जेठसम्ममा लगानीको खाका आइसक्ने, ३० खर्बमध्ये कति आउला ?

काठमाडौं, १३ चैत । आगामी जेठसम्ममा लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले व्यक्त गरेको लगानीको आशयबारे निर्णय भइसक्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

‘आगामी मे महिनासम्ममा कुन क्षेत्रमा कति लगानी आउँछ भन्ने तय भइसक्छ,’ लगानी सम्मेलनको तयारी बारे जानकारी दिन बुधवार अर्थ मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भने ।

लगानी बोर्डसमक्ष लगानीकर्ताले व्यक्त गरेको प्रारम्भिक अनुमानअनुसार लगानी सम्मेलनमा करीब ३० खर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउने संभावना छ । त्यो भनेको नेपालको कुल गार्हस्थ उत्पादनकै बराबरको रकम हो ।

सरकारले निजीक्षेत्रसमेतको सहभागितामा यही शुक्रबार र सनिबार नेपाल लगानी सम्मेलन २०१९ आयोजना गर्दैछ ।

डा. खतिवडाले स्वदेशी र विदेशी लगानीकर्तालाई समान व्यवहार गरिने पनि बताएका छन् । उनका अनुसार विदेशी लगानी आकर्षित गर्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याइएको छ भने लगानीको वातावरणलाई अझ राम्रो बनाउन औद्योगिक व्यवसाय ऐन तथा सार्वजनिक निजी साझेदारी ऐन पनि ल्याइएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजि श्रेष्ठले लगानी सम्मेलनले निजीक्षेत्रमा पनि उत्साहको सञ्चार गरेको बताए ।

४० मुलुकका ६०० प्रतिनिधि

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

त्यसैगरी, सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने छ ।

दुई दिने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्र्नेछ । त्यसैगरी सम्मेलनमा करीब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी छ ।

सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको डा. खतिवडाले बताए ।

को को आउँदैछन् ?

सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली, तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहनेछ ।

यसका साथै विभिन्न बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुको पनि उल्लेख्य मात्रामा उपस्थिति रहने लगानी बोर्डले जानकारी दिएको छ ।

के हुँदैछ सम्मेलनमा ?

उक्त दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुनेछन् ।

त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् ।

नेपाल सरकारले यस लगानी सम्मेलनमार्फत विश्वका लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका लागि सरकारले लिएका नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्नुका साथै नेपाल लगानीको लागि उत्कृष्ट गन्तव्य रहेको सन्देश दिने अवसरको रुपमा लिएको छ । यस सम्मेलनले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुर्याउने आशा लिईएको डा. खतिवडाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here