रहरै रहरले जन्मिएका गायक

जितेन्द्र खनाल

राजा महेन्द्रले पञ्चायत लादेर राजनीतिक वातावरण उकुसमुकुस बनाएको वि.सं. २०३० को दशकमा पाल्पाको माथागढीमा एक किशोर गाउँमा भेटिने जति बाजा संकलन गर्न र बजाउन उद्दत थिए ।

उनको पढाइ विग्रेला भनेर परिवारले बाजा बजाउने गीत गाउने जस्ता काममा खासै प्रोत्साहित नगरेकाले लुकीलुकी गाउने बजाउने गर्न थालेका थिए ।

एक पटक गाउँमा खरी झरेको मादल भेटियो अनि त्यो किशोरले आफूले मुश्किलले जम्मा गरेको दुई चार रुपैयाँ खर्चेर खरी हाले । तर घरमा लगेर मादल बजाउने हिम्मत गर्न सकेनन, अनि भकारीमा लुकाएर राख्यो । परिवारले चार महिनापछि मात्र उनले मादल लुकाएको चाल पाए ।

त्यही किशोर कालान्तरमा चर्चित गायक तथा संगीतकार मात्र बनेन्, परदेशीजस्तो उत्कृष्ट सिनेमा पनि उपहार दिए यही समाजलाई ।

‘नमुछे आमा दहीमा टिका, नछरे जमरा’ र ‘तिम्लाई नि टाढा, मलाई नि टाढा’ जस्ता सुपरहिट गीत दिएका चलचित्र परदेशीका निर्देशक नारायण रायमाझीको कथा हो यो ।

वि. सं. २०२० मा पाल्पामा जन्मिएका रायमाझी नेपाली लोक तथा दोहारी क्षेत्रमा रुचाईएका व्यक्ति हुन् ।

गाँउकै स्कुल १० कक्षासम्मको अध्ययन गरेका उनी उच्च शिक्षाका लागि भने काठमाडौं आए । चार दाजुभाई र दुई दिदी बहिनीवीच हुर्किएका उनी आफूले थाहा पाएदेखि नै गीत गाउने गरेको बताउँछन् ।

रेडियोमा बज्ने गीतले उनलाई सानैदेखि मोहनी लगाएको हो । रेडियोमा गीत बजेपछि उनी त्यसैत्यसै उतै तानिन्थे । कसले गाउँछ होला ? कसरी गाउँछ होला ? रेडियोभित्र यति राम्रो गीत गाउने मान्छेहरु कसरी अटाएका होलान् ?

जस्ता सवालहरु उनको कलिलो मस्तिस्कमा उठिरहन्थे । पछि काठमाडौंमा रेडियोको स्टेशन छ र त्यहीँबाट गीत बज्छ भन्ने थाहा पाएपछि उनलाई पनि एक दिन यसैगरी गीत गाउने रहर जागेको हो ।

‘एक पटक गाउँमा खरी झरेको मादल भेटियो अनि त्यो किशोरले आफूले मुश्किलले जम्मा गरेको दुई चार रुपैयाँ खर्चेर खरी हाले । तर घरमा लगेर मादल बजाउने हिम्मत गर्न सकेन, अनि भकारीमा लुकाएर राख्यो । परिवारले चार महिनापछि मात्र उसले मादल लुकाएको चाल पाए ।’

अण्डरग्राउण्ड गायकी

घरमा बुबा, ठूलो बुबा, हजुरबुबा सबैले गीत संगीतमा रुची राख्ने भएकोले केही सहज त थियो । गीत गाउन र बाजा बजाउन पाइन्थ्यो तर विद्यालय जाने नारायणलाई भने पढाइ बिग्रिन्छ भने त्यता लाग्न दिइएन । तर उनी पनि के कम ? लुकीलुकी बाजाहरु किन्थे । घरमा लुकाएर राख्थे र अनुकुल समयमा बजाउँथे ।

मेरो आफ्नै रुची र रहरकै कारण नै म आज यो स्थानमा छु । रुची र दृढ संकल्प भएपछि कुनै पनि कुराले रोक्न सक्दो रहेनछ । त्यसको उदाहरण म आफै हुँ, क्लाउडपत्रिकासँग गफिँदै उनले भने ।

पाल्पा मगर बाहुल्य जिल्ला । उनको वरीपरी पनि मगर गाउँ । मादल बजेको सुनेपछि घरमा बस्नै मन नलाग्ने । कहिलेकाँही घरसल्लाहमा जान्थे भने कहिले लुकीलुकी । केही बुझ्ने भएपछि आफूसँग कतैबाट जम्मा भएको पैसाले मुरली बाँसुरी, मर्चुङ्गा जस्ता बाजाहरु किन्न थाले उनले ।

