बंगलादेशमा तनाव : नेपालमा उच्च सुरक्षा सतर्कता

काठमाडौं । बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारले सीमा क्षेत्रबाट हुने तेस्रो देशका नागरिकको सम्भावित घुसपैठलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट तेस्रो देशका व्यक्ति अनुमतिबिना प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षाकर्मीलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको हो ।

अनुमति बिना तेस्रो देशका व्यक्ति प्रवेश गर्न सक्ने जोखिम रहेको भन्दै मन्त्रालयले त्यसलाई रोक्न सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) लाई निर्देशन दिएको छ ।

बंगलादेशबाट भारत हुँदै खास गरी कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रवेश गर्न सहज मानिन्छ, यसअघि पनि तेस्रो मुलुकका व्यक्तिहरु भारतीय भूमि हुँदै अनधिकृत रुपमा नेपाल प्रवेश गरेर काठमाडौमा ‘शरण’ लिन आएका थिए ।

म्यान्मारमा सैनिक ‘कु’ पछि रोहिंग्याको समूह मेची पुल र अन्य नाका हुँदै गैरकानुनी रुपमा प्रवेश गरी काठमाडौंसम्म आइपुगेका थिए । त्यस्तै, अफगानिस्तानमा तालीवानी समूहले सत्ता हातमा लिएपछि भारतको बाटो हुँदै अफगानी पनि ‘शरणार्थी’ भेषमा नेपाल छिरेका थिए ।

सीमा क्षेत्रमा कमजोर नियमन र सुरक्षा सावधानीमा देखिएको कमजोरी तथा खुला सीमानाका कारण म्यानमारका रोहिंग्या र अफगानी नागरिक गैरकानुनी रुपमा नेपाल छिरेका थिए ।

बंगलादेशमा सत्ता र विपक्षी दलबीचको टकराव तथा पछिल्लो समय आरक्षण विरोधी विद्यार्थी आन्दोलनपछि निम्तिएको संकटसँगै प्रधानमन्त्री शेखर हसिनाले राजीनामा दिई देश छाडेर भारत पुगिसकेकी छन् । उक्त घटनाको असर नेपालसम्म पर्ने सक्ने अनुमान गरी नेपाल सरकारले उच्च सुरक्षा अपनाएको छ ।

हसिना समर्थक र आन्दोलनकारी समूहबीचको टकरावले बंगलादेशबाट पनि मानिस अरु देश छिर्नसक्ने जोखिम औंल्याउँदै नेपाल सरकारले गैरकानुनी घूषपैठ रोक्न साबधानी अपनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here