धितोपत्र बोर्डले पायो ओईसीडी–वित्तीय शिक्षा सञ्जालको सदस्यता

काठमाडौं, २१ चैत । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्थिक विकास तथा सहायता संगठन (ओईसीडी) को अन्तरराष्ट्रिय वित्तीय शिक्षा सञ्जालको (आईएनएफई) को पूर्ण सदस्यता प्राप्त गरेको छ ।

सेबोन यस्तो सदस्यता पाउने पहिलो नेपाली निकाय बनेको छ ।

‘नेपालमा वित्तीय साक्षरता न्यून रहेको सन्दर्भमा विश्वव्यापी रुपमा वित्तीय साक्षरतासम्बन्धी कार्य गर्ने गरी स्थापित उक्त संस्थाको सदस्यता लिएका छौं । यसले पछिल्लो समय वित्तीय क्षेत्रमा विकास भएका नवीनतम ज्ञान तथा प्रविधिको जानकारी भई देशमा वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमलाई समन्वयात्मक तथा स्तरीय रुपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास छ,’ बोर्डले भन्यो ।

वित्तीय साक्षरताको महत्वलाई आत्मसात गर्दै यस सम्बन्धी गतिविधि विस्तार गर्न एक विशिष्ट संस्थाको योजना गरे अनुरुप सन् २००८ मा ओईसीडीले सञ्जालको स्थापना गरेको हो । यसले साना तथा मझौला व्यवसाय, वित्तीय समावेशिता, युवा तथा महिला वर्ग, दीर्घकालिन बचत तथा लगानी लगायतका विविध क्षेत्रहरुमा वित्तीय साक्षरता अभिवृद्धिका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

हाल यस संस्थामा विश्वका ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्यको रुपमा रहेका छन् भने नियमित सदस्यतर्फ ९५ देशका १७२ संस्थाहरु रहेका छन् । पूर्ण सदस्यता पाएको बोर्डले उक्त संस्थाको प्राविधिक समिति, सल्लाहकार समिति तथा विभिन्न कार्यगत समूहमा सहभागी भई सञ्जाल र यस अन्तर्गत सञ्चालन हुने वित्तीय साक्षरतासम्बन्धी गतिविधिको सञ्चालन तथा स्तर अभिवृद्धिमा सक्रिय सहभागिता देखाउन सक्नेछ ।

यसबाट वित्तीय साक्षरतासम्बन्धी अन्तर्राष्ट्रिय गतिविधि तथा वित्तीय साक्षरताको स्तर अभिवृद्धिमा बोर्डको समेत पहुँच विस्तार भएको उसले बताएको छ ।

अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन नेपालमा

सदस्यता प्राप्तिसँगै बोर्ड र सञ्जालको संयुक्त आयोजनामा आगामी जुलाई २–३, २०१९ (२०७६ असार १७–१८) मा दुई दिनको ओईसीडी – विकासशील मुलुकहरुमा वित्तीय शिक्षा तथा वित्तीय उपभोक्ता सुरक्षा, नेपाल सम्मेलन आयोजना हुँदैछ । सो प्रथम अन्तर्राष्ट्रियस्तरको वित्तीय साक्षरता सम्मेलनको तयारी भइरहेको बोर्डले बताएको छ ।

दक्षिण एशियाली मुलुकसहित विश्वका अन्य विभिन्न मुलुकका करीब १ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको उक्त कार्यक्रममा समावेशी वृद्धिका लागि वित्तीय शिक्षा र उपभोक्ता सुरक्षा, बाल्यकालदेखि वित्तीय जोखिमको न्यूनीकरणजस्ता विषयमा छलफल हुने छ ।

यस सम्मेलनमा हुने छलफल तथा अन्तरक्रियाबाट वित्तीय प्रणालीमा विकास भएका नयाँ आयाम, प्रविधि तथा अभ्यासहरुको बारेमा अनुभव आदान प्रदान भई नेपालमा वित्तीय साक्षरता अभिवृद्धि गर्न सहयोग पुग्ने सेबोनको भनाइ छ ।

साथै, हाल नेपाल सरकारले वित्तीय साक्षरता रणनीति (२०७५/७६–२०७७/७८) मार्फत् मुलुकमा वित्तीय साक्षरता अभिवृद्धिका लागि पहल गरिरहेको सन्दर्भमा समेत यो सम्मेलन विशेष उपयोगी हुने विश्वास बोर्डले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here