विकटताले ओझेलमा परेको ‘पर्यटकीय हिरा’

धाङबाङको नोहक गुफा, तीन तलाको रचना, भित्रै झरना

रक्षा रेग्मी

बेनिघाट रोराङ, १९ कात्तिक । पृथ्वी राजमार्गको ज्यामिरे घाटबाट करिब साढे २ घण्टा गाडी र ३ घण्टाको पैदल यात्रापछि पुगिन्छ – बेनिघाट रोराङ गाउँपालिका–८, धाङबाङ गाउँको शीरमा रहेको नोहक गुफा ।

केही जानकारहरुले ‘एशियाकै सबैभन्दा ठूलो’ भनेको यो गुफा समुद्री सतहबाट करिव १४ सय मिटरको उचाईमा छ । धाङबाङ गाउँबाट ४५ मिनेटको दूरीमा रहेको नोहक गुफा पूरा घुम्न छ घण्टा भन्दा बढी समय लाग्छ । तर गुफाका मुख्य भाग भने २ देखि ३ घण्टामा घुम्न सकिन्छ ।

नोहकको प्रमुख विशेषता भनेको गुफा भित्रै छङछङ झरिरहेको झरना हो । यसले यहाँ भित्र पुग्ने जोकोहीलाई पनि बेग्लै रोमाञ्च र मनोरञ्जन दिन्छ । गुफामा विभिन्न ढुंगाका कलाकृतिहरु पनि छन् । हजारौं वर्षसम्म प्रकृतिले सिंगारेका ति आकृतिमा धार्मिक व्यक्तिहरु भगवानका आकृति देख्छन् ।

त्यस्तै गुफा भित्र कलकल बगेको खोलाको ध्वनी र पानीबाट हिड्दा यात्राको थकाई मेटिएको आभास हुन्छ । गुफा प्रवेश गरेदेखि नै त्यहाँ विभिन्न प्रकारका चिप्लेटी ढुंगा तथा भगवान जस्ता देखिने कलाकृति छन् । साथै यहाँ प्रशस्त चमेरा पनि देख्न सकिन्छ ।

गुफाको गेटबाट पसेपछी चारै तर्फ जान मिल्ने बाटोहरु छन् । यस गुफामा जम्मा ३ ओटा तला छन् । जहाँ पर्यटकहरु सजिलै पस्न र घुम्न सक्छन् । तलामा जानका लागी काठका भर्याङहरु राखिएको छ । गुफाभित्र एक पटकमा ५ सय जनासम्म सजिलै जान सक्ने स्थानीयहरु बताउँछन् ।

विकटताले ओझेलमा

गुफा सुन्दर तथा पर्यटकीय दृष्टिले उत्कृट हँदाहुँदै पनि भौगोलिक विकटताले धेरैको नजरमा पर्न सकेको छैन । गुफाको प्रवद्र्धनका लागि सबैभन्दा पहिलो बाटो र विजुली बत्ती आवश्यक भएको स्थानीयबासी तथा गुफाका परिचालक सामबहादुर चेपाङ बताउँछन् । हालसम्म धाङबाङका जनताले विजुली बत्तीको सुविधा पाएका छैनन् । त्यस्तै गुफासम्म जानका लागि बाटोको पनि उत्तिकै समस्या छ ।

नोहक गुफालाई पर्यटकीय स्थलको पहिचान त गरिएको छ तर प्रचारप्रसारको अभावमा यो सिमित व्यक्तिहरुसमक्ष मात्र परिचित छ । सुन्दर हुँदाहुँदै पनि आझेलमा परेको छ नोहक गुफा ।

वडा अध्यक्ष राजकुमार श्रेष्ठ भने गुफाको प्रवद्र्धनका लागि मोटरबाटो बनाउन शुरु गरिसकेको बताउछन् । उनका अनुसार मोटरबाटोका लागी मात्र ९९ लाख रुपैयाँ बजेट छुट्याइएको छ । जसबाट ९ दशमलव ५ किलोमिटर बाटोको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ ।

यसका साथै केही दिनमै बिजुलीको पोल लैजाने तयारी थालिएको पनि वडाध्यक्ष श्रेष्ठको भनाइ छ । यसअघि गाँउपालिकाले उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटबाट स्थानीयले गुफामा भर्याङ राख्ने तथा सिँढी बनाउने कार्य सम्पन्न गरेका हुन् ।

गाउँमा विजुली बत्ती र मोटरबाटोको सुविधा तत्कालै विस्तार गर्नुपर्ने गुफाभित्र जानका लागि बुट, टर्चलाइट तथा हेल्मेटको व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यसैगरी टिकट प्रणालीलाई पनि थप व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

यस गुफाको प्रवद्र्धनले स्थानीयको जीवनमा समेत सुधार ल्याउन सक्छ । धाङबाङमा लेक र बेसी गरी ४५ चेपाङ घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँ पाँच कक्षा सम्मको विद्यालय सञ्चालनमा छ । माध्यमिक शिक्षा लागि भने एक घण्टाको यात्रा गरेर जानुपर्ने वाध्यता छ ।

कसरी जाने ?

नोहक गुफा जानका लागि पृथ्वी राजमार्गको ज्यामिरे घाट वा घुम्तीबजारबाट उकालो लाग्नु पर्छ । तर ज्यामिरे घाटको बाटो अलि सजिलो भएको स्थानीय व्यवसायी कमल गौतम बताउँछन् । यद्यपि कच्ची र अफरोड भएकाले त्यसै अनुरुपको गाडी वा मोटरबाइक चयन गर्नुपर्छ । साथै गुफा जाने र आउने यात्राका लागि दिनभर नै लाग्ने भएकाले त्यसैअनुसार तयारी गरी बिहान जतिसक्दो चाँडो हिंड्नु उचित हुने हुने सुझाव गौतमको छ । गौतम गत साता मात्र सो गुफाको भ्रमण गरेर फर्केका थिए ।

साथै केही घण्टा पैदल यात्रा गर्नुपर्ने भएकाले सहज हुने खालको ट्रेकिङ जुत्ता तथा ट्रयाकसुट लगाउनुपर्छ । गुफाको राम्रो अवलोकन गर्ने हो भने अलि राम्रो टर्चलाइट पनि लैजानु उपयुक्त हुन्छ । त्यस्तै बाटोमा खानका लागि फलफुल, फास्टफुडलगायत खानेकुरा साथमा लिएर जानुपर्ने धुषाका [हाल अष्ट्रेलिया बस्दै आएका] रमेश थपलिया बताउँछन् । उनी पनि गौतमसँगै गुफा भ्रमण गरेर फर्केका हुन । खानेपानीका लागि भने बाटोमा धारा तथा खोलाहरु भएकोले बोतल लिएर हिड्दा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here