कर्जा वृद्धिदर घट्यो, बैंक तथा वित्तीय संस्थाको कुल लगानी ३० खर्ब ३५ अर्ब

काठमाडौं १६, मंसिर । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह वृद्धिदर घटेको छ ।

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ७.२ प्रतिशत रहेको कर्जा प्रवाह वृद्धिदर यो वर्ष झण्डै आधा प्रतिशत विन्दुले घटेर ४.३ मा झरेको राष्ट्र बैंकको तथ्यांक छ ।

तरलता अभाव रहेको समयमा बैंकमा लगानी वृद्धिदर घट्नु राम्रो भए पनि अर्थतन्त्रका लागि राम्रो नभएको अर्थविदहरु बताउँछन् । मुलुकमा आर्थिक क्रियाकलापले गति लिन थालेको छ ।

कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको छ ।

यस्तो अवस्थामा ऋण लगानी वृद्धिदर घट्नु राम्रो संकेत नहुने उनीहरुको तर्क छ । वार्षिक बिन्दुगत आधारमा विश्लेषण गर्दा २०७६ असोजसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.२ प्रतिशतले बढेको छ ।

असोजसम्म बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्र तर्फको ५.४ प्रतिशत, निर्माण क्षेत्रको ४.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको ५.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको ६.३ प्रतिशतले बढेको देखिन्छ ।

यस्तै, पहिलो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ८.९ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा ६.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.८ प्रतिशत, हायर पर्चेज कर्जा ०.४ प्रतिशत र ओभरड्राफ्ट कर्जा १ प्रतिशतले बढेको छ । सोही अवधिमा मार्जिन प्रकृतिको कर्जा ०.२ प्रतिशतले घटेको तथ्यांक छ ।

अघिल्लो वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घरजग्गाको धितो र १३.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । गत असोजसम्म कर्जा घरजग्गाको धितोमा प्रवाहित कर्जाको अनुपात ६३.१ प्रतिशत र चालु सम्पत्तिको धितोमा १४.४ प्रतिशत थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here