घर जग्गा व्यवसाय गर्न धितो मूल्यांकनको ५० प्रतिशत ऋण

काठमाडौं, ३० फागुन । काठमाडौं उपत्यकामा घर जग्गा व्यवसाय गर्न ऋण लिदा सो घर वा जग्गाको धितो मूल्यांकनको ५० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले यसअघि गरेको व्यवस्थामा परिवर्तन गर्दै नयाँ नियम सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकले विहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई टेकेर बैंक तथा वित्तीय संस्थाहरुलाई औपचारिक रुपमा जारी गरेको सर्कुलरमा उक्त कुरा उल्लेख गरेको छ ।

यसअघि यस्तो कर्जाको सीमा ४० प्रतिशत थियो । काठमाडौं उपत्यकाको हकमा भने धितो मूल्यांकनको ६० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ ।

व्यावसायिक फार्म तथा कम्पनीलाई कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपरेपनि व्यक्तिगत कर्जा र २ करोड भन्दा माथिको कर्जाका लागि अनिवार्य रुपमा कर चुक्ताको प्रमाण पेश गर्नु पर्ने प्रावधान रहेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुमा ५० लाख रुपैयाँसम्मको ऋण लिन चाहने कम्पनी तथा फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई औपचारिक रुपमा सर्कुलर जारी गरेपछि कर्जा लिने र नवीकरण गर्नेले कर चुक्ता प्रमाणपत्र पेश गर्नु नपर्ने भएको हो ।

यसअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सैद्धान्तिक रुपमा उल्लेख गरे पनि यो लागू भएको थिएन । गत २ फागुनमा अर्धवार्षिक समीक्षा जारी हुनुभन्दा अघिसम्म कर चुक्ता प्रमाणपत्र पेश गरेपछि मात्रै ऋण लिन पाइने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले यसअघिको एकीकृत निर्देशनको बुँदा नम्बर ३१ लाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले फर्म वा कम्पनीहरुलाई ५० लाख रुपैयाँसम्मको कर्जा प्रदान गर्दा वा नवीकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र वा अद्यावधिक कर चुक्ता प्रमाणपत्र लिन अनिवार्य हुने छैन भनी उल्लेख गरेको छ ।

राष्ट्र बैंकले ल्याएको निर्देशिकाले कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेपछि व्यावसायिक फर्मलाई ऋण लिनका लागि कठिन भएको थियो ।

यस्तै, ५० लाख रुपैयाँभन्दा बढी र २ करोड रुपैयाँसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला उद्योग/पेश/व्यवसायको लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान वा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

यसअघि यस्तो कर्जाको लागि कर दाखिला कागजातको साथसाथै कर चुक्ता प्रमाणपत्र वा अध्यावधिक कर चुक्ता/दाखिला प्रमाणपत्र चाहिने व्यवस्था थियो ।

कृषि, पर्यटन एमब साना तथा मझौला उद्योग/पेशा/व्यवसायकाभन्दा बाहेकमा र २ करोड रुपैयाँभन्दा बढीको कर्जा लिने वा दिएको कुनै पनि फर्म वा कम्पनीलाई कर्जा प्रदान वा नवीकरण गर्दा ऋणीसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र लिएर मात्र कर्जा प्रदान वा नवीकरण गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यसैगरी आफ्नै प्रयोजनको लागि निर्माण तथा खरिद गरिने पहिलो घर कर्जाको लागि भने करयोग्य आयको हकमा कर दाखिला कागजातको आधारमा कर्जा लिन वा नवीकरण गर्न सकिने पनि सर्कुलरमा उल्लेख छ ।

यसरी कर्जा लिदा वा नवीकरण गर्दा ऋण भुक्तानी आम्दानी अनुपात बढीमा ६० प्रतिशत बनाउन पाइने भएको छ । अर्थात मासिक आम्दानीको ६० प्रतिशतसम्म कर्जाको किस्ता हुने परिमाण बराबरको ऋण लिन पाइने भएको छ । यसअघि यस्तो किस्ता बढीमा ५० प्रतिशत मात्रै बनाउन पाइने व्यवस्था थियो ।

कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्थामा आवश्यकताअनुसार पुनरावलोकन गरिने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here