चीनको लगानी बीआरआई केन्द्रित, ठूला लाभग्राहीमा नेपाल छैन

काठमाडौं, २४ चैत । चीनले आफूले प्रवाह गर्ने अन्तरराष्ट्रिय सहयोग ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) प्रभावित क्षेत्रमा केन्द्रित गर्न थालेको छ ।

सन् २०१४ देखि २०१८ सम्मको पाँच वर्षे अवधिमा चीनको कुल अन्तरराष्ट्रिय सहयोग १० खर्ब अमेरिकी डलर मध्येको आधाभन्दा बढी बीआरआई क्षेत्रमा गएको छ ।

सो सहयोग चीनले १ सय ३० देशका १ हजार ७ सय परियोजनामा लगानीको स्वरुपमा खर्च गरेको वाशिङटन डीसीस्थित थिंक ट्यांक संस्था अमेरिका इण्टरप्राइज इन्स्टिच्युट (एईआई)ले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको अवधारणामा सन् २०१३ मा लागु गरिएको बीआरआई चीनको महत्वाकांक्षी परियोजना हो जसले प्राचित सिल्क रुटको अवधारणालाई ब्युँताउने लक्ष्य लिएको छ ।

एईआईका अनुसार बीआरआई कार्यान्वयनमा आएपछि चीनबाट बाहिरिने प्रत्यक्ष लगानी झण्डै दोब्बर भएको छ । सन् २०१४ पछिका तीनवर्ष त्यस्तो लगानी २ खर्ब डलरभन्दा बढीले माथिगएको छ ।

उदीयमान अर्थतन्त्रहरुले बीआरआई र त्यस पछिको लगानीबाट प्रत्यक्ष लाभ लिएका छन् । यस क्षेत्रका ९५ मुलुकहरुमा चीनको लगानी पुगेको पनि एईआईको निश्कर्ष छ ।

तर, गैर बीआरआई सहयोगको महत्वपूर्ण हिस्सा भने विकसित मुलुकतर्फ गएको उसको भनाइ छ । त्यस्तो लगानी अमेरिका, अष्ट्रेलिया जस्ता अति विकसित मुलुक छन् । तर, बीआरआई लागु भएपछि चिनको प्रत्यक्ष लगानी अतिविकसित मुलुकबाट विकासशील देशतर्फ मोडिएको छ ।

चीनले ऊर्जा र यातायात पूर्वाधारको विकासमा सबैभन्दा बढी लगानी गरेको छ । बीआरआई क्षेत्रमा पहुँच र ब्यापार विस्तार गर्ने उद्देश्य अनुरुप यस्तो भएको विज्ञहरु बताउँछन् । बीआरआई अवधारणा लागु भए पछि ऊर्जा र पूर्वाधारका निकै ठूला योजनाहरु घोषणा र कार्यान्यवयन गर्ने क्रम बढेको देखिएको छ ।

त्यसैगरी ठूलो लगानी पाउने अन्य क्षेत्रहरुमा रेलवे, अटोमोबाइल, कोइला, निर्माण र पेट्रोलियम रहेका छन् ।

पाकिस्तान ठूलो लाभग्राही

चीनले बीआरआई क्षेत्रमा लगानी बढाए पनि त्यसको लाभ नेपालले भने पाउन सकेको छैन । सन् २०१४ देखि २०१८ सम्ममा चीनले गरेको लगानीको सबैभन्दा ठूलो हिस्सा पाकिस्तान गएको छ ।

सो पाँच वर्षको अवधिमा चीनले पाकिस्तानमा ५१ परियोजनामा ४० अर्ब डलर सहयोग गरेको छ ।

त्यसपछि ठूलो सहयोग पाउनेमा नाइजेरिया ३१ अर्ब डलर, मलेसिया ३० अर्ब डलर, सिंगापुर २८ अर्ब डलर, इन्डोनेसिया २६ अर्ब डलर, रुस २४ अर्ब डलर, बंगलादेश २३ अर्ब डलर र युएई २१ अर्ब डलर छन् । नेपाल भने टप टेनमा पनि आउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here