काठमाडौं, ११ मंसिर । बैंक तथा वित्तिय संस्था विस्तार भएसँगै एटीएम बुथको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
२०७६ असोज मसान्त सम्म देशैभरी एटीएम बुथको संख्या ३५ सय २० पुगेको छ । अघिल्लो वर्ष यो संख्या २७ सय ९१ रहेको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर सबैभन्दा धेरै ‘क’ वर्गका बैंकहरु अर्थात वाणिज्य बैंकहरुको एटिएम रहेको छ । वाणिज्य बैंकको एटीएम बुथ देशभर ३ हजार १ सय ५७ वटा रहेको छ ।
त्यस्तै, ‘ख’ वर्गका बैंकहरु अर्थात विकास बैंकको ३ सय १३ वटा रहेको छ भने ‘ग’ वर्गका बैंकहरु अर्थात वित्तीय कम्पनी (फाइनान्स) को देशभर ५० वटा एटीएम बुथ रहेका छन् ।
२०७६ सालको असोज मसान्त सम्ममा ६८ लाख १९ हजार ६ सय २ डेविट कार्ड वितरण भैसकेका छन् । यस्तै क्रेडिट कार्डको प्रयोगमासमेत तीव्रता आएको छ । असोज मसान्त सम्म १३ लाख ७६ हजार कार्ड जारी भएका छन् ।
६१ प्रतिशत नागरिकको पहुँचमा बैकिङ सेवा
नेपालमा बैंकिङ पहुँच पुगेका नागरिकको संख्या तीव्र रुपमा बढिरहेको छ । राष्ट्र बैंकले निकालेको पछिल्लो रिपोर्टअनुसार नेपालमा झण्डै ६१ प्रतिशत नागरिकको पहुँचमा बैकिङ सेवा पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै शाखा विस्तार र वित्तीय प्रविधिको प्रयोग तीव्र रुपमा बढ्दै गएकोले वित्तीय पहुँच विस्तार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।
२०७६ सालको असोजसम्म ६० दशमलव ९ प्रतिशत नेपाली नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सेवासमेत समावेश गर्ने हो भने नेपालमा वित्तीय पहुँच थप विस्तार भएको अनुमान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।