भारतसहित ३८ देशमा फैलियो कोरोनाको सब–भेरियन्ट जेएन.१, नेपालमा कति जोखिम ?

काठमाडौं । कोरोना भाइरसको नयाँ संक्रमणले पुनः एक पटक चिन्ता बढाएको छ । कोरोना भाइरसको नयाँ सब भेरियन्ट जेएन।१ फेला परेसँगै चिन्ता बढ्न थालेको हो ।

यो भेरियन्ट देखिएसँगै सामाजिक दूरी तथा मास्कको प्रयोग पनि बढ्न थालेको छ । भारतको केरलामा यो भाइरसको संक्रमण बढेको छ । डब्लूएचओका अनुसार अहिलेको अवस्थालाई हेर्दा जेएन.१ को जनस्वास्थ्यमा कम जोखिम देखिन्छ ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्सन (सीडीसी)का अनुसार डिसेम्बरको पहिलो साता अमेरिकामा देखिएका कोरोना केसमध्ये १५ देखि २० प्रतिशतमा जेएन.१ पुष्टी भएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार यसलाई ‘भ्यारिएन्ट अफ इंटरेस्ट’ मा समावेश गरेको छ । तर, यसले मानिसलाई खासै खतरा नरहेको पनि बताइन्छ । अहिलेसम्म भेटिएका केसहरुको विश्लेषणले हालको खोप यसमा पनि पूर्ण प्रभावकारी रहेको बताइएको छ ।

डब्लुएचओले सावधानीका रूपमा एक सल्लाह जारी गरेको छ । जसमा मानिसहरूलाई भीडभाड नगर्न तथा प्रदूषित हावा भएको क्षेत्रमा मास्क लगाउन सल्लाह दिइएको छ। साथै आवश्यक दूरी कायम गर्न पनि भनिएको छ ।

फ्रान्स, अमेरिका, क्यानडा, बेलायत, स्वीडेन, सिंगापुर, चीन, बेल्जियम र भारतसहित ३८ देशमा यो सब–भेरियन्ट देखिएको छ ।

भारतमा बुधबारसम्म चारजनाको जेएन.१ संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको बुधबारको तथ्यांक अनुसार भारतमा अहिले पनि कोरोनाका दुई हजार ३११ सक्रिय संक्रमित छन् । विशेषगरी गोआ, केरला, महाराष्ट्रलगायत सहरमा संक्रमण बढिरहेको छ ।

कोरोनाका तीनवटा लहरलाई हेर्दा नेपाल–भारत खुला सीमाकै कारण संक्रमण बढी भित्रिएको तथ्यांक छ । हाल देखिएको जेएन.१ जनस्वास्थ्यका हिसाबले उच्च जोखिमपूर्ण नभए पनि ढिलोचाँडो भारतबाट नेपाल भित्रिने जोखिमलाई नकार्न नमिल्ने विज्ञहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here