गैरआवासीय नेपाली बदनाम हुने क्रम जारी, रामलक्ष्मण भन्छन् – भोटिङ मेशिन बिग्रेकै थिएन

काठमाडौं, ३० असोज । काठमाडौंमा जारी गैर–आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा विभिन्न वितण्डाका कारण चर्चित र बदनाम दुवै बनेको छ ।

नयाँ कार्यसमितिका मुख्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले एनआरएन अभियानमा घरेलु राजनीति घुसाएको आरोप एकातिर लागेको छ भने अर्कोतिर सम्मेलनमा भाग लिन आएका गैरआवासीय नेपालीहरुले विमानस्थलमा अध्यागमन डेस्क फोर्ने, हातपान गर्ने अनि अयोजनास्थल हायात होटलमा कुर्सी भाँच्ने सम्मका दुष्कर्म गरेका छन् ।

मतदाता नामावली तयार गर्ने क्रममै अनियमितता भएको कुरा बाहिर आइरहँदा एनआरएनएले चुनावमा भोटिङ मेशिन प्रयोग गर्ने बताएको थियो । ८१ मुलुकमा फैलिएको एनआरएनएमा करीब २५ सय मतदाता छन् । त्यसले पनि मतदात प्रक्रिया चाँडो सक्न र नतिजा तत्काल पाउनका लागि त्यो विधि उपयोगी थियो ।

तर, बुधवार साँझ शुरु हुने भनेको मतदान बिहीबार बिहान मात्र शुरु भयो, त्यो पनि कागजमै भोट हाल्ने गरी । एक जनाले मतदान गरेपछि भोटिङ मेशिन बिग्रिएकाले प्रक्रिया स्थगित गरी म्यानुअल्ली मतदान गरिएको संघले बताएको थियो ।

तर, बिहीवार साँझ भोटिङ मेशिनका निर्माता रामप्रसाद र लक्ष्मणप्रसाद रिमाल दाजुभाइले मेशिन नबिग्रेको दाबी गरेका छन् । संघले मतदाता नामावली तयार गर्न र डाटावेसमा प्रविष्ट गर्नमै ढिलाइ गरेकाले र एक पक्षले मेशिनको सोर्स कोड खोजेर बखेडा गरेकाले समग्र प्रक्रिया ढीला भएको बताएका छन् ।

आफूले तयारीका लागि मागेको न्यूनतम ८ घण्टा समयमा ३ घण्टा पनि नपाएको उनीहरुको भनाइ छ ।

‘पहिले नै प्रक्रिया ढीला भएको तर मतदाताले २९ गते जसरी पनि मतदान गर्नु पर्छ भन्ने दबाव दिएकाले हामी अत्याधिक तनावमा थियौं । अझ बढ्ता तनाव त त्यतिबेला भयो, जब मेशिन तयार गर्दै गर्दा त्यसको सोर्स कोड चाहियो नत्र निर्वाचन हुन नदिने भनि एक पक्षले प्राविधिक टोली पठायो,’ रामलक्ष्मणले भनेका छन् ।

उनीहरुका अनुसार पहिले ढीलो भइसकेको तालीकाको एक घण्टा सोर्स कोड दिनमा लाग्यो ।

मेशिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नका लागि समय चाहिन्छ भनेर रिमाल दाजुभाइले सम्झौताकै बखतमा अन्तिम नामावली प्रमाणित गर्ने, नामावली चढाउने, परीक्षण गर्ने, १ सय नमूना मतदान गर्ने कामका लागि न्यूनतम ८ घण्टा समय मागेका थिए तर उनीहरुले ३ घण्टा पनि पाएनन् ।

यस निर्वाचनमा यत्तिका हतारमा काम गर्न पर्ने बाध्यताले गर्दा न त निर्वाचनबाट आधिकारिक नामावली पाउन सक्यौं, न त काम गर्ने समय पनि ।

उम्मेदवारको नाम र तस्वीर राखिनसक्दै बाहिर भीड थामिनसक्नुभयो र परीक्षणविनै मतदान शुरु गर्नुपर्ने बाध्यताले मेशिनको बट्टामा नट सम्म कस्न भ्याएनौं, उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

आफ्नो मेशिनमा कुनै प्राविधिक खराबी नरहेको र मतदान शुरु गर्दा फोटो र नाममा समस्यमा देखिएकोमा त्यसलाई तुरुन्तै समाधान गरेर देखाएको उनीहरुको दाबी छ ।

विगतका दुई सम्मेलनमा उनीहरुले नेपालमै तयार गरेको भोटिङ मेशिन प्रयोग गरेको एनआरएनएले यसपालि पनि उनीहरुकै मेशिन प्रयोग गर्ने निर्णय गरेको थियो । त्यसपछि रामलक्ष्मणले एक महिना त्यसका लागि नयाँ सफ्टवेयर बनाउन विताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here