अर्थमन्त्री शर्माले दिएका यी ११ बुँदे निर्देशनले होला त पूँजीबजारमा सुधार ?

काठमाडौं, १९ फागुन । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरूलाई स्वागत गर्दै पूँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ ।

बिहीबार अध्यक्ष हमाल र सीईओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारका सुधाकार लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका छन् ।

साथै, शेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको समेत बताएका छन् । अन्य देशहरूमा आज किनेर आजै बिक्री गर्न सकिने प्रणाली रहेको बताउँदै नेपाली पूँजी बजारमा पनि सिस्टम लागू गर्नुपर्ने उनले बताए ।

११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट प्रयोगकर्ता बजारमा रहेको बताउँदै उनले लगानीकर्ताको हितका लागि पूँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए ।

पूँजीबजारलाई उत्पादनमुलुक र पूर्वाधारको क्षेत्रको लागि पूँजी जुटाउने थलोको रुपमा विकास गर्न निर्देशन समेत दिएका छन् ।

शर्माले पुँजीबजारमा राजनीति नगर्न पनि आग्रह गरे। ‘पुँजी बजारमा राजनीति गर्नुहुँदैन। यसलाई स्वचालित ढंगले चल्न दिनुपर्छ’, उनले भने, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन।’

मन्त्री शर्माले कार्यभार सम्हाल्नेबित्तिकै पुँजीबजारका समस्या हल गर्न प्राथमिकता दिएर काम गरेको स्मरण गराउँदै सुधारको कार्य थालनी गर्ने क्रममा धितोपत्र बोर्ड र नेप्सेमा नयाँ नेतृत्व चयन गरेको बताए। नयाँ नेतृत्वले मुलुकको पुँजी बजारलाई सुधार गरी नयाँ ठाउँमा पुर्याउने विश्वास उनले व्यक्त गरे।

यस्ता छन् अर्थमन्त्री शर्माले दिएका ११ निर्देशनहरू

१. कोभीड १९ को महामारीबीच पूँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पूँजीबजारलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पूँजीबजार संचालन भएको छ भन्ने अध्ययन गर्ने ।

२. पूँजीबजारबाट कसरी पूँजी निर्माण गर्न सक्छौं ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ । ठूला पुर्वाधार, उत्पादन, पूँजी निर्माणका लागि पूँजी संकलन गर्ने व्यवस्था मिलाउने ।

३. २० कात्तिक ०७५ देखि नयाँ टीएमएस भित्रिएको छ । यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ । यस्ता गुनासो समाधान गर्नुपर्नेछ ।

४. लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पूँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ । विशेषगरी एसएमई तथा ओटीसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको लागी आवश्यक बजारको विकास गर्नुपर्छ ।

५. सूचीकरणमा आउन नसकेका तथा आइपीओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटीसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने । आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने ।

६. अटोमेसन अक्सन सुरू गर्ने । अक्सन बजार लिलामीबाट सुरूमा विक्री हुन नसकेका सेयर र खरिद विक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने ।

७. ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडि बढाउने । यो ऐन बनेको ४ बर्ष भयो ।

८. अर्थतन्त्रको प्रतिनिधित्व गर्ने वैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने । भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन् । त्यसबाट शिक्षा लिने । मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने ।

९. उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इण्डेक्स फण्ड तथा टे«डेट फाण्डको सुरूवात गर्ने ।

१०. ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्याण्डिङ प्रकृया अगाडि बढाउने ।

११. सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर ट्रेडिङ रोक्ने । पूँजी बजार सम्बन्धी जनचेतना, पूँजी बजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here