‘राजनीतिक दलका नेताबाटै चुनावबाट पछि हट्न दबाव आएको छ’

सुनैना घिमिरे(पाण्डे)
अध्यक्ष प्रत्यासी, क्यान महासंघ

मुलुकभरका सूचना प्रविधि व्यवसायी तथा उद्यमीहरुको संगठन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ आगामी मंसिर ७ गते हुने २६ औं साधारण सभाबाट १३ औं कार्यसमितिको चुनावको जमर्कोमा जुटेको छ ।

यो सँगै मुलुकको ५७ जिल्लामा विस्तार भएको क्यान महासंघका पाँच हजार सदस्यहरुलाई चुनावी रौनकले छोइसकेको छ । नयाँ नेतृत्वको लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र उपाध्यक्ष सुनैना घिमिरे पाण्डेका दुई प्यानल भिड्दै छन् ।

कुँवरले केहीदिन अघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने पाण्डेले शनिवार उम्मेदवारी घोषणा गर्दैछिन् । सरकार र निजी क्षेत्र दुवैले नेपालमा सूचना प्रविधि तथा त्यससँग सम्बन्धित व्यवसायको संभावना भएको बताइ रहेपनि अपेक्षित विकास हुन सकेको छैन ।

केही आउट सोर्सिङ कम्पनीको भरमा क्रियटिभ आईटी धानिएको छ भने बाँकी हार्डवेयर तथा सफ्टवेयर व्यवसायको बाहुल्य छ । तर, यता निजी क्षेत्र भने सूचना प्रविधिका क्षेत्रमा आवश्यक नीति तथा कानूनका लागि सरकारलाई दबाव दिन नसकेको आलोचना खेप्दै आइरहेको छ ।

यसै सन्दर्भमा नेपालमा सूचना प्रविधिको विकास, संस्थागत राजनीतिको अन्त्यका साथै क्यानमा महिला सहभागिताको विषयमा अध्यक्षकी उम्मेदवार सुनैना घिमिरे पाण्डेसँग क्लाउडपत्रिका डटकमका जितेन्द्र खनालले गरेको कुराकानी :

क्यानको अध्यक्षमा उम्मेदवारी किन ?

क्यानको यो उम्मेदवारी हालसम्मकै ऐतिहासिक उम्मेदवारी हो । अध्यक्ष पदमा मेरो उम्मेदवारीको प्रमुख कारण क्यान महासंघलाई एउटा नयाँ स्तरमा लैजानका लागि हो ।

क्यान अहिले ‘भर्सन वन’ मा छ यसलाई ‘भर्सन टु’ मा लैजादैँ महासंघमा परिवर्तन ल्याउन खोज्दै छौं । साथै विश्वमा आईटीको लागि नेपाल पनि एक मुुख्य गन्तव्य बन्न सक्छ है भन्ने चिनाउनको लागि पनि अध्यक्षमा उम्मेदवारी दिएकी हुँ ।

क्यानको तीन दशकको इतिहासमा पहिलो पटक अध्यक्ष पदमा महिलाको उम्मेदवारी परेको छ । त्यसले क्यान तथा बाहिर के अर्थ राख्छ ?

महिला र पुरुषविच भिन्नता छ भन्ने लागेको भए सायद म आज उपाध्यक्ष पनि हुन्नथें । म आफ्नै कर्मबाट यो ठाउँमा आइपुगेकी हुँ । मलाई विश्वास छ म अझ अगाडी जान सक्छु ।

मलाई महिला उम्मेदवार भन्दापनि एक योग्य उम्मेदवारको रुपमा हेरिदिन पनि अनुरोध गर्छु । एउटा नियम अनुसार म महिला भएर जन्मिएँ तर मैले गरेको कामको आधारमा क्यानमा दिएको योगदानको आधारमा र मैले केही गर्न सक्छु भन्ने विश्वासका कारण पनिम योग्य अध्यक्षको उम्मेदवार हुँ भन्ने लाग्छ ।

क्यान निर्वाचनमा तपाईंको मूख्य एजेण्डा के-के छन् ?

हाम्रो मूख्य चुनावी योजना सूचना प्रविधिको विकास गर्नु नै हो । यसको लागि हामी एउटा आईटी वोर्ड निर्माण गर्नेछौं । जसरी आज पर्यटन वोर्डले ‘भिजिट नेपाल २०२०’ कार्यान्वयन गरिरहेको छ, त्यसरी नै आईटी बोर्डको माध्यमबाट हामी आईटी क्षेत्रको विकास गर्ने हाम्रो सोच हो ।

क्यान महासंघले अन्तरराष्ट्रिय बजारबाट नेपालमा लगानी भित्र्याउने वातावरणको निर्माण गर्नेछ । हाम्रो नेतृत्वले नेपालमा भएको प्रविधिलाई पनि अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गने भूमिका खेल्नेछ ।

