आन्तरिक पर्यटकको रोजाइमा टिकटकमा भाइरल ‘भाँगे झरना’ (फोटोफिचर)

अर्जुन न्यौपाने

काठमाडौं । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका– २ डाँडागाउँमा पर्ने ‘भाँगे झरना’ मा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ ।

सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको झरनामा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् ।

अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न झरना पुगेको बताएका छन् ।

तलबाट माथि हेर्दा ‘बाहुबली’मा देखाइने झरना जस्तै भएकाले यस झरनालाई कतिपयले ‘बाहुबली झरना’ को संज्ञा पनि दिएको पाइन्छ । पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहका प्रतिनिधीबाट कुनै चर्चा नभएपनि सामाजिक सञ्जालमा यस झरनाको बारेमा ठूलै चर्चा हुने गरेको छ ।

विहीवार काठमाडौंबाट साथीहरुसहित झरनामा पुगेका जनक घिमिरेले यहाँ घुम्न आउँदा रमाइलो लागेको बताए । ‘फेसबुक र टिकटकमा फोटो देख्दा घुम्न मन लागेको थियो,’ घिमिरेले क्लाउडपत्रिकासँग भने फुर्सदको मौका पारेर आएँ । झरनामै पुगेर नुहाउँदा निकै रमाइलो लाग्यो ।’

झरनाको छहरा हेर्दै फुरूंग बनेका पर्यटक कोही धमाधम फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन्।

कपडा खोलेर चिसोपानीमा डुबुल्की नमारी त कहाँ धित मर्छ र भन्दै घण्टौं रमाउँछन् पनि। झरनाको शीतलतासँगै सेल्फी खिच्दा मन चंगाजस्तै हुने संगम अर्यालले बताए । करिब दुइघण्टा जति झरनाको पानीसँग रमाउँदा पनि फर्किन मन नगाल्ने उनको भनाई थियो ।

सँगै गएका प्रल्हाद ढुंगानले भने, ‘घरमा बसेर दिन बिताउन कठिन हुन्छ। यहाँ आएर झरनासँग रमाउँदा दिन बितेको पत्तोनै हुँदैन, झरनामा भिज्दा आनन्दको आभास हुन्छ।’

अन्य साथीलाई पनि झरनाको स्वाद लिनलाई आग्रह गर्ने उनको भनाइ छ। सो झरनाले नयाँ-नयाँ व्यक्तित्वबीच परिचित गर्ने मौकासमेत सिर्जना गरिदिएको छ।

धेरै त टिकटक बनाउन र फोटो खिच्नका लागि मात्र झरना पुग्छन् । अहिले यो झरना बालकदेखि युवायुवतीको प्रमुख रोजाइ नै बनेको छ । एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि झरनालाई व्यवस्थित बनाउनको लागि त्यहाँ गाँउपालिकले भने कुनै पहल थालेको देखिन्न ।

झरनासम्म आवतजावतका लागि सडकको निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छुट्टै कार्यक्रम सरकारले ल्याउनुपर्ने यहाँ घुम्न आउने पर्यटकको सुझाव छ।

ठूलो पानी परेमा ओत लाग्ने र भोक लाग्दाँ खाजा, चिया खाने ठाँउको समेत व्यवस्था नगएकोमा त्यहाँ पुग्ने मानिसहरु झरनालाई व्यवस्थित बनाउन योजना नदेखिएकोमा दु:ख पोख्छन् झरनामा पुगेका बद्री अर्याल ।

त्यहाँ पुग्ने कोही पौडी खेल्ने, कोही भने ध्यानमा पनि बसेको भेटिएको थियो। किन ध्यानमा भनेर प्रश्न गर्दा यस्तो ठाँउमा ध्यान गर्दा दिब्य अनुभूति हुने र मन शान्त हुने उनको भनाइ थियो । कतिपय मनको शान्तिको लागि पनि एकान्त ठाँउ खोज्दै पुग्ने गरेको पनि पाइने गरेको छ ।

यो झरना बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा पर्दछ । झरना बेत्रावति बजारबाट करिब ५ किमिको दुरीमा उत्तरतर्फ पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here