आधुनिक खाद्य प्रणाली असफल,गरिब देशमा कुपोषण र मोटोपनको दोहोरो मार

काठमाडौं, ३० मंसिर । विश्वभरि अतिविपन्न देशहरूमा मोटोपना र कुपोषण दुवै समस्या देखा परेका छन्।

द ल्यानसेट जर्नलमा प्रकाशित भएको प्रतिवेदन अनुसार एक तिहाई गरिब देशमा मोटोपन र अधिक दुब्लोपनको समस्या देखिएको उल्लेख छ।

उक्त अध्ययनले न्यून आय भएका देशहरूले एकातिर कुपोषण तथा अर्कोतिर मोटोपनाको समस्या एकैपटक बेहोरिरहेको चेतावनी दिएको छ।

दुवैथरी समस्या एकै परिवारभित्र पाइएका समेत कैयौँ उदाहरण रहेको उसले जनाएको छ। अधिक प्रशोधित खाद्यान्नमा विश्वव्यापी महुँच तथा मानिसहरुले व्यायाम नगर्दा समस्या बढेको प्रतिवेदनले जनाएको छ।

आधुनिक खाद्य प्रणालीका कारण गरिब देशमा पनि मोटोपन तथा कुपोषणको समस्या समानान्तर जस्तै रुपमा देखिएको भन्दै अनुसन्धानमा संलग्नहरुले आधुनिक खाद्य प्रणालीमा परिवर्तन हुनु पर्ने बताएका छन् । मोटोपन र कुपोषणका कारण प्रभावित हुनेमा सब साहरा अफ्रिका तथा एसियाका देश छन् ।

विश्वमा हाल दुई अर्ब ३० करोड बालबालिका तथा वयश्कहरु मोटोपनको समस्यामा रहेको प्रतिवदेनमा उल्लेख छ । यस्तै विश्वका १५ करोड बालबालिकामा कुपोषणको समस्या रहेको छ ।

कम तथा मध्यम आय भएका अधिकांश देशहरुमा पनि कुपोषण तथा मोटोपनको समस्या बढ्दो क्रममा देखिएको छ । यसलाई ‘डबल बर्डेन अफ मालन्यूट्रेसन’ का रुपमा लिइएको छ ।

विश्वका २० प्रतिशत मानिसमा मोटोपनको समस्या छ । यस्तै चार वर्षमुनिका ३० प्रतिशत बालबालिकाको शारीरिक विकास उनीहरुको उमेर अनुपातमा हुन सकेको छैन । विश्वका २० प्रतिशत महिलाहरु दुब्ला रहेका छन् ।

मोटोपन र कुपोषणका कारण समुदाय तथा परिवार एवम् व्यक्तिहरु जीवनको कुनै कालखण्डमा यी समस्याबाट ग्रसित हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् १९९० को दशकमा मोटोपन र कुपोषणको समस्याबाट ग्रसित हुनेमा विश्वका १२३ मध्ये ४५ देश थिए । तर सन् २०१० को दशकमा १२६ मध्ये ४८ देश यो समस्याबाट ग्रसित भएका छन् ।

आधुनिक समयको खाद्य प्रणाली विफल हुनु प्रमुख कारण रहेकाले सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले नै उपयुक्त खाद्य प्रणालीका लागि प्रयास गर्नु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययनकर्ताहरूले यी समस्याका लागि बदलिँदो खानपानतर्फ औँला ठड्याउँदै सरकारहरू, संयुक्त राष्ट्रसङ्घ तथा प्राज्ञहरूलाई कदम चाल्न आह्वान गरेका छन्।

मानिसहरूको आहार र विहारको प्रवृत्तिमा परिवर्तन भइरहेको छ। बढ्दो सङ्ख्याका सुपरमार्केट, कम पोषिलो खानेकुराको सहज उपलब्धता एवं शारीरिक अभ्यासको अभावले गर्दा धेरै मानिसमा मोटोपना देखिएको छ। बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here