उद्योगहरूमा काटिएको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिदिने भएको छ । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न बाँकी उद्योगमा काटिएको बिजुली लाइन जोडिदिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले मंगलबार नै उद्योगहरूमा लाइन जोड्न निर्देशन दिए पनि प्राधिकरणले पत्र आइनपुगेको भन्दै आलटाल गरिरहेको थियो । बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पत्र पठाएपछि प्राधिकरणले ४ दिनपछि उद्योगहरूमा विद्युत् लाइन जोडिदिने निर्णय गरेको हो ।

मंगलबारको मन्त्रिपरिषद बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा जाँचबुझ आयोग समेत गठन गरेको छ । आजको बैठकले उक्त आयोगबाट प्रतिवेदन पेश भई सरकारबाट निर्णय नहुन्जेलसम्मका लागि उद्योगहरूमा लाइन जोडिदिने निर्णय गरेको हो ।

डेडिकेटेड फिडर तथा ट्रंक लाइन प्रयोग गरेबापत उद्योगहरूले बिजुलीको महशुल नतिरको भन्दै प्राधिकरणले पुस ६ गते यता २४ उद्योगको लाइन काटेको थियो । तीमध्ये हिमाल आइरनले पहिलो किस्ताबापतको रकम बुझाएपछि प्राधिकरणले लाइन जोडिदिएको थियो भने अन्य उद्योग बन्द थिए ।

प्राधिकरणले पहिले चरणमा पुस ६ गते जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । प्राधिकरणका अनुसार जगदम्बाले मात्रै रु ४ अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले रु १ अर्ब ९४ करोड, घोराही सिमेन्टले रु १ अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले रु १ अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ ।

त्यस्तै, पुस ९ गते सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको थियो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले रु ८५ करोड र लक्ष्मी स्टिलले रु ६२ करोड बराबरको बक्यौता तिर्न बाँकी छ ।

प्राधिकरणले पुस १३ गते एकैपटक १४ उद्योगको लाइन काटेको थियो । प्राधिकरणले से बेला जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ), कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ)को लाइन काटेकेा थियो ।

त्यसैगरी, बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ), बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जएभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटेकाे थियो ।

त्यस्तै, पुस २३ गते मात्रै हुलास स्टील उद्योगको लाइन काटेको थियो । उक्त उद्योगले ४२ करोड २४ लाख रुपैयाँ महशुल बुझाउन बाँकी छ । प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंकक लाइन उपभोग गरेका ६१ उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ महशुल उठाउन बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here