तरकारीबाट शरीरमा हानिकारक विषादी, क्यान्सरसम्मको जोखिम

२२ असार, काठमाडौं । सरकारले भारतबाट नेपाल भित्रने तरकारीको विषादी परिक्षण गरेर मात्र आयात अनुमति दिने निर्णय फिर्ता लिएको छ ।

यससँगै अब नेपाली बजारमा भारतबाट निर्वाध भित्रिएका तरकारीको खपत पुनः शुरु भएको छ । तरकारी छिटो बढाउन, लामो समयसम्म ताजा देखाउन र लामो समय तरकारीको आयु कायम राख्न विषादी प्रयोग गरिन्छ ।

त्यसो त विषादी प्रयोग भएका तरकारी खानै नमिल्ने होइन, तर यसको मात्रा र छर्किसकेपछि प्रयोग गर्ने समयबीचको अन्तर कायम राख्नु पर्छ । त्यसो गर्न सकिएन भने तरकारीमा राखिने विषादीले मानव स्वास्थमा निकै खतरनाक रोगहरु निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् ।

विषादीले तरकारीमा लाग्ने किराहरु त मार्छ नै, त्यसको अवशेष बाँकि रह्यो भने मानव शरीरमा क्यान्सरसम्मको जोखिम निम्त्याउन सक्छ ।

नेपालमा हरेक वर्ष करीव औसतः ६०० टन हाराहारी विषादी आयात हुन्छ । त्यसको ८० प्रतिशतभन्दा माथि तरकारीमा खपत हुन्छ । स्वदेशमै यति धेरै विषादी खपत हुन्छ भने भारतबाट आयातित तरकारी र फलफूलको अवस्था झन के होला ?

तरकारी र फलफूलको विषादी किन खतरनाक ?
विषादी अन्य बाली र खाद्यान्नमा पनि प्रयोग हुन्छ । धान, गौ, मकै, कोदो, दालजस्ता सबै प्रकारका खाद्यान्न उत्पादनका बेला कुनै न कुनै रुपको विषादी प्रयोग हुन्छ ।
तर, त्यो त्यति खतरनाक हुँदैन । किनकी कृषकको बारीबाट भान्सासम्म आइपुग्न खाद्यान्नले धेरै चरण पार गर्नुपर्छ । तर, तरकारी र फलफूल भने सिधै भान्सामा आउने भएकाले तरकारीमा प्रयोग हुने विषादी डरलाग्दो हुन्छ ।

तरकारी विषादी प्रयोग गरेको अधिकतम ३० दिनसम्म खान नहुने चिकित्सकको सल्लाह छ । बजारमा आज विषादी छरेर भोली नै बिक्रि हुने तरकारीसमेत आइपुग्छ ।

जोखिम के हुन्छ ?
चिकित्सकहरुका अनुसार तरकारीमा राखिने विषादीले कलेजो र मृगौलामा असर गर्छ । विषादी धेरै र नियमित प्रयोग भएमा त्यसले अन्ततः क्यान्सरको समेत जोखिम निम्त्याउने गर्छ ।

विषादीको असरले मानिस मुर्छा पर्ने, झाडापखाला लाग्ने, शरीर काप्ने तथा दृष्टिसमेत कम हुने समस्या देखिन्छ । दीर्घकालिन रुपमा भने शरीरका विभिन्न अंगमा असर देखिन्छ । अन्धोपन, क्यान्सर, ट्यूमर, नपुंसकता तथा बाँझोपन, नशासम्बन्धी रोग तथा प्रसुती समस्या समेत देखिन सक्छ ।

कसरी बच्ने ?
तरकारी र फलफूल बैमोसमी भन्दा मौसमी तरकारी र फलफूलको प्रयोग गर्ने बानी बसाल्नु पर्छ । चम्किला र आकर्षक तरकारी कृतिम रुपबाटै उत्पादन
भएका हुन्छन् । हेर्दा राम्रो देखिए पनि यसले मानव स्वास्थ्यलाई फाइदा गर्दैन ।

बजारबाट तरकारी ल्याइसकेपछि नुनपानीले राम्रोसँग पखालेर मात्र पकाउने बानी गर्नुपर्छ । मुला, गाँजरजस्ता काचै खाने तरकारी र फलफूल पनि राम्रोसँग पखालेर मात्र खानु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here