बैंकिङ अपराधीको निशाना एटिएम कार्ड र सजिलो हस्ताक्षर,कसरी रहने सुरक्षित ?

काठमाडौं । पछिल्लो समय नेपालमा बैंकबाट अनधिकृत रुपमा पैसा चोरी गर्ने गिरोहहरु सक्रिय भएका छन् । बैंक वा बैंकले उपलब्ध गराएको विभिन्न माध्यम एटिएम, चेकबुक,इन्टरनेट बैंकिङबाट पैसा चोरी गर्ने क्रम बढेको छ ।

गैरकानुनी रुपमा रकम निकाल्नु कानुनी दृष्टिमा दण्डनीय कार्य हो । बैंक जिम्मेवार हुन्छ । बैंकले ग्राहकको पैसा सुरक्षित रुपमा राखिदिन्छ ।

बैंकहरुले पैसा राख्ने व्यक्तिलाई पनि जिम्मेवार बनाउन सक्छ । जस्तो कि बैंकले दिएका पिन नम्बर, एटिएम कार्ड, पासवर्ड जस्ता साँचोहरु हामीले दुरुपयोग गर्यौं, दुरुपयोग गर्नको लागि अनुमति दियौं भने त्यसको जवाफदेही हामी आफै हुनुपर्छ ।

कसैले नक्कली एटिएम बनायो । त्यसमा तपाइकै पिन नम्बर प्रयोग गरेर तपाइकै खाताबाट पैसा झिक्यो । यस्तो अवस्थामा तपाइको पैसा सुरक्षित भयो कि भएन भन्ने अर्को प्रश्न पनि आउँछ ।

बैंकहरुले ग्राहकलाई सुविधा दिन भन्दै एटिएम, ई–वालेट इकमर्श, इन्टरनेट बैंकिङ जस्ता सुविधा दिएका छन् । यी सुविधाका सम्भावित जोखिम पनि छन् । यस्तो जोखिमको बारेमा ग्राहकलाई जानकारी दिनु पर्छ ।

यस्तो अवस्थामा समस्याको व्यवस्थापनका लागी हामीले एटिएम कार्ड प्रयोगमा साबधानी अपनाउनु आवश्यक हुन्छ । साना साना गल्तिका कारण दिन रात रात पैसाहरु गुम्न सक्छ । एटिएमबाट पैसा निकाल्दा प्राप्त हुने स्लिप (पर्चा) मा भुलेर पनि लापरबाही नगर्नु होस्।

यो स्लिपमा तपाईको बैंक खाता र एटिएमको पूर्ण जानकारी हुन्छ। यसबाट ह्याकरलाई तपाइको खाता ह्याक गर्न सहज हुन्छ। यस्तो अवस्थामा स्लिपलाई अत्यन्त सानो टुक्रा हुने गरी च्यात्नुहोस।

अथवा एटिएमबाट पैसा निकाल्दा स्लिप नआउने विकल्प रोज्नुहोस र अनलाइनबाट आफ्नो खाताको विवरण जाँच गर्नुहोस् । एटिएमको सुरक्षामा पिन नम्बर परिवर्तन पनि एक महत्त्वपूर्ण बिषय हो।

प्रयास गर्नुहोस कि जुन पिन नम्बर बैंकले तपाइँलाई उपलब्ध गराएको छ कम्तिमा पनि त्यसलाई परिवर्तन गर्नुहोस। यसबाट तपाइको एटिएम कार्ड केहि हदसम्म सुरक्षित हुन्छ।

हस्ताक्षर किर्ते गरी रकम चोरी

सजिलो हस्ताक्षर भएका खातावाहक बैंकिङ अपराधीको निशानामा पर्न थालेका छन् । हस्ताक्षर मिलाएर बैंकको सेवामा प्रश्न चिह्न लाग्ने गरी एउटा गिरोहले यसैगरी अर्कै व्यक्तिको खातामा रहेको झण्डै रु २० लाख नगद निकाल्न सफल भएको छ ।

