‘जनता र लगानीकर्ताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललले आम जनता र लगानीकर्ताको मनोबल बढाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंक दुवैले विशेष कदम चाल्नुपर्ने बताएका छन् ।

राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन समारोहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भएपनि आम जनता र लगानीकर्ताको मनोबल बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउँदै मनोबल बढाउन स्पष्ट सन्देश दिनेगरी नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने बताएका हुन् ।

‘केही दिन पहिले प्रधानमन्त्रीज्यूले बोलाएको सर्वपक्षीय र सर्वदलीय बैठकमा अर्थमन्त्रीज्यू र गभर्नरज्यूले दिएको तथ्याङ्कले अब अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाएको छ । तर, साना व्यवसाय र साना व्यवसायीबाट सुरुभएको समस्या अब ठूला व्यवसायी र व्यवसायमा देखिन थालेको छ । बैंकमा बढेको एनपीएलले पनि त्यो संकेत गर्दछ । बैंकको नाफा घट्दा पुनस् बैंकले दाखिला गर्ने सरकारी करमा नै असर पर्ने हो । खर्च र आम्दानीको फरक बढ्दो देखिएको छ । साधारण खर्च बढेको देखिन्छ तर त्यसको तुलनामा आम्दानी खुम्चिदो छ । यसले अर्थतन्त्र सुधार गर्न अझै मिहिनेत गर्नुपर्ने देखाउँछ,’ उनले भने ।

अहिलेको प्रणालीलाई कमजोर नबनाई नेपाल सरकार र राष्ट्र बैंकले केही लचकता अपनाउनु पर्ने उनले बताए । ‘सर्वपक्षीय बैठकमा पनि मैले भनेको थिए । अहिलेको प्रणालीलाई कमजोर नबनाई नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले केही लचकता अपनाउने हो भने मात्र पनि अर्थतन्त्रलाई पुन: लयमा ल्याउन सकिन्छ । यसमा सुधार ल्याउन सकिन्छ । आम जनता र लगानीकर्ताको मनोबल बढाउन सकिन्छ,’ उनले भने ।

उनले आम जनतामा एउटा म्यासेज दिने काम सरकारले गर्नुपर्ने बताए । ‘सरकारको पूँजीगत खर्च भएन भनिएको छ । त्यसलाई बढाउन आवश्यक छ । भएको खर्चको भुक्तानी पनि रोकिएको छ । त्यसलाई तत्काल रिलिज गर्दिने हो भने यसले बजारमा पैसाको फ्लो बढाउने र आर्थिक गतिविधि बढाउनेछ । त्यसैगरी, मूल्य अभिवृद्धि करको पैसा ६ महिनापछि फिर्ता गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । खासगरी दीर्घकालिन र उत्पादनमूलक क्षेत्रमा गरिने लगानीमा लगाएको मूल्य अभिवृद्धि करलाई फिर्ता गर्न सकियो भने यसले सकारात्मक सन्देश जानेछ । व्यवसायीलाई उत्साही बनाउनेछ,’ उनले भने, ‘सरकारले फिर्ता गर्ने पैसा धेरै हुँदैन । तर यसबाट दिने सन्देश निकै महत्वपूर्ण हुनेछ ।’

त्यस्तै, उनले नेपाल राष्ट्र बैंकले अहिलेको प्रणालीलाई नबिगारी साना तथा मझौला व्यवसायलाई संकटबाट बाहिर ल्याउन विशेष उपकरण ल्याउन आग्रह गरे ।

अफ्ठ्यारो समयमा नेपाल राष्ट्र बैंक लचिलो हुँदा बैंक तथा वित्तीय संस्थाले पनि लचिलो भएर व्यवसायीहरूलाई ऋण दिएको तर अहिले व्यवसायीहरू अफ्ठ्यारोमा रहेकोले नेपाल राष्ट्र बैंकले कसिलो नीति लिएर व्यवसायीलाई अफ्ठ्यारोमा पार्नु र निजी क्षेत्रलाई मात्र दोष दिनुभन्दा उनीहरूलाई सहज हुनेगरी लचिलो भएर आउन आग्रह गरे ।

