शेयर बजारमा वियरिस ‘ट्रेण्ड’को त्रास, बजेटपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता बाहिरिँदै

काठमाडौं, १९ जेठ । नेपाली शेयर बजार वियरिस ट्रेण्डमा जान लागेको संकेत देखिएको छ। लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निरासा छाएको छ।

लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ ।

बजेट घोषणापछिको पहिलो कारोबार दिन सोमबार ५० अंकले घटेको नेप्से दोस्रोदिन ३५ अंकले र बुधवार ७ घटेको बजार आज १८ अंकले घटेको छ ।

पछिल्लो चार कारोबार दिनमै नेप्से ११० अंकले घटेको छ । विहीवार नेप्से १८.२६ अंकले घटेर २११२.४७ विन्दुमा आइपुगेको छ ।

यसदिन २२७ कम्पनीको १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँ बराबरको ३५ लाख ६६ हजार १८९ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने बढेको छ । बुधवार १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक घटेको छ ।

व्यापार समूह सबैभन्दा धेरै २.६ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूह पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै ६.४७ प्रतिशतले घटेको छ ।

त्यसैगरी, उन्नति सहकार्य लघुवित्त ४.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.२३, प्रिमियर इन्स्योरेन्स ४.१८, हिमालयन ऊर्जा ४.०६, सिटिजन्स म्युचुअल फण्ड १, सिद्धार्थ इन्स्योरेन्स, सिद्धार्थ इक्वीटी फण्ड, मैलुङ खोला, शिखर इन्स्योरेन्स, साल्ट ट्रेडिङ र सानिमा लार्ज क्यापको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

घट्दो बजारमा आज बलेफी हाइड्रोपावरको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले करिब १० प्रतिशत कमाएका छन् ।

माउन्टेन हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक साढे ६ करोड र नबिल बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

अहिले बजार वियरिस ट्रेण्डमा भएकोले अझै कतिसम्म तल जान्छ भन्ने अनुमान गर्न विश्लेषकहरुले नै सकेका छैनन्।

उक्त बिन्दु १७ महिनाकै न्युनमा आइपुगेपछि लगानीकर्ता आत्तिन पुगेका छन्।

बजेटपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता निराश बन्दा मनोवैज्ञानिक दबाब देखिएको छ भने प्यानिक बनेका लगानीकर्ता सस्तो मूल्यमा सेयर बेचेर बाहिरिन थालेका छन्।

मौद्रिक नीतिमा अघिल्लो पटक ल्याइएको ४/१२ को सीमा कायम राखिएको थियो। आगामी वर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्था कायम हुने संकते गरेसँगै लगानीकर्ता त्रसित भएसँगै शेयर बजार झनै ओरालो लाग्ने संकेत देखिएको छ।

सामान्यतः उच्चतम अंकबाट २० प्रतिशतभन्दा तल बजार झरेमा बियरिस ट्रेण्डमा गएको बुझ्ने गरिन्छ। नेपालको पुँजीबजारमा तरलताले विशेष प्रभाव पारेको देखिन्छ। बैंकिङ प्रणालीमा तरलताको चाप पर्दा बजार घट्ने गरेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here