विश्व आइटी बजारमा नेपालमा पनि आईटीको सम्भावना छ है भन्ने कुरा चिनाउने कोशिस पनि हाम्रो रहनेछ । यसका साथै यहाँका नेपाली दक्ष जनशक्तिलाई नेपालमै बस्ने वातावरण निर्माण गर्नु पनि हाम्रो मूख्य योजना हो । आज सूचना प्रविधिका जानकारहरु विदेशिने क्रम बढ्दो छ । त्यसलाई निरुत्साहित गरी स्वदेशमै अवसर सिर्जना गर्नमा हाम्रो प्रयत्न रहनेछ ।

आईटी व्यवसाय र महासंघको सम्बन्ध अझै सुमुधर बनाउने हाम्रो योजना हो । विविध कारणले महासंघ र व्यवसायी विचको सम्बन्ध अझै सुमधुर बन्न सकेको छैन् । क्यानको आज सम्म आफ्नै भवन र पूर्वाधार नहुँदा पनि हामीले कतिपय कार्यक्रम गर्न सकेका छैनौं ।

नेपालमा निजी क्षेत्रका कुनै पनि संस्था राजनीतिबाट अछुतो रहन सकेका छैनन् । क्यानपनि त्यसमा अपवाद रहन सकेन । व्यावसायिक संस्थामा राजनीति त नभएकै राम्रो हैन र ?

तपाईंको कुरा ठीक हो । तर पनि मलाई के लाग्छ भने क्यान महासंघ मात्रै त्यस्तो संस्था होला जुन यति विशाल भएर पनि राजनीतिको रंग कमै देखिएको छ । तरपनि यस पटकको चुनावमा हामीले चर्को राजनीतिक हस्तक्षेप देखिरहेका छौं ।

म आफैले ठूलो राजनीतिक दबाव झेल्नु परेको छ । यो वा त्यो नभनौं तर मलाई राजनीतिक दलका नेताहरुबाट यो चुनावबाट पछि हट्नुस भन्ने सम्मको दबाव आएको छ । मैले सोचेको पनि थिइन यस्तो दबाब आउला भनेर ।

मेरा अन्य साथीहरुलाई पनि उम्मेदवारी फिर्ता लिनुहोस् भन्ने दबाव आएको छ । यसकारण पनि यो चुनावमा क्यानमा राजनीतिकरण भएको हामीले देखेका र भोगेका छौं ।

यद्यपि म के भन्न चाहन्छु भने २७ वर्षे इतिहासमा हामीले क्यान महासंघलाई एउटा निष्पक्षर उत्तरदायी संस्थाको रुपमा विकास गरेका छौं । आगामी दिनमा पनि यसलाई त्यस्तै रुपमा एउटा गैरराजनैतिक संस्थाको रुपमा विकास गर्दै लैजाने छौं ।

सरकार र निजी क्षेत्रले नेपालमा सूचना प्रविधिको धेरै सम्भावना छ भने पनि यो क्षेत्र अपेक्षित विकास र रोजगारी सिर्जना दुवै हिसाबले कमजोर देखिएको छ नि ?

प्रविधिको विकास र रोजगारी सिर्जना गर्ने कुरा मा भने क्यान भित्रकै राजनिती जिम्मेवार छ । नेपालका हरेक संघ-संस्था हरु आन्तरिक राजनीतिबाट ग्रसित छन् ।

यसका साथै हामी कहाँ सूचना प्रविधि क्षेत्रको विकासको लागि नेतृत्वको पनि कमी देखिएको छ । केही अगुवाहरुले आफ्नो क्षेत्रबाट काम गरिरहनु भएको छ,तर अझैपनि अपेक्षित रुपमा नतिजा हासिल हुन सकेको छैन् ।

हामी व्यवसायी एकजुट हुन नसक्दा पनि यस्तो समस्या आएको हो कि जस्तो लाग्छ । आगामी दिनमा हामीले यस्ता कमजोरी हटाउन नसकेमा क्यानको अवस्था झनै नाजुक हुँदै जाने पक्का छ ।

त्यसैले अबको प्रमुख आवश्यकता भनेको क्यानलाई एकजुट बनाउदै सबल र सक्षम नेतृत्वको विकास गर्नु हो । यसको लागि सबै क्षेत्रलाई मिलाउँदै क्यानलाई एक प्रतिष्ठित संस्थाको रुपमा विकास गर्दै लैजान सक्छु भन्नेमा विश्वास छ ।

यदि अब पनि परम्परागत रुपमा संस्था चलाउने र राजनीति गर्ने लक्ष्य लिने हो भने हामी महासंघमा बस्नुको कुनै औचित्य रहने छैन् । यसका साथै सूचना प्रविधि क्षेत्रको विकासमा पनि सरकारले सहयोग गरेको छ । हामीले गरेका जायज मागहरुमा सरकार बाट राम्रै प्रतिक्रिया आएको छ ।

नेपालमा सूचना प्रविधि क्षेत्रको संभावना कस्तो देख्नुभएको छ ?

