अब गोसाईकुण्ड यात्रा केबलकारबाट

१९ असार, काठमाडौ । सुन्दर र लोकप्रिय गन्तब्य गोसाइकुण्ड यात्रा अब केवलकारबाटै सम्भव हुने भएको छ ।

खासगरी धार्मिक पर्यटकबीच यो गन्तब्य चर्चित छ । रसुवा–गोसाईकुण्ड खण्डमा केवलकार निर्माण हुँदैछ । केबलकार निर्माण गर्न दुईअहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रक्रिया चलिरहेको रसुवाको गोसाइकुन्ड गाउँपालिकाले जानकारी दिएको छ ।

गोसाईकुण्ड गाँउपालिका र घ्याङफेदी–गोसाईकुण्ड केबलकार कम्पनी प्रालिले दुई स्थानमा निर्माण हुने केवलकारका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम अगाडी बढाएका हुन् ।

यो परियोजना लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्छ । निकुन्ज भित्रका सबै परियोजनाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनिवार्य गर्नुपर्छ । गोसाइकुण्ड पुग्न दुई स्थानमा केवलकारको निर्माण हुँदैछ ।

गोसाईकुण्ड गाउँपालिका–६ सदरमुकाम धुन्चेदेखि, गोसाईकुण्ड गाँउपालिका–५ स्थित धार्मिक तथा पर्यटकिय तीर्थस्थल गोसाईकुण्डसम्म केबलकार निर्माण गोसाईकुण्ड गाँउपालिका आफैले गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ ।

दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीदेखि गोसाईकुण्डसम्मको केबलकार भने घ्याङफेदी–गोसाईकुण्ड केबलकार कम्पनी प्रालि, महाराजगन्जले गर्नेछ ।

केबलकार निर्माण गर्न दुबै स्थानबाट प्रस्ताव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस भएको थियो । उक्त प्रस्ताव अनुसार विभागले निकुञ्जसँग केबलकारका संरचना रहने स्थानको अनुगमन गर्दै प्रि–फिजिबिलिटी प्रतिवेदन मागेको थियो ।

लाङटाङ राष्ट्रिय निकुञ्जले केबलकारको संरचना रहने दुबै ठाउंमा फिल्डको अनुगमन गरि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न प्रि–फिजिबिलिटी प्रतिवेदन राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागमा पठाइ सकेको लाङटाङ राष्ट्रिय निकुञ्जले जानकारी दिएका छ ।

पछिल्लो समय नेपालमा केवलकार निर्माणले गति लिएको छ । खासगरी पर्यटकीय आकर्षण भएका धार्मिक गन्तब्यमा केवलकार निर्माणको आकर्षण देखिएको छ ।

बजारिकरणको थप आवश्यकता नपर्ने र भएकै यात्रुका माध्यमबाट पनि पर्याप्त विजनेश पाउने भएपछि लगानीकर्ता धार्मिक गन्तब्यमा आकर्षित भएका हुन् ।

मनकामना नेपालको पहिलो केवलकार हो । त्यसपछि व्यवसायिक रुपमा काठमाडौंको चन्द्रागिरिमा दोस्रो केवलकार निर्माण भयो । तेस्रो व्यवसायिक केवलकार दोलखाका कालिन्चोक भगवती मन्दिरमा निर्माण तथा संचालनमा छ ।

उता, ताप्लेजुङको पाथिभरा, प्यूठानको स्वर्गद्धारी, कास्की, नवलपरासी, मुक्तिनाथ, शिवपुरीजस्ता क्षेत्रमा केवलकार परियोजना अगाडी बढ्ने प्रक्रियामा रहेका छन् ।

कठिन भौगोलिक अवस्थिति रहको नेपालजस्ता मुलुकका लागि सडक यातायात अत्यन्तै खर्चिलो र जोखिमपूर्ण रहन्छ । यस्तोमा केवलकार उपयुक्त यातायातको साधन समेत बन्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here