त्यसैवीच गाउँमा उनले एउटा मादल भेटे । पुरानो मादलमा खरी समेत झरेको थियो । उनले पैसा जुटाएर मादलमा खरी हाले । तर घरमा लाने हिम्मत भएन, गाली खाइएला भन्ने डरले । तर पछि घरमा लगे अनि भकारीमा लुकाएर राखे । घरका मानिसले तीन महिना पछि भकारीमा मादल भेटेका थिए ।

समय बदलियो

अहिलेको परिवेश र पहिलेकोसँग कहाँ तुलना गर्न मिल्छ र ? अहिले उपत्यकामा मात्रै होइन्, उपत्यका बाहिर पनि गाउँगाउँमा गीतसंगीत सेन्टरहरु छन् । तर, नारायणको समयमा न सिक्ने ठाउँ थियो, न त परिवारबाट सहयोग नै हुन्थ्यो । गीत संगीतबाट पनि जीवन चलाउन सकिन्छ, पैसा कमाइन्छ भन्ने धारणा नै थिएन ।

त्यसकारण जे गरियो ती सबै रहरै रहरले गरिएको हो । काठमाडौं पनि रहरैरहरले आएँ । गीतसंगीत पनि व्यवसायिक बन्न सक्छ, यसैमा निर्भर हुन सकिन्छ, भोली जीवन सहज हुन्छ भन्ने चेत भएर यो क्षेत्रमा करीयर बनाउने निर्णय गरेका थिएनन् उनले । बस्, रुचीको कुरो थियो । त्यसले जता डोर्यायो उनी उतै लागे, कुनै प्रतिबाद नगरी ।

त्यसै पनि त्यो समयमा रेडियो नेपालमा पैसा खर्च गरेर गीत रेकर्ड गर्ने र नाम कमाउने चाहनाले मात्रै मानिसहरु आउथे ।

काठमाडौं यात्राः संघर्ष

उनी गाउँमै रहँदा पनि काठमाडौं आउने र गित रेकर्ड गर्ने चाहना प्रबल थियो । एसएलसीपछि दुई वर्ष उनी गाउँमै रल्लिए ।

२०४२ सालमा काठमाडौं आउँदा गाउँमा म जस्तो जान्ने केही छैन् जस्तो लाग्थ्यो । गाउँमा नारायण रायमाझीले कस्तो मिठो गीत गाउँछ भन्थे । मलाई पनि म त ठुलै कलाकार पो रहेछु भन्ने लाग्थ्यो । तर, काठमाडौं आएपछि बल्ल आफ्नो हैसियत थाहा भयो, उनी अतिततर्फ फर्किए ।

उनी बग्दै गएः

पटक पटक भ्वाईस टेस्ट हुन्थ्यो । गीत संगीतको पनि एउटा सुरताल हुन्छ, संगीत हुन्छ त्यो सबै कुराहरुलाई मिलाएर गीत बन्दो रहेछ । मलाई त केही थाहा पो रहेनछ भन्ने कुरा त बल्ल थाहा भयो ।

अनि बल्ल सिक्न थालियो, संगीतको औपचारीक शिक्षा बल्ल लिन सुरु गरें । गाउँमा पनि नाटक बनाउने, गीत बनाउने गीतिकथाहरु बनाउने, स्टेज शोहरु गर्ने जस्ता कामहरु भने गरिसकेको थिएँ । त्यो अनुभवले मलाई काठमाडौंको संघर्षमा ठूलो मद्दत गरेको थियो ।

रेडियो नेपालमा पुग्नै कठिन

काठमाडौं यात्रा एक हिसावमा कठिन नै रह्यो । न त उनका आफन्त कोही थिए, न त सहयोगी नै । सोर्स फोर्स थिएन भने परिचय त बनेकै थिएन । त्यसबेला नेपालमा गीत रेकर्ड गर्ने ठाउँ रेडियो नेपाल मात्रै थियो । तर, त्यहाँ पुग्न पनि ३÷४ वटा गेटहरु पार गर्नुपथ्र्यो ।

भर्खर गाउँबाट आएको ठिटो जो न बोल्न जानेको छ, न प्रक्रिया बुझेको छ । उनलाई भित्र पस्ने कुनै उपाय सुझेन । यसै वीचमा गायक लोकबहादुर क्षेत्री आइपुगे उनको हात समाउन ।

