बिक्नै छाड्यो रेडियो सेट, व्यावसायी भन्छन् वर्षमा ५/७ वटा बेच्नै मुस्किल

जितेन्द्र खनाल

काठमाडौं, १२ फागुन । रेडियो सुन्न रेडियो सेटमै भर पर्नुपर्ने अवस्था फेरिएको छ ।

रेडियो स्रोताको रोजाईमा माध्यम रेडियो सेट पर्न छोडेपछि वि.सं.२००७ सालबाट सुरुवात भएको नेपाली रेडियोको यात्रा अब विस्तारै ओराला लाग्दै गएको छ ।

धेरैले आफ्नै मोबाइल फोनको प्रयोग गरी रेडियो सुन्न थालेका छन् । काठमाडौं उपत्यकामा रेडियो सेटको व्यापारमा विस्तारै कमी आइरहेको कुरा व्यवसायीहरु बताउँछन् । डिजिटल मिडियाको प्रभावमा रेडियो सेटहरु पर्न थालेका छन् ।

विभिन्न प्रकारका ग्याजेटहरु मोवाईल, टेलिभिजन, ब्लुटुथ स्पिकरहरु तथा अन्य विभिन्न प्रकारका ग्याजेटहरुमा पनि रेडियो बज्ने व्यवस्था भएपछि रेडियो सेट बिक्न छाडेको कुरा महाबौद्धमा विगत ७ वर्षदेखि रेडियो बेच्दै आएका अन्नपुर्ण स्पिकर हाउसका मिनेश तुलाधार बताउँछन् ।

‘मैलै रेडियोको व्यापार गर्न थालेको ७ वर्ष भयो, हरेक वर्ष रेडियो सेटको व्यापार घट्दो क्रममा नै रहेको छ’ उनले भने, ‘अब हरेक ग्याजेटमा रेडियो अट्याच भएर आउन थालेपछि छुट्टै पैसा किन तिर्ने भन्ने हुन्छ नि त्यसकारण व्यापार घटेको जस्तो लाग्छ ।’

कति छन् नेपालमा रेडियो स्टेशन ?

नेपालमा इजाजत प्राप्त एफएम रेडियोको संख्या ७ सय ४० पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्याङ्क छ ।

सरकारबाट प्रसारण अनुमति पाएका ७ सय ४० वटै रेडियो प्रसारणमा नभए पनि धेरैजसोले प्रसारण गरेका छन् । तीमध्ये अनलाइनमा समेत सुन्न सकिने, अनि मन परेका कार्यक्रम डाउनलोड गरी सुन्ने प्रविधिमा गएका छन् ।

सूचना प्रविधिका विभिन्न माध्यमको विकाससँगै रेडियो सुन्ने शैली फेरिएको छ ।

पहिले रेडियो सेटमा मात्रै बज्ने रेडियो अहिले मोबाइल, इन्टरनेट, एप्लिकेसन, फेसबुक, ट्विटरलगायत माध्यमबाट सुनिन थालेको छ ।

नयाँ प्रविधि अनुकूल आफ्नो सेवा विस्तार गर्न सफल भएका रेडियोले स्रोता कमाउन सफल छन् । खर्चिलो पनि नहुने अनि बिजुली नपुगे पनि सहजै बज्ने रेडियो हरेक नागरिकको पहुँचमा छ ।

काठमाडौं उपत्यकाको मात्रै कुरा गर्ने हो भने ४१ वटा भन्दा धेरै रेडियो स्टेशनहरु दर्ता भएका छन् जसमा ३० भन्दा बढी त नियमित रुपमा प्रशारणमा नै आउछन् ।

तर,नियमित रुपमा रेडियो सुन्ने श्रोताको संख्यामा भने कमी आएको सहजै अनुमान गर्न सकिन्छ । काठमाडौंका घरहरुमा आजभोली कमै मात्रामा रेडियो सुनिन्छन् ।

व्यवसायी भन्छन् वर्षमा ५/७ वटा मात्रै बिक्छ

रेडियो व्यापारीहरुको अनुसार रेडियो सेटको व्यापारमा वार्षिक भारी मात्रामा कमी आईरहेको छ । आजभन्दा ५ वर्ष अघिसम्म वार्षिक धेरै रेडियो बेच्ने महाबौद्धका डिको रेडर्स हाउसमा रेडियो बेच्ने रेडियो व्यवसायी मनित बिष्ट अहिले वर्षमा ५/७ वटा रेडियो बेच्न पनि निकै गाह्रो भएको बताउँछन् । ।

‘धेरै अघिको कुरा पनि होईन् आजभन्दा मात्रै ५ वर्षअघिसम्म रेडियो सेटको बजार राम्रै थियो’ उनी भन्छन्, ‘तर, बिचमा के भयो खै रेडियो सेटको व्यापार ठप्पै भयो । अहिले त वर्षमा ५/७ वटा बेच्नपनि निकै गाह्रो छ ।’

हरेक घरमा मोवाइल फोनको पहुँच पुगेको र त्यसमा नै सबै व्यवस्था भएको कारण पनि रेडियो सेटको बजार खस्किएको विष्टको भनाई छ ।

‘अब तपाईं आफै विचार गर्नुन् नेपालमा कति घर होला मोवाइल फोन भएको, हरेक मान्छेपिच्छे फोन हुन्छ’ उनले भने, ‘त्यसकारण रेडियो सेट छुट्टै किन किन्छ र ?’

आमा बुबाको लागि किन्ने धेरै

रेडियो सेट किन्नेहरुले पनि आफ्नो लागि भन्दापनि गाउँमा लानको लागि किन्ने गरेको कुरा न्यूरोडका समृद्धि इलेक्टोनिक्सका रेडियो व्यवसायी रमेश महर्जन बताउँछन् । ।

‘काठमाडौंमा बस्ने भर्खरका यूवाहरुले त रेडियो सेट किन्दैनन्, उनीहरुलाई त्यसको चासो नै छैन्’ उनी भन्छन्, ‘केही मानिसहरु किन्न आउछन् घरमा आमाबुबालाई लैदिने हो अल्ली बलियो दिननु भन्छन् ।’