कर दिवसमा सबैभन्दा धेरै आयकर कर दाखिला गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने प्रचलनले निजी क्षेत्र र करदातालाई प्रोत्साहन गरेको बताउँदै अध्यक्ष ढकालले कर तिर्दा सरकारले सम्मान गर्छ भन्ने कुरा प्रत्येक वर्ष बढ्दै गइरहेको र यो सरकार तथा निजी क्षेत्रबिच सहकार्य गर्ने एउटा महत्वपूर्ण दिनको रुपमा पनि रहेको बताए ।

उनले अर्थतन्त्र सुधारका लागि सरकारले लिएको इनिसिएसनले मात्र शेयर बजारमा सुधार देखिएको बताउँदै केही सकारात्मक परिवर्तन हुने गरी सुधारको सन्देश दिन सरकारलाई आग्रह समेत गरे ।

हरेक वर्ष कर दिवसमा सम्मान पाउने तर सिंहदरवार छिर्नलाई अनेक झमेला गर्नुपर्ने निजी क्षेत्रको गुनासो तत्काल सम्बोधन गर्न समेत उनले आग्रह गरे । उनले कर दिवसमा निजी क्षेत्रलाई गरिएको सम्मानले करको माध्यमबाट निजी क्षेत्रको भूमिका पनि प्रष्ट भएको बताए ।

‘निजी क्षेत्र कति जिम्मेबार छ भन्ने कुरा म राख्न चाहन्छु । केही वर्ष पहिले, कोभिड महामारीको समयमा अदालतले निजी क्षेत्रलाई कर दाखिला गर्न दिएको समयका वाबजुद निजी क्षेत्रले सरकारको आग्रहमा समयमै कर दाखिला गरेर राज्यलाई करको टार्गैट भेटाउन तत्कालिन अवस्थामा गरेको सहयोगले पनि निजी क्षेत्र जिम्मेबार छ भन्ने देखाउँछ । अदालतले केहि समयपछि कर तिर्दा हुन्छ भन्दाभन्दै पनि हामीले त्यसबेलामा गरेको सहयोगले हामी निजी क्षेत्र वास्तवमै जिम्मेवार छौ भन्ने देखाउँछ ।’

उनले राज्यले सहजीकरण गर्ने हो भने नेपालको अर्थतन्त्रमा ८१ प्रतिशतभन्दा धेरै रहेको निजी क्षेत्रको योगदान बढाउन सकिने कुरा जानकारी गराए । ‘राजश्वसँग सम्बन्धित कुराहरू गर्दा कतिपय कानुनी कुराहरू छन्, कतिपय प्रक्रियागत कुराहरू छन्, र कतिपय पूर्वाधारसँग सम्बन्धित विषयहरू रहेका छन् । कानूनीरुपमा हेर्दा आयकर, मूल्य अभिवृद्धि कर ऐनमा केही सुधार आवश्यक छ । राजश्व चुहावट रोक्नुपर्ने कुराहरू छन् भने कतिपय कुराहरू अहिलेका नीतिहरू कार्यान्वयन नभएको अवस्था छ । त्यसलाई सुधार गर्ने हो भने कर पनि बढ्ने र निजी क्षेत्रलाई सहज हुने हुनसक्छ,’ उनले भने ।

अहिले केही कुरा सकारात्मक पनि भएको बताउँदै यसलाई थप सबल बनाउन सरकार तथा नेपाल राष्ट्र बैंकको भूमिका महत्वपूर्ण रहेको बताए । उनले विदेशी विनिमय संचिति अहिलेसम्मकै धेरै रहेको, रेमिट्यान्स आप्रवाह र पर्यटक आगमनमा उत्साह देखिदा पनि आम जनतामा किन मनोवल बढाउन सकिएन भन्ने कुरा गम्भीर रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here