिकमा नेपालको शेयर बजार सूचक हालसम्मकै उच्च ३१९८.६ विन्दुमा बन्द भएको थियो ।

अगस्ट १५ तारिकमा भने इतिहासकै उच्च २१ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । यही वर्ष गत जनवरी ५ मा नेप्से परिसूचक २१६५.४९ को विन्दुमा बन्द भएको थियो। जुन यो वर्षकै न्यू विन्दु पनि हो ।

पछिल्लो झन्डै ६ महिनामा सरकारको नीति तथा राजनीतिक दलका नेताको अभिव्यक्तिका कारण बजार प्रभावित बन्न पुग्यो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर कर्जाको सीमा ४–१२ करोडमा सीमित गर्यो । यसको लगानीकर्ताले चौतर्फी विरोध गर्दै आएका छन् ।

राष्ट्र बैंकले धितोपत्रको दोस्रो बजारमा निश्चित सीमा तोकेर १ बर्षभन्दा कम अबधिका लागि लगानी गर्न नपाईने कानूनी व्यवस्था गरिदिँदा बैंकले गर्ने अल्पकालिन लगानी समेत रोकिन पुग्यो ।

राष्ट्र बैंकको उक्त व्यवस्थाले दिर्घकालिन रुपमा शेयर बजारमा राम्रो गरेपनि तत्कालका लागि संस्थागत ठूला लगानीकर्ताको रुपमा रहेको बैंक वित्तीय संस्था बाहिरिँदा बजारमा बिक्री चापय पर्न पुग्यो भने बजारमा केही गिरावट आयो ।

धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिमयुक्तको सूचीमा राखेर नाम नै सार्वजनिक गरिदियो । यसले पनि बजारमा ठूलो तरङ्ग ल्यायो ।

दुई नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुखहरुले आफ्नो आफन्तको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सार्वजनिक भएपछि बजारमा नयाँ तरङ्ग आयो ।

योसँगै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिए भने बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित भए । त्यसयता, अहिलेसम्म पनि नियामक निकायहरुमा नयाँ प्रमुखको नियुक्ति हुन सकेको छैन ।

सन् २०२१ को पूर्वार्धमा सेयर बजार लगानीकर्ताका लागि सुखमय देखिएपनि उत्तरार्धमा आईपुग्दा त्यतिकै दुखद रहन पुग्यो ।

नियमक निकायले समयसापेक्ष गर्ने नीतिगत परिवर्तन, उच्च तरलता संकट, ब्याजदरमा हुने अनेपेक्षित वृद्धि, राजनीतिक दलका नेताहरुको अनावश्यक चासोजस्ता कारणले गर्दा यो बर्ष लगानीकर्ताका लागि तनावपूर्ण रहन पुग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here