डाटामा आफ्नै स्वामित्व सिर्जना गर्ने ‘वेब ३.०’, किन छ महत्त्वपूर्ण ?

काठमाडौं । मेटाभर्सको लोकप्रियता पछि अहिले सूचना संसारको नयाँ बजवर्ड बनेको छ ‘वेब ३.०’ ।

विश्वभर चर्चामा रहेको सो वेबलाई विकेन्द्रीकृत वेबको रुपमा पनि चिन्न सकिन्छ । वेब ३.० को प्रमुख बिशेषता भनेको यसलाई सरकार वा ठूला कम्पनीलगायत कुनै पनि केन्द्रीकृत शक्तिले नियन्त्रणमा राख्न सक्दैन ।

यो प्लेटफर्म वा व्यापारकेन्द्रित भन्दा पनि प्रयोगकर्ता केन्द्रित देखिन्छ । अहिले मानिसहरु डाटा लिक हुने तथा ह्याक हुने जस्ता समस्या भोगिरहेका छन् । सामान्य प्रयोगकर्ताका लागि आफ्नो डाटाको सुरक्षाका लागि खासै केही गर्न सक्ने अवस्था छैन ।

किनकि एक पटक अनलाइन वा अन्य केन्द्रीकृत डिजिटल च्यानलमा स्वेच्क्षाले प्रवेश वा साझेदारी गरेपछी त्यसमा हाम्रो मात्र स्वामित्व रहँदैन ।

प्रयोगकर्ताको डाटा किनबेच गरेर कतिपय कम्पनीहरुले पैसा कमाइरहेका छन् । एक पटक हामीले अनलाइन अथवा कुनै डिजिटल च्यानलमार्फत सेयर गरेपछि अन्य मानिसहरु वा कम्पनीहरु यस जानकारीका साथ आफूले चाहेको कुरा गर्न स्वतन्त्र हुन्छन् ।

जसले हामीलाई प्रत्यक्षरुपमा सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्छ । उदाहरणका लागि हाम्रो डाटा प्रयोग गरेर सोहीअनुसार हामीलाई उपयुक्त हुने विज्ञापनहरु देखाउने लगायत गतिविधि यसै कडीका उदाहरण हुन् ।

यदि तपाईंले आफूसँग सम्बन्धित सबै डाटाको आफैसँग स्वामित्व राख्न पाएमा या चाहेको जस्ता स्वतन्त्र रुपमा प्रयोग गर्न पाएमा कस्तो हुन्थ्यो होला भन्ने सोचिरहनु भएको छ भने विकेन्द्रीकृत वेबले त्यसका लागि मद्धत गर्ने छ ।

त्यस्तै हामी कुनै पनि तेस्रो पक्षको संलग्नता विना व्यापार, लेनदेन, सञ्चार र राम्रोसँग काम गर्न सक्षम हुने छौः चाहे त्यो सरकारी होस वा गैरसरकारी क्षेत्र ।

वेब ३.० डेटामा आधारित वेब हो, जसलाई मानिस मात्र होइन मेसिनहरुले पनि चलाउन सक्छन् । यहाँ वेब १. ० ले एउटा इन्साइक्लोपिडिया अर्थात विश्वकोष सृजना गर्यो भने २.० ले विकिपिडिया सघायो ।

अब ३.० ले वेबमा भएका सबै सूचना वा जानकारी समेटेर एउटा ठूलो डाटावेश बनाउँछ । त्यसैले यो वेब १.० र वेब २.० को परिस्कृत रुप हो ।

शुरुमा वेब १.० आउँदा मानिसहरुका लागि इन्टरनेट नयाँ थियो । इन्टरनेटमा स्थिर पेज मात्र राखिने गरिन्थ्यो । प्रयोगकर्ता बढेपछि सन् १९९० मा २.० आएसँगै इन्टरनेटमा फेसबूक, युट्युव तथा अमेजनलगायत कम्पनीको आगमन भयो ।

पछिल्लो समय वेब २.० ले गोपनीयता र बौदिक चोरी जस्ता समस्या निम्त्याएको थियो । सो समस्यालाई बेव ३.० ले समाधान गर्ने अनुमान गरिएको छ ।

त्यसो त वेब ३.० ले यसका भिजनलाई निरन्तरता दिनका लागि क्रिप्टोकरेन्सी र ब्लकचेनलाई समाबेश गर्छ । हामीले एनएफटी वा क्रिप्टोकरेन्सीलाई कानुनी टेन्डर बनाउने देशहरुका बारेमा सुनेका छौं ।

यो कहिलेबाट लागु हुन्छ भन्ने बारे हामी जानकार त छैनौं तर धेरै कम्पनी तथा प्लेटफर्महरुले वेब थ्रीको अभ्यास गर्नका लागी पूर्वाधार निर्माण गर्न लागेको देख्न सक्छौ ।

उदाहरणका लागि कन्स्टिलेशन एउटा प्लेटफर्म हो जसले विकेन्द्रीकृत पुँजीबजार सिर्जना गर्ने परिकल्पना गर्छ । यसले अन्तरसञ्चारको सुविधा पनि प्रदान गर्छ । यसको मतलब तपाईंले विभिन्न ब्लकचेनहरु बीच लेनदेन गर्न सक्नहुन्छ ।

सामान्य प्रयोगकर्ताको हैसियतले वेब थ्रि प्रयोग गर्न हामीले धेरै मेहनत गर्नु पर्दैन । इथरेम र कन्स्टिलेसेनजस्ता संस्था वा प्लेटफर्मबाट त्यस्तो सुविधा लिन सकिने छ ।

वेब ३.० को बेफाइदा वा नराम्रा पक्ष पनि छन् । जस्तो यसलाई वेब २.० को तुलनामा कम विश्वसनीय मानिएको छ । त्यस्तै यसका लागि केही अत्याधुनिक प्रविधिहरुमात्र उपयुक्त हुन्छन् । यसले पुराना धेरै प्रविधिहरुलाई सपोर्ट नगर्ने संभावना छ ।

तर यसका बेफाइदा भन्दा फाइदा धेरै छन् ।

उदाहरणका लागी मनि ट्रान्सफरलाई लिन सकिन्छ । यदी तपाईंले १ हजार डलर कसैलाई अन्य देशमा पठाउन वा साटन पर्यो भने प्रक्रिया लामो र महँगो पर्न जान्छ ।

वेब थ्रीमा ब्लकचेन र क्रिप्टेकरेन्सी सिद्धान्तमा आधारित रहेकोले सीमाबिहीन, विश्वव्यापी विकेन्द्रीकृत उपाय र सेवामार्फत प्रत्यक्ष रकम हस्तान्तरण हुने भएकोले छिटो र सस्तो हुनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here