एक सय डलरको नोट संसारमै सबैभन्दा चल्तीको बैंक नोट बनेको छ । केही समयअघि यसले सबैभन्दा बढी चलेको एक डलरको नोटलाई जितेर सबैभन्दा चल्तीको नोट बनेको हो । यससँगै अमेरिकाको सबैभन्दा मूल्यवान नोट सबैभन्दा प्रचलित भएको छ ।
सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी पछि १ सय डलरको नोटको प्रचलन झण्डै दोब्बर भएको छ ।
सारा संसार आक्रामक रुपमा डिजिटल प्रविधि र नगदरहित भुक्तानीको अभ्यास गरिरहेको बेला बेञ्जामिन्सको नामले चिनिने सय डलरको प्रचलन बढ्नुले के को संकेत गर्छ त ? के अमेरिकनहरु अचानक हरियो डलरप्रति बढी नै आकर्षित भएका हुन् ?
कुरो त्यसो होइन, समग्रमै अमेरिकी मुद्राको माग विश्वव्यापीरुपमै बढेको छ र अधिकांश सय डलरका नोटहरु अन्य मुलुकहरुको मौज्दातमा जम्मा भएर बसेका छन् । फेडरल रिजर्भ बैंक अफ शिकागोका अनुसार करीब ८० प्रतिशत सय डलरका नोट र ६० प्रतिशतभन्दा बढी सबै प्रकारका अमेरिकी मुद्राहरु अमेरिका बाहिर छन् । सन् १९८० मा लगभग ३० प्रतिशत अमेरिकी डलरमात्र अमेरिका बाहिर रहेको थियो ।
हाल साढे १२ अर्बभन्दा बढी एक सय डलरका नोट संसारभर चलनचल्तीमा छन् । सन् २००८ मा त्यसको आधा अर्थात करीब ६ अर्ब नोट मात्र निष्काशन गरिएको थियो ।
विश्वका केही क्षेत्रमा देखिएको भुराजनीतिक असन्तुलनले सय डलरका नोटको माग बढाएको विज्ञहरु बताउँछन् । विदेशमा अमेरिकी डलरको माग बढ्नुको मुख्य कारण यो सुरक्षित सम्पत्तिको रुपमा मानिनु हो, फेड अर्थशास्त्री रुथ जुडसनले गत वर्ष भनेकी थिइन् ।
उनको सन् २०१७ मा प्रकाशित एक कार्यपत्रका अनुसार, सन् १९९० देखि सन् २००० सम्म अमेरिकी डलरको माग विदेशमा बढेको हो । सन् २००२ मा युरोको आगमन पछि भने डलरको माग विस्तारै घट्दै गएको थियो । तर, २००८ को आर्थिक मन्दीपछि भने फेरी अमेरिकी डलरको माग ह्वात्तै बढेको थियो ।
त्यस्तै हार्भर्ड विश्वविद्यालयका केनेथ रोगोफ भन्छन्, ठूला बैंक नोटहरु गैरकानूनी क्रियाकलापसँग जोडिएका छन् । उनका अनुसार संसारभर ठूला र बहुमूल्य नोटहरु कर छल्न तथा अवैधानिक त्रियाकलाप गर्नका लागि प्रयोग गरिएको देखिन्छ ।
ठूला शहरहरुमा अपार्टमेण्ट तथा घरहरु किन्नका लागि आजको दिनमा पनि सुटकेशमा भरेर पैसा बुझाइन्छ । बैंकिङ प्रणाली असफल भएर त्यसो गरिएको होइन, रोगोफ भन्छन् ।
त्यसैगरी, ब्याजदर र महँगी कम भएका कारण पनि कतिपय ठाउँमा कागजी नोटको माग बढेको अनुमान गर्न सकिन्छ । तर अन्य कारण जे सुकै भए पनि डलरको प्रचलन र माग बढ्नुमा चीनजस्ता मुलुकले राखेको डलरको मौज्दातलाई मुख्य कारण मानिन्छ ।
स्रोतः आईएमएफ ब्लग