चीनको ग्वान्जाओमा आयोजित जिआईटीएफ २०२४ मा नेपालको प्रभावकारी पर्यटन प्रवर्द्धन

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका सात वटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीसहित मे १६ देखि १८ सम्म चीनको ग्वान्जाओमा आयोजित ३२औं ग्वान्जाओ इन्टरनेसनल ट्राभल फेयर (जिआईटीएफ) मा सक्रिय सहभागिता जनाएका छन्।

३० हजार स्क्वायर मिटर क्षेत्रमा आयोजित उक्त मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशबाट ४० हजार बढीले सहभागिता जनाएका थिए। पर्यटन बोर्डले १६ तारिखका दिन स्थानीय अपरेटर्स तथा सहभागीमाझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुतीकरण गरेको थियो।

सोही दिन साँझ ‘वेस्टिन पाजाओ’ होटलमा आयोजित ‘बायर्स नाइट’ कार्यक्रमबीच पाटा नेपाल च्याप्टरले चाइना आउटबाउन्ड रिसर्च इन्स्टिच्युटबाट पर्यटन प्रवर्द्धनका लागि समग्र भूमिका शीर्षकअन्तर्गत गोल्ड अवार्ड र जिआईटीएफ आयोजकबाट ‘द बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ।

सोही अवसरमा पर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरे।

मे १७ तारिखमा आयोजित जिआईटीएफ २०२४ कन्फ्रेन्समा पाटा नेपाल कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडाल र बोर्डका अधिकृत कुन्दन शर्माले ‘जलवायु परिवर्तनको परिप्रेक्ष्यमा चिनियाँ पर्यटकका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरु’ शीर्षकअन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताको रुपमा सहभागिता जनाएका थिए।

उक्त सेसनको सहजीकरण मकाउ युनिभर्सिर्टी अफ साइन्स एन्ड टेक्नोलोजीका प्रोफेसर डा. टिमुदी लीले गरेका थिए।

कार्यक्रममा सहभागी नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका कार्यकारी निर्देशक सुजित रेग्मीले भने, ‘हाम्रो स्टलमा धेरै मानिस नेपाल भ्रमण गर्न इच्छुक रहेको र नेपालका लागि धेरै सोधपुछ भएको पाएँ। हामीले विगत ११ वर्षदेखि चिनियाँ बजारमा काम गर्दै आएकाले यस वर्षको अन्त्यमा नेपालको सहभागिता गन्तव्यका साथै पर्यटन व्यवसाय प्रवर्द्धनका हिसाबले निकै प्रभावकारी भएको विश्वास छ।’

डेस्टिनागो टुर्स एन्ड ट्राभल्स प्रालिका कार्यकारी निर्देशक हिम्मत पुरीले मेलामा पहिलो पटक सहभागी हुन पाएकामा खुसी व्यक्त गरे। कोरोना महामारीपछि पहिलो पटक जिआईटिएफमा नेपालको सहभागिताले चिनियाँ अपरेटर्स र व्यापारसँग पुनः जोडिने अवसरलाई सहज बनाउन फलदायी हुने विश्वास उनले व्यक्त गरे।

उनले चिनियाँ अपरेटर र सहभागीबाट नेपाल गन्तव्यबारे धेरै आशावादी प्रतिक्रिया र चासो आएको बताए।

होटल हिमालयका महाप्रबन्धक दीपेश केसीले मेलामा नेपालको सहभागिताले चिनियाँ बजारमा प्रवर्द्धन पुनः सुरु गर्न कोसेढुंगा भएको र होटललगायत नेपालका अन्य सेवाप्रदायकको जिआईटिएफ २०२४ मा सहभागिता फलदायी भएको जानकारी दिए।

उनले प्रवर्द्धनात्मक सहभागितामा समन्वय गर्न पाटा नेपाल र बोर्डको भूमिकाको प्रशंसा गर्दै सरकारले यस प्रकारको अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजारीकरण कार्यक्रम चीनभित्रका धेरै स्रोत बजारमा बढाउनुपर्ने सुझाव दिए।

चिनियाँ बजारमा नेपालको प्रवर्द्धनका लागि सिट्रिप, टिकटक, बीच्याटलगायत विभिन्न अनलाइन प्लेटफर्ममा नेपालको डिजिटल उपस्थिति र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताए।

पाटा नेपाल च्याप्टरका सीईओ बुडालले चीन संसारको सबैभन्दा ठूलो पर्यटन स्रोत–बजार भएको र विभिन्न गन्तव्यले प्राथमिकतामा राखेर प्रवर्द्धन तथा आक्रामक बजारीकरण गरिरहेको परिवेशमा नेपालको प्रवर्द्धन तुलनात्मक रुपमा निकै कम रहेको सुनाए।

न्यूजिल्यान्ड, साउदी, हङकङलगायत अन्य गन्तव्यले चीनका विविध प्रान्तमा आफ्नो पर्यटन बोर्डको शाखा कार्यालय तथा प्रतिनिधि नै व्यवस्थापन गरी प्रभावकारी प्रवर्द्धन गरिरहेको पाइएको उनको भनाइ छ।

पर्यटन बोर्डले पनि सोहीअनुरुप प्रमुख तथा बृहत् स्रोत बजारमा आफ्नो शाखा विस्तार गरी गहन तथा प्रभावकारी ढंगले लक्षित बजारीकरण गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here