पढ्ने हैन त मास्टर्स इन पब्लिक पोलिसी ?

काठमाडौं, २७ साउन । काठमाडौं यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम)ले सरकारी तथा नीजि क्षेत्रमा सार्वजनिक नीति र यसको व्यवस्थापनमा जोड दिन पहिलो पटक स्नातकोत्तर तहमा सार्वजनिक नीति र व्यवस्थापन (पब्लिक पोलीसी एण्ड म्यानेजमेन्ट) कोर्षको अध्यापन शुरु गर्दैछ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको नेपालमा सार्वजनिक नीति र व्यवस्थापन शिक्षाको आवश्यकता र महत्वबारे गरिएको अन्तरक्रिया कार्यक्रममा कुसोमले यस्तो जानकारी दिएको हो ।

सरकारी तथा गैर सरकारी संस्था (बैंक तथा वित्तिय संस्था, बीमा लगायतका व्यावसायिक कम्पनी)मा नीति निर्माण र कार्यान्वयन गर्ने सीप सीकाउन दुई वर्षे उक्त कार्यक्रम शुरु गरिएको स्कुलको भनाइ छ ।

कुसोमका डिन प्रा. डा. विजय केसीले नेपालमा सार्वजनिक प्रशासन कमजोर हुन थालेकाले सार्वजनिक नीति र व्यवस्थापन कोर्ष जरुरी भएको औंल्याए । उनका अनुसार सरकारी क्षेत्रमा कार्यरत निजामती कर्मचारीदेखि हरेक संस्थामा नीति बनाउने र यसलाई व्यवस्थित कार्यान्वयन गर्न यो कोर्ष सहायकसिद्ध हुने छ ।

‘यो कोर्ष पढेपछि नीतिलाई विश्लेषण गर्ने क्षमताको विकास हुन्छ । यसले संघीयता तथा स्थानीय सरकार, जलविद्युतलगायतका क्षेत्रमा समेत काम गर्ने सीप सिकाउँछ,’ डा. केसीले भने ।

काठमाडौं विश्वविद्यालयअन्तर्गतको अनुसन्धान संस्था इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेण्ट स्टडिज (आईआईडीएस)का कार्यकारी निर्देशक डा. विष्णुदेव पन्तले नेपालमा भ्रष्टाचार फैलिंदै गएकाले सार्वजनिक नीतिको अध्यापन जरुरी भएको बताए ।

कुसोम र आईआईडीएसको सहकार्यमा एमपीपीएम सञ्चालन हुने छ ।

कुसुमका प्राध्यापक डा. अच्यूत वाग्लेले नेपालमा नीति भएको तर लागू हुन नसकेको बताए । ‘ल्याएका योजना कार्यान्वयन हुन सकेका छैनन तर त्यस्तो असफलताको अध्ययन तथा विश्लेषण भने भएको छैन,’ उनले भने ।

नीति निर्माण, कार्यान्वयन र नीतिलाई समयसापेक्ष कसरी अद्यावधिक गर्दै जाने भन्नेबारे सीप सिक्न यो कोर्ष आवश्यक भएको उनको धारणा छ ।

साढे ३ लाख शुल्क

कुसोमले यो नयाँ कोर्षमा यसै महिनादेखि भर्ना लिईरहेको छ ।

आगामी महिनादेखि कक्षा सञ्चालन हुने यो दुई वर्षे (चार सेमेष्टर) कार्यक्रमका लागि करीब साढे ३ लाख रूपैयाँ शुल्क लाग्ने कलेजका डिन केसीले जानकारी दिए । उनका अनुसार करीब ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था छ भने आईआईडीएससँग मिलेर थप छात्रवृत्ति दिने योजना पनि रहेको छ ।

जुनसुकै विषयमा स्नातक तथा स्नात्तकोत्तर गरेका र क्युमुलेटिभ ग्रेड पोईन्ट एभरेज (सीजीपीए) २ देखी ४ सम्म अर्थात औसत ४५ प्रतिशत पूर्णाङ्क ल्याएका व्यक्ति यो कोर्ष पढ्न योग्य हुनेछन् ।

विशेष गरेर विभिन्न संस्था तथा पेशामा आवद्ध आम नागरीकलाई अनुकुल पर्ने गरी विहान तथा बेलुका अध्यापन गरिने छ । यो कोर्षको पाठ्यक्रम विशेष गरी ५ क्षेत्रमा केन्द्रित गरीएको छ । यसमा सामाजिक नीति र न्याय, संघीयता र स्थानीय सरकार, विकास नीति, उर्जा र जलविद्युत नीति, यातायात र पूर्वाधार नीति समावेश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here