उद्योगी व्यवसायीले भने : ब्याज बढेर व्यवसाय चलाउन गाह्रो भो, राष्ट्र बैंक आऊ ब्याज घटाऊ

क्लाउडपत्रिका
काठमाडौं, २५ माघ । निरन्तर ब्याजदर बढ्दा उद्योग व्यवसाय चलाउन अप्ठेरो भएको उद्योगी व्यवसायीले बताएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव संकलन गर्न राष्ट्र बैंकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले यस्तो बताएका हुन ।

कार्यक्रममा हस्तक्षेप गरेरै भए पनि ऋणको ब्याजदर घटाउन उद्योगी व्यवसायीले राष्ट्र बैंकसमक्ष माग गरेका छन् । ब्याजदर वृद्धिले लागत बढेपछि उद्योग व्यवसाय सञ्चालन गर्न अप्ठयारो भएको भन्दै उनीहरूले ब्याजदरमा हस्तक्षेप गर्न राष्ट्र बैंकसमक्ष आग्रह गरेका हुन् ।

आधार ब्याजदर (बेस रेट) घटे पनि ऋणको ब्याजदर नघटेकाले राष्ट्र बैंकको हस्तक्षेप आवश्यक रहेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । निजी क्षेत्र हस्तक्षेपकारी नीतिका पक्षधर होइन, तरपनि राष्ट्र बैंकले कुनै विकाल्प निकालेर ब्याजदर वृद्धि नियन्त्रण गर्न उनले आग्रह गरे । ब्याजदर वृद्धिले लगानी निरुत्साहित हुने भएकाले ब्याजदर नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो ।

आधार ब्याजदर घटेकाले ऋणको (पुराना नयाँ सबै) ब्याज घट्ने अनुमान गरिए पनि पुराना ऋणीले त्यो सुविधा नपाएपछि निजी क्षेत्रबाट यस्तो माग आएको हो । घटेको आधार ब्याजदर (बेसरेट) अनुसार बैंकले पुराना ऋणीको ब्याजदर घटाउन नमानेपछि यस्तो अवस्था आएको हो ।

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको निर्देशनअनुसार राष्ट्र बैंकले आधार ब्याजदरमा सम्पत्तिको प्रतिफल (रिर्टन अन एसेट) बापत ०.७५ प्रतिशत घटाउन बैंकलाई परिपत्र गरेको थियो ।

उक्त निर्देशनपछि हरेक बैंकको आधार ब्याजदरमा ०.७५ प्रतिशत विन्दुले घट्नुपर्छ । राष्ट्र बैंककै यसअघिको निर्देशनअनुसार आधार ब्याजदर परिवर्तन भए अनुसार सबै ऋण (नयाँ पुराना दुवै) को ब्याजदर पनि समायोजन गर्नुपर्छ । तर, बैंकहरूले घटाएका छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here