क्षेत्री एउटा आशा भए मेरा लागि । रेडियो नेपालमा उहाँको ड्युटी बेलुका ५ बजे सुरु हुन्थ्यो । उहाँको ड्युटीको समयमा गेटमा कुरेर बस्यो भने आफ्नो कार्ड देखाएर सँगै लैजानु हुन्थ्यो । उनी नभएको भए मेरो रेडियो यात्रा के हुन्थ्यो भन्न सक्दिन, उनले भने ।

भित्र पुगेपछि पनि त्यहाँ भ्वाईस टेस्ट गर्ने, भ्वाईस टेस्टमा ठिक छ भने पनि आफ्नो पालो आएपछि मात्रै गीत प्रशारण हुने व्यवस्था थियो । वर्षमा २-४ पटक रेडियोमा गीत बज्नु धेरै ठूलो कुरा थियो त्यसबेला । त्यहाँसम्म पुग्नको लागि मेहनत गर्नुपथ्र्यो । गाउँबाट आउनेहरुको लागि त्यो वातावरण अत्यन्त प्रतिकुल र संघर्षपूर्ण हुने नै भयो ।

तर, जति संघर्ष गरेर भएपनि संगीतमा अघि बढ्छु भन्ने हिम्मत नारायणमा थियो । एउटा गायक कलाकार नै बन्नुपर्छ भन्ने सोचले संघर्ष गरिरहे । यसमा आफ्नो जीवन चल्छ चल्दैन भन्ने कहिल्यै सोचेनन् । त्यसबेला गायकहरुको राम्रै लोकप्रियता थियो तर जीवन निर्वाह यसबाट हुन्छ भन्ने ग्यारेण्टी भने थिएन ।

पहिलो रेकर्ड आफैलाई मन परेन

सुरुमा गीत रेकर्ड गरेपछि दशैंको लागि उनी घर गए । गीत कुन समयमा बज्छ भन्ने उनलाई थाहा थियो । आज मेरो गीत रेडियोमा गीत आउँछ भनेर गाउँका सबैलाई सुन्न आउने निम्ता दिए उनले । त्यो गीत उनी आफैले पनि सुनेका थिएनन् । अहिलेको जस्तो रेकर्ड गर्नासाथ सुन्ने सुविधा त्यसबेला थिएन । त्यसैले उनी गीत रेकर्ड गरेर पाल्पा गएका थिए ।

सबै साथी र आफन्त उनको गीत सुन्न आतुर थिए । आफूले धेरै राम्रो गाएको भनेर सबैलाई सुन्न बोलाएको गीत रेडियोमा बज्दा भने उनलाई आफ्नो स्वर नै मन परेन । उनलाई पछुतो लाग्यो । धत्, बेकार गाएछु भन्ने लाग्यो ।

रेडियो बन्द गर्न मिल्ने भए म रेडियो नै बन्द गरिदिन्थें । तर, सबै ठाउँमा प्रशारण भएको रेडियो त बन्द हुँदैन । अरुको गीत कस्तो राम्रो सुनिन्थ्यो तर मलाई आफ्नो गीत सुनेपछि लाज लाग्यो, उनले भने ।

उनको त्यो गीत त्यस समयको चर्चित कार्यक्रम प्रतिभा साँझका लागि रेकर्ड गरिएको थियो । त्यो घटनापछि उनले थाहा पाए, सिक्न त धेरै बाँकी रहेछ । यस्तो कुरामा रहर गरेर मात्र नहुने रहेछ ।

त्यसपछि उनले प्रशिक्षण लिएर मात्रै गाउँछु भन्ने अठोट गरे । अनि बल्ल हार्मोनियम किने, साधना र मेहनत गरे र मात्रै अर्को गीत गाए । अहिले पनि आफ्ना पुराना गीत सुन्दा असहज महसुस गर्छन नारायण ।

कार्गिल युद्धमा जन्मिएको गीत ʻनमुछे आमा दहीमा टीका…ʼले चिनायो

उनी सन् १९९९ मा भारत पाकिस्तानबीच भएको ‘कार्गिल युद्ध’ लडेका थिए । सोही समयमा उनले यो गीत रचना गरेको नारायण बताउँछन् ।

झण्डै २ दशक अगाडि दाइले शब्द लेखेर पठाएको गीत नारायणले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराए । शुरूमा गीतले त्यति चर्चा पाएन् ।