उनीहरु बैंकमा खाता रहेका व्यक्तिहरुको हस्ताक्षर चोरी गरेर, चेक हराएको निवेदनसमेत दिइ नयाँ चेकबुक निकाल्ने र हस्ताक्षर मिलाएर लाखौं पैसा निकाल्न सफल भएको देखिएका छन् । यसरी बरामद भएका चेकहरुबाट प्रारम्भिक अनुसन्धान गर्दा सबै चेकमा सजिलो हस्ताक्षर रहेका छन् ।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार खातावालाका नागरिकताको प्रतिलिपि २९० थान, खातावालाको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, हस्ताक्षर नमूनाको डायरी दुई थान, खाता खोल्न फोटो टाँसेको तयारी फारम ३०० बरामद भएको छ ।

११५ जनाको बैंक स्टेटमेन्ट, जनता बैंकबाट जारी भएका १६ थान चेकबुक, ४१ थान काटिएको चेकबुक, ज्योति विकास बैंकमा अन्जन बरालको नाममा जारी भएको चेकबुक एक थान समेत यो समूहबाट जारी भएको छ ।

एभरेस्ट बैंकको २० थान चेकबुक, सोही बैंकमा काटिएको तीन थान चेकबुक, माछापुछ्रे बैंकका १७ थान, मुक्तिनाथ विकास बैंकका ४१ थान, एनआइसी एसिया बैंकका चेकबुक ६८ थान समेत बरामद भएका छन् ।

विभिन्न व्यक्तिका फोटो ८२५ थान, एनआइसी एसियाका ८२ थान एटिएम, अन्य बैंकका ७ थान एटिएम र विभिन्न बैंक तथा व्यक्तिको हस्ताक्षर गरेको चेक ३२९ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यस घटनाबाट करीव १८ वटा बैंकको सीस्टम जोखिममा रहेको प्रहरीले अनुमान गरेको छ ।

यसरी भएको थियो घटना

आइतबार दिउँसो करीब २ बजे जनता बैंक ग्वार्को शाखामा गोपालमान राजवाहकको नाममा चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाउन निवेदन आयो । बैंकका कर्मचारीले २ः३० बजे सजिलै चेकबुक बनाएर पठाइदिए ।

त्यहीँ शाखाबाट पैसा निकाल्दा शङ्का हुने देखेर उक्त गिरोहले दिउँसो ३ः३० बजे बानेश्वरस्थित उक्त बैंकको शाखाबाट चेकमार्फत रु नौ लाख ९९ हजार पैसा निकाले । दिउँसोको काउण्टर बन्द भएपछि साँझ दुईवटा चेकमार्फत उनीहरुले राजवाहककै खातबाट रु पाँच÷पाँच लाख नगद निकाले ।

यसरी क्रमैसँग पैसा निकालेको एसएमएस आउँदा राजवाहक दङ्ग थिए । ‘कसैलाई चेक दिएकै छैन, एटिएम कार्ड पनि दिएको छैन कसरी पैसा निस्कियो’, चकित परे । उक्त एसएसएससहित राजवाहक महानगरीय प्रहरी पसिरको सम्पर्कमा आए ।

तत्कालै प्रहरी हाइअलट भयो । उनीहरुको निगरानी शुरु भयो । सबै बैंकलाई सर्कुलर गरेर प्रहरीले त्यस्ता व्याक्ति आउने बित्तिकै खबर गर्न भनियो । राजवाहकको खातामा रु पाँच लाख बाँकी रहेको थाहा पाएका गिरोह भोलिपल्ट सोमबार त्यसैगरी तीन वटा चेक बनाएर बैंकबाट पैसा निकाल्ने क्रममा न्यूरोडबाट पक्राउ गर्न सफल भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए ।

चिनियाँ ह्याकरले एटिएमको स्वीच ह्याक गरेर गत भदौमा करोडौं रकम निकालेका थिए । कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर असोजमा रु ६५ लाख निकालिएको थियो ।

उनीहरुको रु पाँच अर्ब निकाल्ने योजना प्रहरीको सक्रियताले विफल भएको थियो । उक्त घटनामा संलग्न चिनियाँसहित नेपाली अहिले पनि पुर्पक्षका लागि थुनामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here