विदेशी मुद्रा सटहीमा कडाई, ३ हजार डलरभन्दा बढी साट्न नियामकको अनुमति चाहिने

काठमाडौं, २१ मंसिर । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा कडाइ गरेको छ । अब कुनै पनि व्यावसायिक कम्पनीले ३ हजार भन्दा बढीको विदेशी मुद्रा सटही गर्न नियामक निकायको स्वीकृति लिनु पर्ने भएको छ ।

यसअघि १० हजार अमेरिकी डलरभन्दा बढीको सटही गर्दा मात्र राष्ट्र बैंकको अनुमति लिनु पर्ने व्यवस्था थियो । तर, अहिले नियामक निकायको सिफारिस ल्याउनु पर्ने व्यवस्था गरिएको हो । राष्ट्र बैंकले गत सातादेखि यस्तो व्यवस्था गरेको हो ।

अब कम्पनीले अमेरिकी डलर ३ हजार वा सो बराबर विदेशी मुद्राका लागि आवश्यक कागजात लिई वाणिज्य बैंकहरुबाट सटही सुविधा लिन सक्नेछन् । ३ हजार डलर भन्दा बढी सटही गर्नु पर्दा कम्पनीले सम्बन्धित नियामक निकायको सिफारिस पनि लिनुपर्नेछ ।

रकम सटही गर्ने कम्पनीको नियामक निकाय नभएको अवस्थामा अवस्थामा भने ३ हजार भन्दा बढी विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैंकको अनुमति चाहिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

मुलुकको विदेशी मुद्रा सञ्चिति घटदै गएपछि राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा कडाई गरेको हो । त्यसो त विदेश जाँदा नेपालीले गर्न सटही सुविधामा यसअघि नै कटौति गरिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सटही गर्न पाउने विदेशी मुद्राको सीमा घटाएर प्रतिव्यक्ति ३ हजार डलर बनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत असोजसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ८७ अर्ब ७३ करोड रुपैयाँ छ । गत वर्षको सोही अवधिको तुलनामा यो ४.७ प्रतिशतको वृद्धि हो । २०७६ असारमा यस्तो सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असारसम्म ९ अर्ब ५० करोड रहेकोमा २०७६ असोज मसान्तमा ९ अर्ब ५४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब ०२ अर्ब ४४ करोड रहेकोमा गत असोजसम्म बढेर ९ खर्ब ४३ अर्ब ८३ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेको छ । २०७६ असोज मसान्तमा १ खर्ब ४३ अर्ब ९० करोड पुगेको छ । २०७६ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here