प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जर प्रक्रिया सक्नुपर्ने, शेयर कारोबार १५ दिनमात्र रोक्का

काठमाडौं । अब मर्जर प्रयोजनका लागि कम्पनीहरुको शेयर कारोबार रोक्का बढीमा १५ दिनमात्रै हुने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

यसअघि मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएदेखि एकिकृत कारोबार सुरू नभएसम्म कारोबार रोक्का हुने प्रावधान थियो ।

लामो समय कारोबार रोक्का हुँदा लगानीकर्ताहरूको सम्पत्ति बन्धक बनेको भन्दै लगानीकर्ताहरूले बारम्बार यसको विरोध गर्दै आएका थिए ।

बाेर्डकाे निर्देशिकामा भनिएकाे छ, ‘धितोपत्र बजारले उपदफा (१) बमोजिम एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ ।’

तर संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको शेयर कारोबार रोक्का राख्नु नपर्ने पनि बाेर्डले जनाएकाे छ ।

त्यस्तै कुनै पनि संगठित संस्थाको मर्जर प्रक्रिया प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सक्नुपर्नेछ। नेपाल धितोपत्र बोर्ड (सेबोन) आज संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

योसँगै अब संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ।

यस निर्देशका कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ पर्न आएमा सेबोनले त्यस्तो बाधा अड्काउ फुकाउन सक्ने कार्याविधिमा व्यवस्था गरिएको छ।

सूचीकृत संगठित संस्था र सूचीकरण नभएको संगठित संस्था एकआपसमा गाभ्ने गाभिने वा प्राप्ति हुने भएमा नियमकारी निकायले तोकेको सेयर स्वामित्वअनुसार मिलाउनुपर्नेछ।