लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारलाई भवानी राणाको यस्तो सुझाव

लगानी सम्मेलनमा ४० देशका ६ सयभन्दा बढी लगानीकर्ताहरूको सहभागिता हुने र नेपालले लगानीका लागि करीब ७७ वटा परियोजना प्रस्तुत गर्ने कार्यक्रम छ । शनिवारसम्म चल्ने सम्मेलनमा हामी निजी क्षेत्रले पनि सहकार्य गर्न पाएका छौं । नेपालमा लगानीको वातावरण छ भनेर विश्व समुदायलाई संदेश दिने यो एउटा ऐतिहासिक अवसर पनि हो । सम्मेलनलाई सफल पार्ने कार्यमा सिंगो राष्ट्र नै लाग्नु पर्नेमा हाम्रो जोड छ ।

विगतको लगानी सम्मेलन र अहिलेकोमा फरक छ । विगतमा विदेशी लगानीकर्ताले स्थिर सरकार छैन, उपयुक्त नीति छैन, ऊर्जाको समस्या छ, शान्ति सुरक्षा छैन भन्ने गुनासो गर्थे । अहिले ती समस्या हल भएका छन् । विदेशी लगानीकर्तालाई सहज बनाउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) आएको छ । धेरै कानुनहरू नयाँ आएका छन र केहीमा सुधार भएका छन् । केही हुने क्रममा पनि छन् ।

अहिले नेपालले लगानीकर्तालाई लक्षित गरेर के कस्ता कानुन सुधार भए, त्यसले लगानीकर्तालाई के फाइदा पुग्यो, कसरी लगानीको सुरक्षा हुन्छ र नाफा लैजान सक्छ भन्ने विषयमा प्रस्ट पार्ने अवसर छ ।

लगानीकर्ताले खोज्ने भनेको सम्बन्धित देशमा लगानीमैत्री नीति छ कि छैन, वातावरण कस्तो छ, लगानीकर्ताले के सुविधा पाउँछन्, लगानीको ग्यारेन्टी छ छैन भन्ने नै हो । अर्को विसर्न नहुने कुरा भनेको विदेशी लगानी भित्रिने पनि यहाँका स्थानीय लगानीकर्ताको संयुक्त लगानीमा नै हो । यहाँका उद्यमी व्यवसायीहरू यहाँको वातावरणसँग सन्तुष्ट भए मात्रै उनीहरूले बैदेशिक लगानी र प्रविधि भित्र्याउन पहल गर्ने हुन र आन्तरिक लगानी परिचालन नगरी विदेशी लगानी भित्रिन सहज हुन्न । तसर्थ सरकारले स्वदेशी र विदेशी दुवै लगानीलाई सँगसँगै प्रोत्साहित गर्नुपर्छ ।

अहिले मुलुकका लागि ठूला पूर्वाधार आयोजनामा प्रत्यक्ष वैदेशिक लगानी आवश्यक छ । अन्तराष्ट्रिय विमानस्थल, सडक, फास्ट ट्रयाक, जलविद्युत, रेललगायतको क्षेत्रमा लगानी ल्याउन आवश्यक छ । पूर्वाधार विकास नभएसम्म औद्योगिक क्षेत्र र पर्यटनको विकास पनि सम्भव छैन ।

विगतको लगानी सम्मेलनमा भएको प्रतिवद्धताअनुरुप लगानी आउन नसकेको वास्तविकतालाई मनन गरी यस पटकको सम्मेलनलाई बढी परिणामदायी बनाउनु पर्ने र सम्मेलनपश्चात पनि एक स्थायी संयन्त्र खडा गरी त्यसलाई निरन्तर फलो अप गर्नु पर्ने हाम्रो सुझाव छ ।

मुलुकमा पर्याप्त औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता छ । उद्योग सञ्चालन गर्नका लागि जग्गा प्राप्तिको विषय अझै झन्झटिलो छ । औद्योगिक क्षेत्रको विकासमा लगानी बढाउनु पर्नेछ । निजी क्षेत्रको साथ नलिइकन सरकारले अपेक्षा गरेको विकास र समृद्धि सम्भव छैन । अहिले लगानी गरिरहेका उद्योगपति, व्यवसायीले थुप्रै समस्या भोगिरहेका छन् । स्थानीय, प्रदेश र संघीय सरकारको करको विषयमा समस्या देखिन्छ ।

यस्ता अन्योल हटाई स्वदेशी लगानीकर्ताको मनोवल उच्च बनाउन म सरकारलाई आग्रह गर्दछु । लगानीकर्ता १० वटा निकायमा जान नपरोस् भन्ने चाहन्छन् । एकद्वार प्रणालीबाट सेवा दिनुपर्यो । अझै पनि चन्दाको समस्या देखिएको छ । सरकारले यसलाई समयमै संवोधन गर्ने हाम्रो विश्वास छ ।

विदेशी लगानीकर्ता नाफा कमाएर लैजान यहाँ आउने हुन । त्यसका लागि नाफामा लाग्ने कर तिरेर सहज रुपमा आम्दानी लैजान सक्ने सुनिश्चिता सरकारले गरिदिनु पर्दछ । लगानीकर्तालाई आकर्षित गर्न सकेनौं भने लगानीका लागि नेपालमै आउनुपर्छ भन्ने केही छैन । यहाँ नभए उपयुक्त वातावरण भएको अन्य मुलुकमा गएर लगानी गर्न सक्ने स्वतन्त्रता लगानीकर्तामा भएकाले नेपालले वाह्य लगानी आकर्षणका लागि विशेष रणनीति अवलम्वन गर्नुपर्छ ।

खुल्ला अर्थतन्त्रमा सबै क्षेत्र फस्टाउनु पर्छ । पछिल्लो समय बैंक र उद्योगीबीच केही विवाद पनि देखियो । उद्योगी व्यवसायीले जोखिम लिएर नाफा कमाएर कर तिरेका छन् । करदातालाई सम्मानको व्यवहार हुनुपर्छ । सरकारले अनुगमन गरोस् । दोषी ठहर भएपछिमात्र कारबाही गरोस् ।

(नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल अन्तरराष्ट्रिय ब्यापार मेला २०१९ को उद्घाटन कार्यक्रममा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here