खाद्य वस्तुको मूल्य बृद्धिदर दोब्बर, माछामासुको मूल्य बृद्धि करीब ९ प्रतिशत

स्रोत : नेपाल राष्ट्र बैंक

काठमाडौं, ३ साउन । खाद्य वस्तु तथा पेय पदार्थको मूल्य वृद्धि दर दोब्बर भन्दा माथि पुगेको छ । गत वर्षको जेठमा ३.० प्रतिशत रहेको खाद्य तथा पेय पदार्थको मुद्रास्फीति दर यो वर्षको जेठमा ६.७ प्रतिशत पुगेको हो ।

एक वर्षअघि खाद्यान्नको मुद्रास्फीतिदर ३.९ प्रतिशत रहेकोमा यो वर्ष ६.७ प्रतिशत पुगेको छ भने माछामासुको महँगीदर गत वर्ष नकारात्मक अर्थात –१.३ प्रतिशत रहेकोमा यो जेठमा ७.६ प्रतिशतमा उक्लिएको छ ।

सरकारले विदेशबाट आउने खसीबोका तथा अन्य मासुजन्य वस्तुको आयातमा कडाइ गरेपछि नेपाली बजारमा खासगरी खसीको मासुको मूल्यमा उच्च वृद्धि भएको छ ।
तरकारीको मूल्य वृद्धि गत वर्ष नै उच्च रहेकोमा यो वर्ष झन माथि पुगेको छ । गत जेठमा ११ प्रतिशतले महँगिएको तरकारी यो जेठमा १४.६ प्रतिशतले महँगिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको तथ्यांकअनुसार २०७६ जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो ।

गैर खाद्यको मुद्रास्फीति दर उच्च नै रहे पनि गत वर्षको दरमा उच्च वृदि देखिएको छैन । गैरखाद्य तथा सेवाको मूल्य वृद्धि गत वर्ष ५ प्रतिशत रहेकोमा यो वर्ष ५.७ प्रतिशत पुगेको हो ।

भौगोलिक क्षेत्रअनुसार सबैभन्दा बढी महँगी काठमाडौं उपत्यकामा देखिएको छ । २०७६ जेठमा काठमाडौं उपत्यकामा ७.१ प्रतिशत, हिमालमा ६.५ प्रतिशत, तराईमा ५.८ प्रतिशत र पहाडमा ५.७ प्रतिशत मुद्रास्फीति छ । गत वर्ष सोही अवधिमा ति स्थानमा मुद्रास्फीति ३.१ प्रतिशत, ६.४ प्रतिशत, ४.२ प्रतिशत र ४.९ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

त्यसैगरी, २०७६ जेठमा भारतमा ३.१८ प्रतिशत मात्र छ जबकि गत वर्ष नेपालको मुद्रास्फीति ४.१ प्रतिशत हुँदा भारतमा ५ प्रतिशत थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here