ज्ञात-अज्ञात शहीदको सम्झनामा आज शहीद दिवस मनाइँदै

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरेको छ ।

आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ ।

सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको छ । वि।सं। १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here