‘नेपाल बन्छ, जब नेपालमा बनाइन्छ’- चिरञ्जीवि अधिकारी, क्यान अध्यक्षका प्रत्यासी

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै चिन्ता गरेको सुनिन्छ । तर हामीले हाम्रो पैसा बाहिरिन नदिनका लागि के गर्न सक्छौं भन्ने विषयमा खासै ध्यान दिइएको छैन ।

अहिले हाम्रो देशबाट आईटीका लागि मात्रै वार्षिक ३ अर्ब हाराहारीमा रकम बाहिरिने गरेको छ । धेरै बैंकहरुले विदेशी कम्पनीको सफ्टवेयर प्रयोग गर्छन । एउटा बैंकले कोर बैंकिङ सफ्टवेयरको मात्रै ५ देखि ७ करोड रुपैयाँसम्म विदेश पठाउछन् । यसबाहेक कागजात व्यवस्थापन होस् या कार्डहरुको सफ्टवेयरका लागि छुट्टै पैसा खर्च हुने गरेको छ ।

हामीसँग भएका श्रोत, साधन र जनशक्तिका विषयमा मात्रै ध्यान दिने हो भने पनि निकै ठूलो धनराशी बाहिर जानबाट जोगाउन सक्नेछौं । नेपाल बनाउनका लागि नेपालमै वस्तुहरु बनाउनु पर्छ ।

नेपाल बनाउनका लागि एउटा महत्वपूर्ण क्षेत्र हो, प्रविधि । हामीले प्रविधिको भरपुर उपयोग गर्न अझै पनि सकेका छैनौं । नेपाली आईटी विज्ञहरु एक सय एक छन्, तर पनि हामी विदेशी कम्पनीहरुको भर पर्नु पर्ने बाध्यता छ ।

सफ्टवेयरको माध्यमबाट हामीले नेपाललाई समृद्ध बनाउन सकिने सम्भावनाहरु प्रसस्त छन् । नेपालमा साच्चिकै ध्यान दिने हो भने आईटी हव बनाउन सकिन्छ । तर यस विषयमा राज्य र नियम कानून बनाउने जिम्मा पाएकाहरुले खासै ध्यान दिएका छैनन् ।

नेपालीहरुको स्कील र नलेज बाहिर गएको छ । नेपाली स्कील र नलेज प्रयोग गरेर विदेशीहरुले राम्रा राम्रा सफ्टवेयर बनाएका छन् । नेपालीले बनाएका सफ्टवेयरहरु नै विदेशी कम्पनीहरु मार्फत नेपाल भित्रिएका प्रसस्तै उदाहरणहरु छन् ।

हामीले विदेशी कम्पनीहरुको सफ्टवेयर जसरी प्रयोग गर्छौ, त्यसलाई छाडेर नेपाली प्रयोग गर्ने हो भने स्वदेशमै रोजगारीका प्रसस्त अवसरहरु सिर्जना हुनेछन् । उद्यमशीलताको विकास स्वदेशमै हुन सक्ने सम्भावना छ । अहिले हामीले हाम्रा आइटी विज्ञहरुलाई समेत विदेश पलायन हुन बाध्य बनाएका छौं । स्वदेशमा पर्याप्त अवसर भएपछि धेरै एक्सपर्ट (विज्ञ) हरु विदेशिनु पर्ने बाध्यता छ ।

स्वदेशी सफ्टवेयर कम्पनीहरुलाई प्रोत्साहन गर्ने हो भने रोजगारीको समस्या समाधान हुने मात्रै होइन । ग्लोबल आर्यटी म्यापमा हाम्रो देशलाई देखाउन सक्नेछौं । अहिले हामी सगरमाथा र वुद्धको जन्म देश भनेर चिनाउछौं ।

सगरमाथा र बुद्धको मात्रै होइन सूचना प्रविधिले सम्पन्न देश भनेर पनि विश्वमा चिनाउन सकिन्छ । आजसम्म नेपालमा आईटीलाई एउटा टुलको रुपमा मात्रै लिइएको छ । हामीले आईटीले विशेष ध्यान दिने हो भने भोलि आउने साइबर वारबाट देशलाई केही हदसम्म बचाउन सकिनेछ ।

के गर्ने त अब ?

नेपालमा सफ्टवेयर बनाउन सकिन्छ । नेपालमा नेपाली कम्पनीहरुले नै बनाएका सफ्टवेयरहरु प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्छ । यसलाई कानूनी संरक्षणको पनि अत्यन्तै जरुरी पर्छ । नेपालकै सफ्टवेयर प्रयोग गर्न गराउनका लागि एउटा स्वतन्त्र निकायको पनि जरुरी पर्छ ।

जसले सफ्टवेयरको क्वालिटी चेक गरी मान्यता दिन सकोस् । जस्तो आईएसओ प्रमाणित भन्ने हामीले सुनेका छौं, सफ्टवेयरका सन्दर्भमा पनि यस्तै कुनै निकाय बनाउनु पर्छ । यसले नेपाली सफ्टवेयर उद्यमीलाई प्रोत्साहन हुन्छ । केही स्वदेशमै गरौं भन्ने वातावरण बनाउनका लागि हामी सबै लाग्नु पर्छ ।

यस बाहेक आईटी क्षेत्रलाई पनि राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रको रुपमा राख्न सक्छ । आईटी उद्यमी बन्न चाहनेहरुका लागि बैंकहरुमार्फत सहुलियत ऋण दिएर पनि यस क्षेत्रलाई प्रोत्साहन गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here