लगानी सम्मेलन आज, सात क्षेत्रका ७७ परियोजना प्रस्तुत हुँदै

काठमाडौं, १५ चैत । पूर्वाधार विकासमा ३१ खर्ब रुपैयाँभन्दा बढी भित्र्याउने लक्ष्यसहित सरकारले निजीक्षेत्र समेतको सहभागितामा आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन आज सोल्टी होटलमा हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा सरकार र निजीक्षेत्रका गरी ७७ परियोजना प्रस्तुत हुँदैछन् । लगानी बोर्डको कार्यालयले स्थानीय सरकारहरुसँगको परामर्शमा तयार गरेका ५० पूर्वाधार परियोजना ३१ खर्ब ३६ अर्ब रुपैयाँ बराबरका छन् भने निजीक्षेत्रका २७ आयोजना २९ खर्ब १७ अर्ब रुपैयाँका छन् ।

लगानी बोर्डका अनुसार सम्मेलनमा प्रस्तुत हुने पूर्वाधार परियोजनामध्ये ६ कृषि, ३ शिक्षा तथा स्वास्थ्य, ८ ऊर्जा, ३ उद्योग, १० पर्यटन, ११ यातायात र ७ शहरी विकाससँग सम्बन्धित छन् । तीमध्ये यातायात पूवाधार विकासमा सबैभन्दा बढी अर्थात २० खर्ब रुपैयाँ बराबरका परियोजना प्रस्तुत हुँदैछन् भने ऊर्जामा ९ खर्ब रुपैयाँ, पर्यटनमा ६५ अर्ब रुपैयाँ र कृषिमा ६८ अर्ब रुपैयाँ बराबरका परियोजनाको खाका तयार गरिएको छ ।

त्यसैगरी, निजीक्षेत्रका परियोजनामा पर्यटन, औद्योगिक पूर्वाधार, जलविद्युतलगायत प्रमुख छन् । पर्यटनमा हिमालयन बुटिक होटल, सिक्लेस अन्नपूर्ण केबल कार, स्वर्गद्वारी, जाल्पादेवी केबल कार, सिटी अफ ड्रिम्स, हायात प्लेस काठमाण्डु र मुक्तिनाथ दर्शन केबल कार छन् ।

औद्योगिक पूर्वाधारमा विशाल सिमेण्ट, गरुड सिमेण्ट र आईएमई सिमेण्ट प्रमुख छन् । त्यसैगरी ऊर्जामा तल्लो अरुण खोला, मध्य कालीगण्डकी, नम्लान खोलन, बुढी गण्डकी, भोटेकोशी – ५, मस्र्याङदी – ७, त्रिशुली गल्छी, माथिल्लो बलेफी, म्याग्दी खोला र माथिल्लो दुधकोशी आदि छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले अघिल्ला लगानी सम्मेलनभन्दा यो सम्मेलन फरक भएको बताए । ‘यसपाली मुलुकमा राजनीतिक स्थितरता छ भने नीतिगत सुधारका लागि आवश्यक प्रयास गरिएको छ । लगानी सुरक्षा तथा एक द्वार नीति उपलब्ध गराउन सरकार प्रतिवद्ध छ,’ उनले भने ।

लगानी सम्मेलनलाई नै लक्षित गरेर सरकारले सार्वजनिक निजी सार्वजनिक ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण तथा लगानी ऐन, श्रम ऐन, औद्योगिक व्यवसाय ऐनलगायत कानूनको निर्माण गरेको छ भने दर्जनौं ऐन तथा कार्यविधिमा संशोधन गरेको छ । त्यस्तै विदेशी विनिमयदरको उतारचढावको जोखिमबाट लगानीकर्तालाई सुरक्षित राख्न हालै मात्र हेजिङ नियमावली पनि ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here