धामीहरूले बालुवा खाँदै ‘शक्ति देखाउने’ मेला, यस्तो छ किंवदन्ती

काठमाडौं । धामीले बालुवा र पानी खाने देवताको मेलाको रूपमा परिचित दशैं जाँत (मेला) सम्पन्न भएको छ । डडेल्धुरास्थित घटालथान सुदूरपश्चिमको एक प्रमुख धार्मिक स्थल हो। त्यहाँ प्रत्येक वर्ष वैशाख महिनाको सुरुमा लाग्ने मेलामा धामीहरूले बालुवा खाँदै पानीले निल्छन्।

घटालथान मेलाका ‘मुख्य आकर्षण’का रूपमा रहेका धामीहरूले बालुवासँगै पानी खाएर आफ्नो ‘शक्ति देखाउने’ बताइन्छ।

तर त्यसरी बालुवा खाँदा पनि ‘दैवीशक्तिका कारण’ समस्या नदेखिएको धामीहरूको दाबी छ।

यस्तो छ घटालको महिमा

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकेपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।

पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा पुर्‍याइन्छ । दसैंको दिन साँझ पुनः देवघरमा फिर्ता ल्याइन्छ ।

दशैँ जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेका पनि एकै दिनका लागि भए पनि घर फर्कने गरेका छन् । द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव–पाण्डव युद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम देखाएका थिए ।

उनले कौरव सेनामा धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थमा उल्लेख छ । लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको भनाइ छ ।

सदियौंदेखि त्यही मान्यताअनुरुप घटालबाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन् । दशैँ जाँतको अर्को आकर्षण आफन्तसँगको भेटघाट केही समयका लागि भएपनि एकै थलोमा बसेर सुखदुःख साटासाट गर्न पाउनु पनि हो ।

हालका वर्षमा वैदेशिक रोजगारीतिर जानेहरूको संख्या वर्षेनी बढन थालेको छ । त्यसैले विगतमा जस्तो पुरुषभन्दा मेलामा महिलाहरुको उपस्थिति बढ्दै गएको देखिन्छ । यस्तै, घटाल थानमा हरेक वर्ष २ वैशाखमा मेला लाग्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here