नेपालले कुन ‘साग’ मा कति पदक जित्यो,कहिले कस्तो छ अवस्था ?

काठमाडौं, ४ मंसिर । नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नजिक-नजिक आई सकेको छ । प्रतियोगिताको लागि नेपालका विभिन्न रंगशालाहरुको निमार्ण भईरहेको छ ।

काठमाडौंको दशरथ रंगशाला सहित देशका अन्य रंगशालाहरुको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले खेलाडी बन्द प्रशिक्षणमा छन्।

१३ औं साग प्रतियोगिता यहि मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्म (१—१० डिसेम्बर) नेपालको काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछ ।

पछिल्ला प्रदर्शनलाई हेर्दा नेपाल मार्सलआर्ट, भलिबल लगायतका खेलहरुमा बलियो देखिन्छ। यसअघि भारतको सिलोङ र गुवाहटीमा भएको सागमा नेपालले ३ स्वर्णमा चित्त बुझाउनु पर्ने कारण कराते पनि थियो।

त्यस्तै नेपालले भर्खरै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन वुमन्स भलिबलमा स्वर्ण पदक हात परेको छ । स्तरीय टिमलाई पछि पारेको महिला भलिबलले भारत र श्रीलंकालाई हराउन सके स्वर्णको प्रवल सम्भावना देखिन्छ।

यो समेत नेपालमा भएको यो तेस्रो साग प्रतियोगिता हो । यो भन्दा पहिले सन् १९८४ मा साग प्रतियोगिताको पहिलो संकरण नेपालमा नै भएको थियो । त्यस्तै नेपालमा भएको दोस्रो तथा आठौं साग प्रतियोगिता सन् १९९९ मा भएको थियो ।

यस्तो छ हालसम्म भएका १३ वटा साग प्रतियोगिता

क्र.सं. देश
१. नेपाल (काठमाडौं) १९८४
२. बङ्गलादेश (ढाका) १९८५
३. भारत (कोलकता) १९८७
४. पाकिस्तान (इस्लामावाद) १९८९
५. श्रीलंका (कोलम्बो) १९९१
६. बङ्गलादेश (ढाका) १९९३
७. भारत (मद्रास) १९९८
८. नेपाल (काठमाडौं) १९९९
९. पाकिस्तान (इस्लामावाद) २००४
१०. श्रीलंका (कोलम्बो) २००६
११. बङ्गलादेश (ढाका) २०१०
१२. भारत (गोहाटी र सिलोङ्ग) २०१६
१३. नेपाल (काठमाडौं, पोखरा, जनकपुर) २०१९ (बाँकी)

हालसम्म विभिन्न समयमा विभिन्न देशमा भएका १२ वटा साग प्रतियोगितामा नेपालले ६९ वटा स्वर्ण, १२७ वटा रजत र २७७ वटा काश्य पदक जितेको छ ।

नेपालले कुन सागमा कति पदक जित्यो ?

पहिलो साग प्रतियोगिता (नेपाल, सन् १९८४)

नेपालको काठमाडौंमा भएको पहिलो साग प्रतियोगितामा नेपालले ४ वटा स्वर्ण, १२ वटा रजत र ८ वटा काश्य पदक जित्दै सातवटा देशमा चौंथो स्थान प्राप्त गरेको थियो ।

दोस्रो साग प्रतियोगिता (बङ्गलादेश, सन् १९८५)

बङ्गलादेशको ढाकामा भएको दोस्रो साग प्रतियोगितामा नेपालले १ स्वर्ण, ९ रजत र २२ काश्य पदक जित्दै ७ वटा देशमा पाँचौं स्थान हात पारेको थियो।

तेस्रो साग प्रतियोगिता (भारत, सन् १९८७)

भारतको कोलकतामा भएको तेस्रो साग प्रतियोगितामा नेपालले २ स्वर्ण, ७ रजत र ३३ काश्य पदक जित्दै ७ वटा देशमा चौथो स्थान हात पारेको थियो।

चौंथो साग प्रतियोगिता (पाकिस्तान, सन् १९८९)

पाकिस्तानको इस्लामावादमा भएको चौंथो साग प्रतियोगितामा नेपालले १ स्वर्ण, १४ रजत र २५ काश्य पदक जित्दै ७ वटा देशमा चौंथो स्थान हात पारेको थियो।

पाँचौं साग प्रतियोगिता (श्रीलंका, सन् १९९१)

श्रीलंकाको कोलम्बोमा भएको पाँचौं साग प्रतियोगितामा नेपालले २ स्वर्ण, ८ रजत र ३० काश्य पदक जित्दै ७ वटा देशमा चौंथो स्थान हात पारेको थियो।

छैटौं साग प्रतिायोगिता (बङ्गलादेश, सन् १९९३)

बङ्गलादेशको ढाकामा भएको छैटौं साग प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र १५ काश्य पदक जित्दै ७ वटा देशमा पाँचौँ स्थान हात पारेको थियो।

सातौँ साग प्रतियोगिता (भारत, सन् १९९५)

भारतको सद्रासमा भएको सातौं साग प्रतियोगितामा नेपालले ४ स्वर्ण, ८ रजत र १६ काश्य पदक जित्दै ७ वटा देशमा पाँचौँ स्थान हात पारेको थियो।

आठौँ साग प्रतियोगिता (नेपाल, सन् १९९९)

नेपालको काठमाडौंमा भएको आठौँ साग प्रतिोगिता नेपालको दृष्टिकोणले हालसम्मकै सबैभन्दा सफल र राम्रो मानिन्छ । उक्त प्रतियोगितामा नेपालले ३१ स्वर्ण, १० रजत र २४ काश्य पदक जित्दै ७ वटा देशमा दोस्रो स्थान हात पारेको थियो।

नवौँ साग प्रतियोगिता (पाकिस्तान, सन् २००४)

पाकिस्तानको इस्लामावादमा भएको नवौँ साग प्रतियोगितामा नेपालले ७ स्वर्ण, ६ रजत र १९ काश्य पदक जित्दै ८ वटा देशमा चौथो स्थान हात पारेको थियो।

दशौँ साग प्रतियोगिता (श्रीलंका, सन् २००६)

श्रीलंकामा भएको दशौँ साग प्रतियोगितामा नेपालले ५ स्वर्ण, १५ रजत र ३१ काश्य पदक जित्दै ८ वटा देशमा चौंथो स्थान हात पारेको थियो।

एघारौँ साग प्रतियोगिता (बङ्गलादेश, सन् २०१०)

बङ्गलादेशको ढाकामा भएको एघारौँ साग प्रतियोगितामा नेपालले ८ स्वर्ण, ९ रजत र २० काश्य पदक जित्दै ८ वटा देशमा पाँचौं स्थान हात पारेको थियो।

बाह्रौँ साग प्रतियोगिता (भारत, सन् २०१६)

भारतको गोहाटी र सिलोङ्गमा भएको बाह्रौँ साग प्रतियोगितामा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ काश्य पदक जित्दै ८ वटा देशमा छैटौँ स्थान हात पारेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here