सूचना महामार्ग निर्माण कार्य निर्धारित समयमै सक्न टेलिकमलाई सूचना मन्त्रीको निर्देशन

काठमाडौं २२, माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । साथै उनले एलटीई प्रविधिको फोरजीको काम समेत सम्पन्न गर्न निर्दिष्ट गरे ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौं वार्षिकोत्सव को अवसरमा आयोजित कार्यक्रममा उनले यस्ते निर्देशन दिएका हुन् । सो अवसरमा उनले देशका सबै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पु¥याई मुलुककै आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पु¥याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने बताए ।

साथै कम्पनीका सेवाहरु सुपथ र आकर्षक रहेपनि आम सेवाग्राहीबीच यिनको प्रचार नभएकोतर्फ इंगित गर्दै यसतर्फ विशेष ध्यान पु-याउनु पर्ने बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले ग्राहकसंख्या मात्र बढाएर नपुग्ने बताए ।

‘सक्रिय ग्राहक संख्याको बढोत्तरी र राजश्वमा वृद्धि हुनुपर्ने तर्फ सचेत हुनुपर्ने देखिन्छ’ उनले भने, ‘कम्पनीका सेवाहरु यति दिगो र गुणस्तरीय हुनुप¥यो कि एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसकुन्’।

यस्तो सेवा मुलुकभर विस्तार गर्न कम्पनीलाई बाधा पारेका पक्षहरुको पहिचान गरी चुनौतीको सामना गर्नुपर्ने बताए । सो अवसरमा अध्यक्ष अर्यालले कोभिडको समयमा पनि निरन्तर रुपमा सेवाहरु उपलब्ध गराइरहन सहयोग पु-याउने सम्बन्धित निकायहरु र कर्मचारीलाई धन्यवाद दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा ग्राहकको चाहना बमोजिमका गुणस्तरीय सूचना प्रविधिसम्बन्धी सेवाहरु प्रदान गर्नु नेपाल टेलिकमको पहिलो दायित्व भएको बताए । साथै उपभोक्ताको सन्तुष्टिलाई मुख्य आधार मानी सेवा प्रदान गर्नु कम्पनीको प्रमुख चुनौती रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथिबाट भर्चुअल माध्यमबाटै कम्पनीको अठारौं वार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको स्मारिका र भोल्टी सेवाको व्यावसायिक शुभारम्भ गरिएको थियो ।

नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको जानकारी दिइन् ।

कम्पनीको १८औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ उपलब्ध गराइएको र सो अन्तर्गत जम्मा रु. २९४ मा २० जीबी डाटा १० दिनसम्म, रु. ९८ मा ६ जीबी डाटा ३ दिनसम्म र रु. ६९ मा माघ १७ गतेदेखि फागुन ३ गते (फेब्रुअरी १ देखि १५) सम्म हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिनेछ । यो अफर माघ १७ गतेदेखि फागुन ३ गतेसम्म प्रयोग गर्न सकिनेछ । वार्षिकोत्सवको दिन माघ २२ गते २४ घण्टाका लागि कम्पनीको नेटवर्क भित्र भिओएलटीई कल निःशुल्क गरिएको छ ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एक\एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने उहाँले बताइन् ।

१८ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा, २०७८ मंसिर मसान्त सम्ममा कम्पनीको ग्राहक आधार २ करोड २७ लाख नाघिसकेको जानकारी दिएको छ । यसको अर्थ, हाल मुलुकको करिव ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।
असहज परिस्थितिका बाबजुद आ.व. २०७७\७८ मा कम्पनीको कुल आय रु ४२ अर्व २१ करोड पुगेको छ भने, कम्पनीको खुद मुनाफा रु ७ अर्व १३ करोड भएको छ । चालु आ व को पौष मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड राजश्व प्राप्त गरेको छ, जुन गत आ.व. को पहिलो अर्धवार्षिक अवधिको तुलनामा ५.७५ प्रतिशतले बृद्धि भएको छ ।

भ्वाइस सेवातर्फ; मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको ग्राहक आधार २ करोड २७ लाख भन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड १६ लाख ४५ हजार, सीडीएमए सेवाका ४ लाख ३८ हजार र पीएसटीएन सेवाका ग्राहक ५ लाख २९ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक १ लाख ७४ हजार तथा एफटीटीएच.डाटा सेवाका ग्राहक १ लाख ५९ हजार रहेका छन् ।

हालसम्म ७७ जिल्ला तथा ७२० स्थानीय तहसम्म फोरजी सेवाको पहुँच पुगेको छ भने कुल ४,१८६ स्थान मध्ये ३,८१६ (९१ प्रतिशत) स्थानमा आयोजनाको कार्य पुरा भैसकेको छ । कोर नेटवर्क तर्फ कुल भौतिक प्रगति ९५ प्रतिशत छ । यसै आयोजना अन्तर्गत ६४० नयाँ टावरमध्ये ५०१ टावरको जडान सम्पन्न भई सो मध्ये ४५१ टावरबाट सेवा संचालनमा आइसकेको छ ।

फोरजी नेटवर्क विस्तारसँगै फोरजीको डाटाको खपतमा उल्लेखनीय बृद्धि भएको कम्पलीनीले जानकारी दिएको छ । त्यस्तै फाइभजी सेवा परिक्षणका लागि नेपाल दूरसंचार प्राधिकरणबाट स्वीकृति प्राप्त भई परिक्षण सम्बन्धी कार्यविधि बमोजिम सेवा परिक्षणको लागि आपूर्तिकर्ताहरुसंग समन्वय भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here