मेलम्चीको खानेपानी वितरणको अन्तिम परीक्षण शुरू, यी क्षेत्रमा नियमित आपूर्ति अवरूद्ध हुने

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका पाइपलाइनको अन्तिम परीक्षण कार्य आजदेखि शुरू भएको छ ।

काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकांश क्षेत्रमा विच्छ्याइएका १,०१० किलोमिटर खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका करिव ५५० किलोमिटर पाइपलाइनको आजदेखि चरणवद्धरूपमा अन्तिम परीक्षण गर्ने कार्य शुरू भएको हो ।

जसअनुसार, काठमाडौंका गौशाला, पुरानो बानेश्वर, सूर्यविक्रम ज्ञवाली सडक र पिङ्गलास्थानमा रहेका जम्मा ७०१ घरमा जडान गरिएका मेलम्चीको खानेपानीका नयाँ पाइपलाइनको अन्तिम परीक्षण कार्य आजदेखि शुरू भएको छ ।

अन्तिम परीक्षण शुरू भएका स्थानका घरहरूमा जडान गरिएका मेलम्चीको खानेपानीका नयाँ पाइपलाइनको परीक्षणका लागि दुई दिन दुई रात अर्थात ४८ घण्टासम्म खानेपानी पाइपमा अधिक मात्रामा क्लोरिन मिसाइएको पानी राखिने गरिन्छ ।

परीक्षणका लागि पाइपमा राखिएको अधिक क्लोरिन मिसाइएको पानी व्यक्तिगत प्रयोग तथा घरायसी प्रयोजनका लागि समेत हानिकारक हुने भएकाले प्रयोग नगर्न र परीक्षण अवधिभर धारा नखोली नयाँ पाइपलाइनको अन्तिम परीक्षणमा सहयोग गर्नहुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

अन्तिम परीक्षणको अवधिमा कसैले धारा खोलेमा परीक्षण असफल हुने र पुनः परीक्षण गर्नुपर्ने अवस्था सिर्जना भई मेलम्चीको खानेपानीको नियमित आपूर्ति समेत अवरूद्ध हुनेछ ।

पहिलो चरण अन्तर्गत नै यही फागुन ७ गते बालाजुको खुशीबु क्षेत्रका चौमती पुल, इन्द्रायणी मन्दिर हुँदै लिङ्क रोड, सोह्रखुट्टे, मेडिकल चोक, लिङ्क मार्ग, नर्सरी चोक र गीताञ्जली चोकका जम्मा ६९७ घरमा जडान गरिएका नयाँ खोपानी पाइपलाइनको अन्तिम परीक्षण कार्य शुरू गरिनेछ ।

यसैगरी, यही फागुन ९ गते कोटेश्वरका नरेफाँट तथा जडिबूटी चोक र फागुन १० गते गौशाला, बागमती पुल, तिलगङ्गा, एयरपोर्ट, शम्भुमार्ग र बागमती कोरिडोर क्षेत्रका घरहरूमा मेलम्चीको खानेपानी पाइपलाइनको अन्तिम परीक्षण प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

यस निर्देशनालयले अन्तिम परीक्षण सफल भएका नयाँ पाइपलाइनको स्वामित्व क्रमिकरूपमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्दै जाने र बोर्डले नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण, पाइपलाइनको मर्मत सम्भार र व्यवस्थापनको जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९प्ग्प्ी० लाई दिने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here