नाकामा विक्री हुने ८० प्रतिशत बिस्कुट अवैध आयात, राजस्व गस्ती परिचालन गर्न उद्योगीको माग

काठमाडौं, १९ जेठ । बिस्कुट उद्योगीहरुले विभिन्न माध्यमबाट नेपाल भित्रने बिस्कुटहरुलाई रोक्न सरकार समक्ष आग्रह गरेका छन् ।

नेपाल बिस्कुट उत्पादन संघले सीमानाकाबाट विभिन्न माध्यम प्रयोग गरी तस्करी भई आउने बिस्कुटलाई राजश्व अनुसन्धान बिभागले राजश्व गस्ति परिचालन गराउन आग्रह गरेको हो ।

नेपाल बिस्कुट उत्पादक संघमा आवद्ध पार्लेजी, ब्रिटानिया जस्ता नेपालमा उत्पादन हुने विदेशी कम्पनीले समेत नाकामा यहाँका विस्कुट विक्री नभएको गुनासो गर्दै आएका छन् ।

नाकामा विक्री हुने बिस्कुटबारे अध्ययन गर्दा ८० प्रतिशत भन्सार छलि भएर नेपाल भित्रिएका र बाँकी यहाँ उत्पादित छन् ।

त्यही बिस्कुट नेपालमा उत्पादन गर्दा अलिकती महंगो हुने हुँदा यसको विक्री कम छ । यसको मार स्वेदेशी बिस्कुट उद्योगहरुलाई झन बढी परेको देखिन्छ ।

यसमा सरकारले कडाई नगरेसम्म नेपाल बिष्कुटमा आत्मनिर्भर हुन नसक्ने नेपाल बिस्कुट उत्पादन संघका महासचिव तथा चिव तथा कर्माचार्य बेक्स एण्ड फुड प्रालिका निर्देशक विक्रम कर्माचार्यले बताए ।

उनका अनुसार कोभिड तथा नाकाबन्दीमा नेपालमा उत्पादित विस्कुटको माग अत्याधिक बढेको थियो ।

त्यसो त बिचमा विजुलीको समस्याले गर्दा पनि केही उद्योगहरु बन्द भएका थिए । हुलास जस्तो मार्केट लिडर बन्द हुनु यसको उदाहरण हो ।

बिस्कुटको गुणस्तर रेसिपिले निर्धारण गर्ने भएकोले यसमा नेपाली उत्पादनले आयातितसँग सजिलै प्रतिशपर्धा गर्न सक्ने व्यवसायीहरु बताउँछन् । तर नेपालमा बिस्कुटका लागि आवश्यक कच्चा पदार्थ आयातमा पनि अन्तशुल्क तिर्नपर्दा यहाँका बिष्कुट आयातितको तुलनामा महंगो हुन्छ ।

तर सरकारले आगामी आर्थिक बर्षको बजेटमा बिस्कुट जस्तो स्वदेशी उद्योगको उत्थानको लागि नेपाल सरकारले गरेको सकारात्मक बिस्कुट उद्योगीहरु आशाबादी रहेको भन्दै धन्यबाद समेत व्यक्त गरेका छन् ।

चिनी आयात गर्दा पनि ४० प्रतिशत र बिष्कुट आयातमा बराबर महशुल थियो, जसले गर्दा नेपालमा चिनी ल्याएर विस्कुट बनाउँदा त्यसको मूल्य बढी पर्न जान्थ्यो । यसले आयातित बिस्कुटसँगसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको थियो ।

‘उद्योग बिभागको सिफारिसमा बिस्कुट उद्योगले पाम आयल, पामोलिनलगायतका कच्चा पदार्थ नेपालमा आयात गर्दा ५ प्रतिशत भन्सार महसुल र बिदेशबाट बिस्कुट आयात गर्दा अन्त शुल्क १५ प्रतिशत लाग्ने प्राबधान राम्रो छ’ संघका महासचिव कर्माचार्यले भने , ‘यस्तो व्यवस्था गरेर सरकारले बिस्कुटलगायत स्वदेशी उद्योगको संरक्षण गरेको देखिन्छ ।’

बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल, पामोलिनलगायत कच्चा पदार्थ नेपालमा उत्पादन नहुने हुंदा बिदेशबाटनै आयात गर्नु पर्ने बाध्यता छ ।

स्वदेशी उद्योगको यथार्थ समस्या बुझेर सरकारले यस्ता सकारात्मक सहयोग गर्दा भोलिका दिनमा बन्द भएका उद्योगहरु चल्ने तथा नयाँ उद्योग खोल्न समेत प्रोत्साहन मिल्ने उद्योगीहरु बताउँछन् । साथै यसबाट देशको राजश्व संकलनमा उल्लेखनिय सहयोग पुग्ने महासंघका कर्माचार्यले जानकारी दिए ।

सरकारको यो निर्णयले भोलिको दिनमा स्वदेशी उद्योगले आफ्नो उत्पादन बृद्धीगरी निकासी समेत गर्न सक्ने बाताबरण बन्न सक्नेमा आशावादी गराएकोले बिस्कुट उद्यमीको तर्फबाट उपभोक्ताहरुमा सकारात्मक सन्देश दिएको छ ।

नेपालमा ८ वर्ष अघिसम्म ३५ ओटा बिस्कुट उद्योग सञ्चालनमा रहेकोमा हाल १८ वटा ठूला बिस्कुट उद्योग सीमित छ । ‘नेपाली उत्पादन गुुणस्तरीय हुँदाहुँदै पनि आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न गाह्रो भएरर बन्द हुनु राम्रो कुरा होइन’ कर्माचार्यले भने ।

हाल नेपाली बिस्कुट उद्योगमा करिब १० अर्ब भन्दा माथिको लगानी छ । साथै यी उद्योगबाट प्रत्यक्ष रुपमा १० हजार जनाले रोजगारी पाएको छ । तर बिस्कुटले चिनी उद्योग, र्यापर उद्योगलगायतमा सहयोग गरेकोले अप्रत्यक्ष रुपमा करिव ४५ हजारलाई यसले रोजगारी दिएको छ ।

यी उद्योगहरुले नेपाल सरकारको राजश्वमा योगदान, हजारौंको संख्यामा रोजगारीलगायत उपभोक्तालाई स्वदेशीउत्पादनमा आत्मनिर्भरता गराउन गुणस्तरमा जोड दिई उपभोक्तालाई सन्तुष्टी दिंदै आएकोमा सरकारको सहयोग भएमा भोलिको दिनमा अझ बढि उत्पादन हुने र विदेश समेत निकासी गर्न सकिने संघले बताएको छ ।

नेपालका बिस्कुट उद्योगहरु फुल क्यापासिटीमा सञ्चालन आएका छैन । त्यसैले उत्पादन कम छ । यहाँ जडान क्षमताको ५० प्रतिशत मात्र उत्पादन भइरहेको छ । सरकारले यसमा ध्यात दिएमा हामी स्वदेशी उत्पादनले माग धान्न सक्ने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here