ऋण नतिर्न उक्साउनेलाई नसहने अर्थमन्त्रीको चेतावनी

राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न आमऋणीलाई आग्रह गरेका छन् ।
‘ऋण नतिर्न उस्काउने खतरनाक प्रवृत्ति हो । यस्ता विषयमा सरकार चुप लागेर बस्दैन । सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तिलाई हराउनुपर्छ,’ शनिबार काठमाडौंमा शुरु भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भने ।

अहिले लघुवित्तमा केही समस्या देखिएको छ र यसलाई स्वस्थ बनाउनका लागि सबैले प्रयास गर्नुपर्छ भन्दै उनले भने, केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतिकरण गर्न खोज्नेहरुलाई कदापी सफल हुन दिनेछैनौँ ।

‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ । बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले आवश्यक सहजीकरण गरेको छ । ऋण त तिर्नैपर्छ । तिर्न पर्दैन भन्ने प्रवृति परास्त हुन्छ’ डा. महतले भने ।
ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने चेतावनी पनि उनले दिए ।

लघुवित्तले अब आफ्नै उदेश्यअनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपर्ने अर्थमन्त्रीका सुझाव थियो । लघुवित्तलाई नाफा कमाउने औजारको रुपमा नलिएर ग्रामिण विकास, लघु उद्यम र स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्न उनले आग्रह गरे ।

नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नहेरेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरिन । तर धेरै विषय सकारात्मक हुँदा हुँदै पनि लघुवित्तमा समस्या देखिन थालेकाले आफै सुध्रिनुपर्ने उनको सुझाव छ ।

निस्क्रिय कर्जा बढेर ६ प्रतिशत भन्दा माथि जाँदा जोखिम देखिएको भन्दै ढुंगानाले अवस्था थप बिग्रन नदिन सबैले जिम्मेवार भएर काम गर्नुपर्ने बताइन् ।

सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले गरिब र विपन्न परिवारलाई नै लक्षित गरेर लघुवित्तको सुरुवात भएकोले बाटो बिराएकाहरु सही बाटोमा आउनु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

लघुवित्तमा पछिल्लो समय समस्या आउनुमा सहकारी संस्थाकै कमजोरी रहेको उनको भनाई थियो । ‘यो बीचमा लघुवित्तमा केही समस्या देखियो । लघुवित्त संस्थालाई कम्पनी ऐनअनुसार चलाउन थालियो, शेयरधनीले बढी नाफामा लैजाने खानका क्रियाकलाप गरे, लाभांस बाँड्ने क्रम बढ्यो, लघुवित्त त धेरै नाफा पाउने थलो रहेछ भनेर लगानी गर्नेहरुको बाढी आयो,’ उनले भने ।
उनका अनुसार लघुवित्तका सदस्यलाई शेयरहोल्डर नबनाउनु ठूलो गल्ती थियो ।

त्यस्तै, ऋण प्रवाह गर्दा पनि लापरबाही भयो, सरकारले नयाँ लाइसेन्स खुलायो झन विकृति र विचलन आयो र अस्वस्थ प्रतिष्पर्धा भयो ।
श्रेष्ठका अनुसार बढी लगानी गर्न लगानीकर्तालाई तानातान गर्ने र ब्याजमा मनोमानी गर्ने विकृति पनि लघुवित्तमा देखिए ।

लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादवले झण्डै ६० लाख सदस्यमार्फत गाउँगाउँमा वित्तीय सचेतनासँगै लगानी र उद्यमलाई बढावा दिएको लघुवित्त क्षेत्रलाई सरकारले उपेक्षा गरेको गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here