यहाँ सूचना प्रविधि क्षेत्रको विकासको ज्यादै संभावना छ । नेपालभर्जिन मार्केट पनि हो । हामीले नेपाल पनि आईटी लगानीको लागि एउटा राम्रो विकल्प हो भन्ने देखाउन सक्यौं भने विदेशी लगानी आकर्षित भइ रोजगारी सिर्जना हुने छ ।

त्यसका लागि वातावरण निर्माणमा सरकार र निजीक्षेत्र दुवैले प्रयास गर्नुपर्छ । यहाँ म एउटा उदाहरण दिन चाहन्छु, अघिल्लो वर्ष सन् २०१८ मा बिपिएमार्केट विश्वभरमा ९८७ अर्ब डलरको थियो ।

तर त्यसको कति प्रतिशत हामीले नेपालमा ल्याउन सक्यौ ? खै त हामीले मार्केटिङ गरेको ? त्यस्ता क्षेत्रमा बजारको विकास गर्न हामीले पर्याप्त मार्केटिङ गर्नु पथ्र्यो । हामीले मार्केटिङ गरेर त्यसको १ प्रतिशतमात्रै नेपालमा ल्याउन सकेको भए त्यसले नेपालको कुल गार्हस्थ उत्पादनमा राम्रै सहयोग गथ्र्यो ।

त्यस्तै, सन् २०१९ को लागि सूचना प्रविधिमा १० खर्ब ३४अर्ब डलरको व्यवसाय हुने प्रक्षेपण गरिएको छ । त्यसमध्ये हामीले नेपालमा कति भित्र्याउन सक्छौं त ? यो वर्ष नै सकिन लागिसक्यो ।

त्यसकारण सबै भन्दा महत्वपूर्ण कुरा त विश्वव्यापी सूचना प्रविधि क्षेत्रमा नेपाललाई चिनाउनु हो । आज हामी सूचना प्रविधिको विश्वव्यापी वरीयता क्रममा १२८औं स्थानमा छौं । त्यसमा सुधार आवश्यक छ ।

सूचना प्रविधिमा काम गर्नको लागि इण्टरनेट, ल्यापटप र एउटा सानो कार्यस्थल भएपनि पुग्छ । ति सुविधा उपलब्ध भएका घरबाटै गर्दापनि हुन्छ । त्यसकारण यो क्षेत्रको विकासको लागि निश्चित नियम र मार्गनिर्देशिका (गाईडलाईन) आवश्यक छ । सहज र उपयुक्त वातावरण निमार्ण गर्न सक्ने हो भने सूचना प्रविधिको सम्भावना नेपालमा अत्याधिक छ ।

क्यान महासंघको अध्यक्षमा उम्मेदवारी दिने तपाईं पहिलो महिलाबन्नु भएको छ । सूचना प्रविधिको क्षेत्रमा महिलाको सहभागिता बढाउनको लागि के गर्नुपर्ला ?

मलाई असाध्यै मन पर्ने कुरा सोधि दिनु भयो । सन् २०१० मा पहिलो पटक क्यानमा आउँदा म एक्ली महिला थिएँ । महिलाको पनि आईटी क्षेत्रमा सहभागिता आवश्यक छ भन्ने सोचले ‘वुमनइनआईटी’ भन्ने समिति पनि स्थापना गरियो जसमा सात जना महिलाहरु संलग्न थिए । यो समिति स्थापना गर्न पनि हामीलाई चार महिना लाग्यो ।

यो क्षेत्रमा महिलाको सहभागिता बढाउनु जरुरी छ तर चुनौति धेरै छन् । हरेक दिन नयाँ प्रविधिको विकास भइरहेको छ । त्यसैले घर परिवारदेखि अनेक थरी जिम्मेवारीवीच व्यवसाय सम्हालेका महिलाहरुका लागि यो क्षेत्र चुनौतिपूर्ण देखिएको हो ।

त्यसबाहेक यो एक बौद्धिक क्षेत्र हो जसले यसमा महिला र पुरुष दुवैका लागि समान अवसर सिर्जना गरेको छ । त्यसैले पनि यो क्षेत्र महिलाको लागि उपयुक्त हो भन्ने मेरो बुझाइ हो ।

यो क्षेत्रको सबैभन्दा राम्रो पक्ष भनेको यसबाट पाउने प्रतिफल हो जुन अन्य व्यवसायको तुलनामा राम्रो छ । त्यसकारण हामीले महिलालाई प्रोत्साहन गर्न सक्यौं भने सूचना प्रविधि महिलाको लागि एकदमै राम्रो क्षेत्र बन्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here