मनसुनको जोखिमबारे पूर्वसूचना अब मोवाइलमै

काठमाडौं, २५ चैत । सरकारले मनसुनको जोखिमबारेको पूर्व सूचना मोबाइलमै दिने गरी तयारी थालेको छ । विपदको पूर्व सूचना धेरै जनतासम्म पुर्याएर जोखिमबाट उनीहरुलाई जोगाउने र क्षति कम गर्ने प्रयासस्वरुप यस्तो तयारी थालिएको हो ।

मनसुनको समयमा हुने जोखिम न्यूनीकरणका लागि मनसुनसम्बन्धी पूर्वसूचना दूरसंचार सेवा प्रदायक कम्पनीमार्फत जनतासम्म पुर्याउने व्यवस्था मिलाउन जल तथा मौसम विज्ञान विभागलाई काम थाल्न सरकारले निर्देशन दिएको छ ।

गृह मन्त्रालय, राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्रको बैठकले विभागलाई मनसुनको समयमा प्राप्त हुने सूचनालाई दुरसंचार सेवा प्रदायक मार्फत प्रवाह गरी सूचनालाई धेरै भन्दा धेरै जनतासमक्ष पुर्याउन र जनधनको क्षति कम हुने व्यवस्था मिलाउन भनेको हो ।

यसको सहजीकरणका लागि गृह मन्त्रालयले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रालयले जल तथा मौसम विज्ञान विभागसँग जल तथा वर्षा मापन केन्द्रमा रहेका जल तथा वर्षा मापन उपकरण चालु अवस्थामा राख्न पनि निर्देशन  दिएको छ ।

राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्रले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सम्भावित विपद्लाई ध्यानमा राख्दै विभिन्न रणनीतिक स्थानहरुमा तालीमप्राप्त जनशक्ति राख्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ । मनसुनका समयमा बाढी पहिरोबाट पूर्वाधार तथा भौतिक सम्पत्तिमा हुन सक्ने सम्भावित क्षति तथा राजमार्ग, खानेपानीका पाइप जस्ता लाइफ लाइनको क्षति न्यूनीकरण गर्न यी स्थानमा हेभी इक्विपमेन्टसहितको टोली तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन भौतिक मन्त्रालयलाई अनुरोध गरेको छ ।

केन्द्रको बैठकले गरेका निर्णय यस्ता छन् :

  • आगलागी तथा बाढी पहिरो जस्ता विपदका घटना र सोबाट हुन सक्ने सम्भावित जोखिम र क्षतिका सम्बन्धमा जनचेतना फैलाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत निकायले समन्वय गर्ने निकायलाई अनुरोध तथा मातहतका जिल्ला तथा स्थानीय तहमा रहेका निकाय तथा कार्यालयलँई विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्न निर्देशन दिने ।
  • प्रदेश र स्थानीय स्तरमा पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा, आवश्यक आपतकालिन उद्दार तथा राहत क्षमता विकास गर्न अनुरोध गर्ने ।
  • जिल्ला विपद् व्यवस्थापन समिति तथा विपद् व्यवस्थापन समितिहरुले आगलागी तथा बाढी, पहिरोको प्रभावबाट सुरक्षित रहने उपायका सम्बन्धमा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने सबै सरकारी तथा गैरसरकारी संघसंस्था समेतलाई आमन्त्रण गरी पूर्वतयारी गर्ने र पूर्व प्रवन्ध बैठक तुरुन्तै राख्न पत्राचार गर्ने ।
  • विपद् व्यवस्थापनका क्षेत्रमा सम्बन्धित जिल्लामा रहेका विभिन्न निकाय तथा संघसंस्थाहरुलाई बाढी पहिरो रोकथाम तथा उद्दार सम्बन्धी पूर्व तयारीमा सक्रिय बनाउने । सबै जिल्लामा मनसुनसम्बन्धी कार्ययोजना बनाई सम्भावित जोखीमलाई न्यूनिकरण गर्न तयारी अवस्थामा रहने
  • मनसुनका समयमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारका सरोकारवाला मन्त्रालयहरु तयारी अवस्थामा रहन तथा प्रदेश स्तरीय मन्त्रालय र स्थानीय सरकारलाई तयारी अवस्थामा रहन अनुरोध गर्ने
  • सम्भावित विपद्का घटनाका समयमा र घटना पश्चात आइपर्ने स्वास्थ्यसम्बन्धी अवस्थालाई काबु बाहिरको परिस्थितिमा जान नदिन आवश्यक उपकरण तथा औषधिहरुको पर्याप्त व्यवस्था सहित जनशक्ति तयारी अवस्थामा राख्न र राख्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here