काठमाडौं, २० असार । रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् ।
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आवेदन पेश गरेका थिए ।
मन्त्रालयले गठन गरेको विशेषज्ञ सम्मिलित टोलीले सम्पूर्ण स्वास्थ्य संस्थाको अनुगमन गरी मापदण्ड पूरा भएका संस्थालाई कामदारको स्वास्थ्य परीक्षणका लागि छनोट गर्न मन्त्रालयसमक्ष सिफारिश गरेको थियो ।
उक्त समितिको सिफारिश बमोजिम श्रम मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी स्वास्थ्य संस्थाको छनोट गरेको हो ।
छनोट भएका स्वास्थ्य संस्थामा भेनस अस्पताल (बानेश्वर), रत्न पोलिक्लिनिक (पृथ्वीचोक, पोखरा), मेट्रो अस्पताल (महाराजगञ्ज), मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल (स्वयम्भू), नेपालगञ्ज पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर (नेपालगन्ज, बाँके), शुलभ मेडिकल सेन्टर (भरतपुर), नवजीवन अस्पताल धनगढीलगायत रहेका छन् ।
कामदारको स्वास्थ्य परीक्षणका लागि आवेदन दिएका १३८ स्वास्थ्य संस्थाले मलेसिया सरकारले दिएको मापदण्ड पूरा गर्न नसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थालाई छनोट नहुनाका स्पष्ट कारणसहितको जानकारी समेत दिएको छ ।
यसअघि मलेसिया जाने कामदारको ३७ वटा स्वास्थ्य संस्थाले मात्र स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।
श्रममन्त्री गोकर्ण विष्टले जिम्मेवारी सम्हालेलगत्तै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका क्रममा सिन्डिकेट लादिएको भन्दै ती संस्थामाथि कारवाही गरेका थिए ।
स्वास्थ्य संस्थाको मापदण्ड मलेसिया सरकारले नै पठाएको थियो । मापदण्डअनुसार कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाले न्यूनतम् आधारभूत संरचनासहित नयाँ प्रविधिको स्वास्थ्य परीक्षण गराउने उपकरणको व्यवस्था गरेका छन् ।
ती स्वास्थ्य संस्था भौतिक पूर्वाधारले सुविधा सम्पन्न र स्वास्थ्य परीक्षण गराउने आवश्यक जनशक्तिको पूर्ण व्यवस्था भएका छन् ।
मापदण्डमा रेडियोग्राफी विभागमा ३०० एमए\५०० एमएको डिजिटल रेडियोग्राफी एक्स–रे मेसिन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो ।
त्यसैगरी एक्स–रे गर्दा निस्कने विकिरणको सुरक्षित व्यवस्थापन हुनुपर्ने र एक्स–रे गर्न जाने कामदार पालो पर्खने उचित कोठाको प्रबन्ध गर्नुपर्ने व्यवस्थालाई पनि अनिवार्य गरिएको थियो ।
प्याथोलोजी विभागमा माइक्रोस्कोप, इल्सा रिडर, वायोकेमेस्ट्री एनलाइजर (पूर्ण स्वचालित) लगायत १७ प्रकारका स्वास्थ्य उपकरण अनिवार्य गरिएको थियो ।
कामदारका विभिन्न किसिमका स्वास्थ्य परीक्षण गर्न आवश्यक १४ प्रकारका केमिकल स्वास्थ्य परीक्षण गराउने संस्थामा अनिवार्य हुनुपर्ने मापदण्डमा तोकिएको छ ।(रासस)