शान्तिपूर्ण देशमा नेपालको छलाङ,भारत अशान्तपूर्ण वर्गमा

काठमाडौं, ६ मंसिर । विश्व शान्ति सूची २०१९ मा नेपालले छलाङ मारेको छ । इन्सिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ औं स्थानमा पर्न सफल भएको हो।

२०१९ को रिपोर्टमा अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको देखाएको छ। ग्लोबल पिस इन्डेक्सको यो १३ औं संस्करण हो जसमा १६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्ति स्तर मापन गरिएको थियो।

सामाजिक सुरक्षाको स्तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्व, सैन्यकरणलगायत २३ विषयका आधारमा सूचीकरण गरिएको छ।

विश्वकै शान्त राष्ट्रको सूचीमा आइसल्यान्ड पहिलो स्थानमा छ भने अफगानिस्तान अन्तिम स्थानमा छ।

भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १४१ मा पुगेको हो । त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ मा रहेको छ । रुस यसको ठीक तल १५४ स्थानमा रहेको छ । चीन पनि नेपालभन्दा तल ११० औँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ ।

शान्तिमा सबैभन्दा अगाडि रहेको युरोपेली क्षेत्र अन्तर्गत बेलायत पनि यो वर्ष पाँच स्थान अगाडि ४५ मा आएको छ ।

२०१८ मा युरोपमा हत्या र हिंसा सबैभन्दा चरम अवस्थामा पुगेको बताइएको छ । यता अमेरिका पनि चार स्थान तल १२८ औँ स्थानमा पुगेको छ ।

यसैगरी न्युजिल्यान्ड, पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिङ्गापुर, स्लोभेनिया जापान र चेज रिपब्लिक क्रमशः शिर्ष १० स्थानमा परेका छन्।

दक्षिण एसियाली देशमा भुटान सबभन्दा अगाडि १५ औं स्थानमा छ। ७२ औं स्थानमा श्रीलङ्का, १०१ स्थानमा बङ्लादेश, १४१ स्थानमा भारत र १५३ औं स्थानमा पाकिस्तान छ।

नेपाल, पाकिस्तान, भुटानमा भएको सुधार र अफगानिस्तानले गरेको केही लाभका कारण गत वर्षको तुलनामा यसपटक दक्षिण एसियाली देशमा सुधार देखिएको जनाएको छ।

अफगानिस्तान विश्वकै सबैभन्दा अशान्त देश

यो वर्ष अफगानिस्तान सिरियालाई प्रतिस्थापन गरि विश्वकै सबैभन्दा अशान्त देश बन्न पुगेको छ । यसपछि दक्षिण सुडान, अफ्रिकन रिपब्लिक इराक र कङ्गो पनि सबैभन्दा अशान्त देशहरुमा पर्दछन् ।

हाल युद्ध जारी रहेका मुलुकमा सिरिया, अफगानिस्तान, यमन, दक्षिण सुडान र पाकिस्तान रहेका छन् भने सैनिकीकरण धेरै भइरहेको देशमा इजरायल, रुस, अमेरिका, उत्तर कोरिया र फ्रान्स रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here