भारतीय बजेटबाट नेपालले के पाउँछ–के गुमाउँछ ?

२१ असार, काठमाडौं । भारत सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटको तरंग क्रमशः नेपालसम्म फैलनेछ । किनकी करको दरमा प्रतिलिटर दुई रुपैयाँ बढाएपछि अब पेट्रोल र डिजेलको भाउ भारतमा बढिसकेको छ । यसको असर नेपालमा देखिने नै छ ।

सुन र बहुमूल्य धातुमा पनि भारत सरकारले भन्सार दर बढायो । यसले भारतमा सुनको मूल्य त बढ्ने नै छ, भारतमा कालोबजारी पनि उत्तिकै फैलाउने छ । अब नेपालको बाटो हुँदै अझ बढी सुन चीनबाट भारततर्फ जाने कुरामा दुई मत छैन ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेट शुक्रबार ल्याएको हो । विदेशी लगानी, जनताका आधार आवश्यकता र पूर्वाधार विकास बजेटको प्राथमिकतामा छन् ।

त्यसैले त भारतले बिहारसँग जोडिएका नेपालका नदीमा तटबन्ध निर्माण, पंचेश्वर र सुनकोशी उच्च बाँधको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा पनि ठूलो रकम खर्च गर्दैछ । यसका लागि करीव ७ सय करोड भारु भारतले छुट्याएको छ ।

नेपालको सीमा क्षेत्रका सडक यातायातमा समेत भारतले बजेट छुट्याएको छ । उसको मुलुकभित्र सडक, रेल, जल र हवाई यातायातलाई प्राथमिकता त दिने नै भयो ।

भारतमा पहिवलो पटक महिला अर्थमन्त्री निर्मला सीतारमणले लोकसभामा बजेट प्रस्तुत गरिन् । सीतारमणले बजेट पढिरहँदा प्रधानमन्त्री नरेद्र मोदीले करीव ८० पटक टेवल ठोके र उनलाई हौसला दिए ।

बजेटले नेपाललाई दिने अनुदान करीव ५० प्रतिशत बढाएको छ । यसबाट वर्तमान भारतीय सरकारले नेपाललाई दिने महत्व पनि प्रष्ट भएको छ । अघिल्लो बजेटले नेपाललाई दिने अनुदान ७ अर्ब भारतीय रूपैयाँ राखेको थियो ।

निर्वाचनपछि ल्याइएकोे बजेटमा यो अनुदान १० अर्ब ५० करोड भारु पुगेको छ । सन् २०१८–१९ मा भारतले नेपाललाई दिने अनुदान ७ अर्ब ५० करोड भारु थियो ।

भारतीय बजेटमा उल्लेख भएअनुसार यसै बजेट कार्यान्वयन हुने समयमा साहिबगञ्ज र हल्दियामा आन्तरिक जलमार्गको टर्मिनल बन्ने छ । मल्टिमोडल टर्मिनल निर्माणको योजना बजेटमा समेटिएको छ ।

फारक्कामा नेभिगेसनल लक बनाइसक्ने घोषणा पनि बजेटले गरेको छ । यस्ता संरचनाले नेपालसँगको व्यापार सहज हुने अपेक्षा गरिएको छ । साहिबगञ्जसम्म जलमार्गबाट आएका सामान विराटनगर र झापा ल्याउन निकै नजिक पर्छ ।

त्यसो त भारतले आन्तरिक जलमार्गलाई प्राथमिकता दिदै नदिहरुमा जलयातायात बिस्तारको योजना बनाएको छ । भारत र नेपालबीच गण्डकी नदीमा आन्तरिक जलमार्ग निर्माणको सहमति पनि भइसकेको छ । यो नदी गंगामा मिसिन्छ ।

भारत विदेशी लगानी भित्राउन आकर्षक नीति लिने पक्षमा छ । धेरै क्षेत्रमा विदेशी लगानी आकर्षित गर्दा नेपालमा आउनेृ लगानी भारततर्फ जान सक्छ । यसबाट भने कसरी नेपाललाई प्रतिस्पर्धी बनाउन भन्ने चिन्ता र चासो रहेको छ ।

त्यसो त नेपालकै उद्यमी पनि अब भारततर्फ आकर्षित भई उता उद्योग धन्दा बिस्तारमा लाग्न सक्छन् । किनकी नेपालमा सरकारले अपेक्षित औद्योगिक तथा लगानीमैत्रि वातावरण बनाउन सकेको छैन ।

बजेटपछि भारतमा सुन, चाँदी, प्लाटिनियम, पेट्रोल, डिजेल, चुरोट तथा सुर्ती, मार्बल स्लाब, काजु, प्लास्टिकका फ्लोर तथा वालकभर, पुस्तक
सेरामिकको छाना, वाल टाइल, स्टिलका वस्तु, एअर कन्डिसनर, लाउडस्पिकर, अप्टिकल फाइबरजस्ता वस्तु महंगो हुनेछन् ।

सुरक्षा सामग्री, मेडिकल उपकरण, विद्युतीय सवारीसाधनका पार्टपुर्जा, मोबाइल तथा क्यामेराका पार्टपुर्जा, चार्जर, एडप्टरजस्ता वस्तु भने सस्तिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here