एन्टीबायोटिक विश्वलाई चुनौतीपूर्ण, किन आउँदैछ ह्रास ?

काठमाडौं, ११ फागुन । ब्याक्टेरिया बिरुद्धको एन्टीबायोटिकको प्रतिरोधक क्षमतामा ह्रास अहिले विश्वमा चुनौतीपूर्ण विषय बनेको छ ।

विभिन्न कारणले गर्दा एन्टीबायोटिक खाए पनि ९० प्रतिशत मात्रै ब्याक्टेरिया मर्छन् । १० प्रतिशतले विशेष गुण आर्जन गर्ने हुँदा पुनः त्यहि एन्टिबायोटिकले काम गर्न छोडेको अनुसन्धान कर्ताहरुले जनाएका छन् । केही ब्याक्टेरिया जसले गम्भीर रोग निम्त्याउँछन् ।

तिनिहरुमा पनि एन्टीबायोटिक रेसिस्टेन्ट आइसकेको छ । जस्तै क्षयरोग, यौनजन्य रोग, फोक्सोमा लाग्ने रोग टाइफाइड लगायतका रोगमा पनि रेसिस्टेन्ट देखिन थालिसकेको छ ।

कतिपय मानिस विभिन्न रोगले ग्रसित हुन्छन् । जुन रोग एन्टीबायोटिकले ठीक पार्ने हुन सक्छ । यस्तो रोग लागेको अवस्थामा औषधि उपचारको क्रममा यदि मानिस मरिहाल्यो भने एन्टीबायोटिकले काम नगरेर हो भन्ने भ्रम रहेको पाइन्छ ।

चिकित्सकहरुको अनुसार एन्टीबायोटिकले ब्याक्टेरियालाई पूर्णरुपमा मार्न नसक्ने अवस्था त्यतिबेला हुन्छ, जतिबेला बिरामीलाई डाक्टरले रोगको प्रकृति हेरेर पाँच दिनको औषधि दिन्छन् । तर बिरामीले लगातार तीन दिनसम्म खाएर निको भएको महसुस गर्छन् र औषधिको मात्रा पूरा नगरी बिचमै छोडिदिन्छन् ।

अमेरिकाले शक्तिशाली एन्टीबायोटिक बनायो

अमेरिकामा वैज्ञानिकहरूले अत्यन्त खतरनाकमध्येका केही थरी ब्याक्टेरियालाई नष्ट गर्न सक्ने क्षमता भएको नयाँ किसिमिको शक्तिशाली एन्टीबायोटिक पत्ता लगाउन आर्टिफिशल इन्टेलिजन्सको सहयोग लिएको बताएका छन्।

विज्ञहरूले यसलाई ठूलो उपलब्धि मानेका छन्।

एमआईटी संस्थाका अनुसन्धानकर्ताहरूले ब्याक्टेरियालाई मार्न सक्ने अणुहरू पहिचान गर्न एल्गरिदमलाई प्रशिक्षित गरेका छन्।

उक्त ज्ञानको सहयोगबाट उनीहरूले मानिसलाई लाग्ने विभिन्न रोगको उपचारमा प्रयोग हुने ६,००० भन्दा धेरै थरीका यौगिकको अध्ययन गरे।

त्यसपछि केही घण्टामै उक्त एल्गरिदमले ह्यालिसीन नामक यौगिकको शक्तिशाली एन्टीबायोटिकको रूपमा सम्भाव्यता उजागर गरिदियो।

वैज्ञानिकहरूको नयाँ खोजलाई विज्ञहरूले औषधिप्रतिरोधसम्बन्धी समस्या समाधानतर्फ महत्त्वपूर्ण विकास भनेर स्वागत गरेका छन्।

उक्त एल्गरिदमको सहयोगमा वैज्ञानिकहरूले केही दिनभित्रै दशौँ करोड रासायनिक यौगिकको विश्लेषण गर्न सके।

नयाँ पत्ता लागेको यौगिकले घातक हुन सक्ने ३५ थरी ब्याक्टेरियालाई मार्न सकेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

केही वर्षयता एन्टीबायोटिक प्रतिरोधी सङ्क्रमणका घटना बढेका छन्।

जथाभावी एन्टीबायोटिक प्रयोग गर्दा शरीरभित्र रहने हानिकारक ब्याक्टेरियाले त्यसको प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्छन्। अर्थात् चाहिएको बेला औषधिले काम गर्न सक्दैन।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई विश्व स्वास्थ्य सुरक्षा तथा विकासले सामना गरेको सबभन्दा ठूलो खतरामध्ये एक मानेको छ।
बिबिसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here