‘भाइ मसला’ किन्दै हुनुहुन्छ ? यस्तो छ बजार मूल्य

काठमाडौं, ६ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिदै गर्दा बजारमा चहल-पहल पनि उतिकै बढेको छ ।

बजारमा तिहारको लागि आवश्यक मसला, झिलिमिली बत्ती, चाँदी, तामा, पित्तल लगायत विभिन्न सरसामग्री किन्नेहरूको चहलपहल बढेको छ ।

अन्य बजारको जस्तै तिहारमा अधिक मात्रामा विक्री हुने चाँदी तथा तामा पित्तलका भाँडाकुडा खरिद गर्नेहरुको बजारमा चाप बढ्न थालेको असनका भाडा व्यापारी राजन सुवेदीले बताए । अन्य दिनहरुको तुलनामा तिहारको समयमा भाडाको व्यापार चारगुणा बढि हुने गरेको उनको भनाई थियो ।

त्यस्तै असनमा मसला किन्नेहरुको भिडपनि बढेको छ । अन्यठाँउमा भन्दा असनमा मूल्य सस्तो भएर मसला किन्न असन नै आएको रमिला सापकोटले बताईन् । तिहार मसलाको मूल्य पसल अनुसार फरक फरक पाईने गरेको छ ।

बढि मात्रमा तिहारमा बिक्री हुने मसलाहरुको भाउ सबैमा बढेको छ । सामान्यतय ५० रुपाँयामा पाईने २०० ग्राम कालो छोगडाको भाउ २० ग्राम तौल घटाएर पनि ४ रुपैयाँ बढेको पाईएको छ ।

तिहारको फाइदा उठाएर अहिले दुई महिना अघि भन्दा केही ड्राइ फ्रुट्सको मूल्य किलोमा ५० रुपैयाँदेखि सय रुपैयाँसम्म मूल्य बढेको व्यवसायी बद्री अर्यालले बताए

स्वदेशी उत्पादन नहुँदा तिहारको मौकामा झनै महंगो

बढी तिहारमा बढी खपत हुने तिहार मसलाको स्वदेशी उत्पादन नहुँदा बढेको व्यवसायीहरु बताउँछन् । किराना व्यवसायीले त झनै पसलै पिच्छे फरक फरक भाउ रहेको छ ।

भाइ मसलाको लागि तिहारमा मात्रै नेपालको ठूलो धनराशी विदेशतर्फ जाने गरेको छ । अमेरिका, पाकिस्तान, भियतनाम लगायतका देशबाट भाईमसलामा प्रयोग हुने सामग्री आउने गरेको छ ।

तिहारका लागि भारतबाट ओखर, नरिवल, अनि अमेरिकाबाट बदाम, पेस्ता लगायतका ड्राईफुड ठुलो मात्रामा आयात हुने गरेको छ । नेपालमा नै उत्पादन हुने वस्तु नहुनाले यसको बजार मूल्य हरेक वर्ष बढ्ने गरेको छ ।

भाइटीकामा चाहिने मालादेखि भाइमसला समेतमा अर्काकै देशमा निर्भर हुनुपर्ने अवस्था रहेको देखिन्छ।

भन्सार विभागको तथ्याकं अनुसार चालु आर्थिक बर्षको दुई महिनामा मात्र भारतबाट १ लाख ४९ हजार ५६८ किलोग्राम र भियतनामबाट ४६ हजार ९४८ किलोग्राम काजु आयात भएको छ । जसको मुल्य १६ करोड ३ लाख १८ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बदाम भारत र अमेरिकाबाट आयात हुने गरेको छ । दुई महिनाको अवधिमा लगभग १ लाख ७३ हजार किलोग्राम बदाम आयात भएको देखिन्छ। अमेरिकाबाट मात्रै १४ करोड ३८ लाख ५९ हजार रुपैयाँको र भारतबाट ४६ लाख ६० हजारको बदाम आयात भएको भन्सार विभागको तथ्याकंले देखाउछ ।

फूटपाथ मूल्यमा प्याकेट आर्कषण,गुणस्तर कम

पसलमा भाइमसलाका साइज-साइजका प्याकेट छन् । सजावट र आर्कषण रुपमा तयार गरिएको प्याकेटले ग्राहकको मन तान्ने गरेको छ । तर प्याकेटको भन्दा खुल्ला रुपमा किनेर आफुले नै तयार गर्दा राम्रो हुने देखिन्छ ।

बजार डुल्दा फूटपाथमा २५ रुपयाँ सम्मको प्याकेट तयार गरेर बिक्रीमा राखेको पाईयो । अन्य ठूला डिपार्टमेन्ट स्टोर र मलहरुमा भने डालीमा महंगा चकलेट भाइ मसला बेच्नका लागि राखेका छन् ।

प्याकेटभित्र राखिएका मसलाजन्य सामाग्रीको परिमाण र अन्य वस्तु पनि थप्दा यसको मूल्य महंगो पर्न जाने व्यापारीहरु बताउँछन् ।

उपभोक्तालाई पनि एउटा एउटा वस्तु किन्ने झण्झट गर्नुभन्दा तयारी भाइ मसलाको प्याकेट खरिद गर्नै सजिलो लाग्ने हुँदा किन्ने र बेच्नेको लय मिलेको छ ।

माथिको मूल्य सूची काठमाडौंका केही खुद्रा मसला पसलहरूको मूल्यको आधारमा तयार पारिएको हो। यो मूल्य पसल अनुसार सामान्य घटबढ हुन सक्छ।

यस्तो छ बजार मूल्य
चाडपर्वमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसलले दिएको मूल्यसूची अनुसार भाइमसलाको प्याकेटमा प्रयोग हुने नरीवलको मूल्य ५ सय रुपैयाँ ,काजु प्रतिकेजी १५ सयदेखि १७ सय रुपैयाँसम्म बजार मूल्य रहेको छ ।

ओखर प्रतिकेजी ६५० रुपैयाँ रहेको छ । त्यस्तै अत्याधिक मात्रामा सबैले रुचाउने किसमिस प्रतिकेजी ५ सय रुपैयाँदेखि ६ सय ५० रुपैयाँ रहेको छ ।

पेस्ता प्रतिकेजी १७ सय देखि १९ सय रुपैयाँ रहेको छ । दालचिनी प्रतिकेजी ५ सय रुपैयाँदेखि ५ सय ५० रुपैयाँ रहेको छ । ल्वाङ प्रतिकेजी १८ सय रुपैयाँ रहेको छ ।

सुपारीको मूल्य प्रतिकेजी ६ सय रुपैयाँ रहेको छ । हाडेबदाम १५ सय रुपैयाँ सम्म रहेको छ । मिश्री २५० सम्म रहेको जनाएको छ । अलैची १५ सय, सुकुमेल ५५ सय सम्म रहेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here