पछि २०५७ सालमा दृष्टिविहीन गायक कृष्णभक्त राईले आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलियो । नारायणले कल्पना पनि गरेका थिएनन् कि गीतले यति धेरै चर्चा पाउँछ । रेडियो, टेलिभिजनमा यति धेरै स्थान पाउँछ ।

उनी भन्छन्– ʻशुरूमा मैले गाउँमा त्यति नचलेको गीत पछि यति धेरै चल्यो कि जुन मेरो कल्पनाभन्दा धेरै बाहिरको कुरा थियो ।ʼ

नारायणले गाएको पहिलो गीत लाहुरेको गीत थियो ।

मलाई सम्झी रेलीमै, नरौउ है आमा
तिम्रो छोरो रेलीमै, जीउदै छ रनमा

यो गीतले गाउँमा पनि निकै चर्चा कमाइसकेको थियो । हाम्रा देशका वीर गोर्खाली भनेर चिनिने भारतीय सेनामा कार्यरत नेपालीहरुको कथामा यो गीत लेखिएको थियो । यो असाध्यै लोकप्रिय पनि भयो ।

त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । ‘नमुछे आमा दहीमा टिका, नछरे जमरा’ले रातारात उनलाई लाखौं नेपालीले चिन्ने बनायो । उनको स्टारडम चुलियो । ‘तिम्लाई नि टाढा, मलाई नि टाढा’जस्ता गीतले उनको प्रतिभालाई अझ उजागर गर्यो । ‘लाइछौ बेसन’ले त झन उनलाई युवायुवतीको समेत ढुकढुकी बनाइदियो ।

फर्की चाँडै आउ दाजु घर, हाँसेर बोलिदेउ माया जस्ता सफल र लोकप्रिय गीत पनि उनैले दिएका हुन् ।

संभवत गीतसंगीत क्षेत्रबाट चलचित्रमा लागेर सफल हुने थोरै मध्येमा पर्छन नारायण । उनले बनाएका गोर्खा पल्टन र परदेशी दुवै सफल चलचित्र हुन् जसले काठमाडौं उपत्यकामै प्रदर्शनको ५१ औं दिन मनाएका थिए । र, उनका चलचित्रको कहानी पनि उनका गीतमा झैं घर छाडेर मुग्लान पुगेका युवा र उनीहरुको परिवारको कथामा नै आधारित छन् ।

एल्बम निस्केपछि मात्रै कमाई

सुरुमा रहरै रहरमा आएको म एल्बमहरु निस्कीएर बिक्री हुन थालेपछि मात्रै कमाई पनि हुने रहेछ भन्ने उनले थाहा पाए । अरुको रेकर्डमा पनि म्यानेज गर्ने, संगीत भर्ने, बाद्यबादक बन्ने काम गरे उनले । त्यसपछि मात्रै यसमा पनि कमाई रहेछ भन्ने कुराको अनुभव हुन थाल्यो ।

लोक दोहोरीमा नयाँ ट्रेण्ड

पहिलेको भन्दा नयाँ विचार र ट्रेण्डहरु देखिन थालेका छन् । नयाँ पुस्तालाई सिकेर, बुझरेर, मेहनत गरेर र भविष्य देखिन्छ भने मात्रै यस क्षेत्रमा आउनुपर्छ भन्न चाहन्छन् उनी ।

रियालीटी शोहरुबाट आएका गायकहरु पनि निकै राम्रा प्रतिभा भएको उनी बताउँछन् । उनीहरुको भविष्य पनि उज्वल छ । निरन्तरता पनि हुनुपर्छ । निरन्तरता नभएमा बिचमै हराउने पनि गर्छन् । गायन र सिर्जनशीलता पनि आवश्यक हुन्छ । आफूमा सिर्जनशीलता भएन् भने अरुले दिएको गीतले मात्रै यो क्षेत्रलाई निरन्तरता दिन सकिदैन्, उनी भन्छन् ।

संस्कृतीको जर्गेनामा सरकारको ध्यान कम

सरकारले संस्कृती मन्त्रालय स्थापना गरे पनि संस्कार र संस्कृतीको जर्गेना भने गर्न सकेको उनले देखेका छैनन । आफ्ना गीतसंगीत र कलासंस्कृतिको मौलिकता जोगाउन सरकारले विशेष प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

नारायण रायमाझीका चर्चित गीतहरु

नमुछे आमा दहीमा टिका,
रामदी पुल
तिम्लाई नि टाढा, मलाई नि टाढा
लाईचौ बेसन
हे मेरी आमा
फर्की चाडै आउदाजु घर
पसिनाले पैसा साटेर
निरमाया ठुली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here