मोहीमा समेत नेपाल परनिर्भर, ९ महिनामा २ लाख १४ हजार लिटर खरिद

काठमाडौं, १३ वैशाख । सरकारले वर्षेनी कृषिमा आत्मनिर्भरताको नारा अघि सार्छ तर त्यो नारामा मात्र सीमित देखिएको छ ।

कृषि प्रधान मुलुक दैनिक उपभोगका लागि अत्यावश्यक कृषि उत्पादनमा देखि मोहीसम्ममा परनिर्भर हुँदै गएका छौं। सरकारले आत्मनिर्भरताको नारा घन्काइरहेँ पनि देश झन परनिर्भरतातर्फ धकेलिएको छ ।

पछिल्लो समय नेपालीहरुले मोही समेत विदेशवाट किनेर खाने गरेका भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

घरभरि लैना बकेर्ना भैँसी पाल्ने, दैनिक नै भरपेट मोही खाने नेपालीले पछिल्ला दिनमा मोही समेत आयात गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा नेपालीले दुई लाख १४ हजार लिटर मोही खरिद गरेर पिएका छन् ।

नेपाल कृषि प्रधान देश भनिँदै आएको छ । ६५ प्रतिशत मानिस कृषिमा संलग्न रहेको सरकारी तथ्यांक पनि छ ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर छ । तर, मोही समेत किनेर सेवन गर्नुपर्ने चरम परनिर्भर अवस्थामा नेपाली पुगेका छन् ।

विभागका अनुसार मोहीको आयात मूल्य तीन करोड ६४ लाख ७२ हजार रुपैयाँबराबर छ । त्यसबाट सरकारले एक करोड आठ लाख ९० हजार रुपैयाँबराबर राजस्व संकलन गरेको छ ।

त्यस्तै, बच्चालाई खुवाउने प्रशोधित दूध तीन लाख ७१ हजार ८९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याक्ट कन्टेन्ट) दुई हजार ५३८ लिटर तथा दूध र क्रिम ३९ लिटर आयात भएको छ ।

विभागका अनुसार सो अवधिमा एक अर्ब सात करोड १९ लाख ३० हजार रुपैयाँबराबरको दूध तथा दुग्धजन्य पदार्थको आयात भएको देखिन्छ ।

सरकारले विभिन्न जोन नै तय गरेर कृषिउपजको उत्पादनमा वृद्धि तथा चौपाया पालनमा प्रेरित गरे पनि त्यसको सकारात्मक नतिजा आएको देखिँदैन । सरकारले आगामी आवमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here