कोरोना त्रासबीचको सफलता, कुन आयोजनाको काम कति ?

फाइलफोटो

काठमाडौं, ४ चैत । चीनको वुहानसहितका सहरमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा निर्माणाधीन आयोजनाहरुमा प्रभाव परेको छ । अधिकांस ठूला आयोजनाहरुमा चिनियाँ कामदार नै रहेको कारण प्रत्यक्ष प्रभाव परेको छ।

चिनियाँ नयाँ वर्ष मनाउन घर फर्किएका चिनियाँ कामदार कोरोनाका आउन नपाएपछि नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा गम्भीर असर परेको देखिन्छ । तर केहि अयोजनाहरुमा भने धमाधम काम भैरहेको छ ।

कोरानाको त्रासकै बीच राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् , मेलम्ची खानेपानीको काम तीव्र रुपमा अघि बढेको छ । धरहरा निर्माणकामलाई पनि कोरोनाको त्रासले छोएको छैन् ।

कोरोनाका कारण चिनियाँ जिम्माका आयोजना भने सुस्ताएका छन् । चिनियाँ कम्पनीले जिम्मा लिएर निर्माणाधीन सडक र जलविद्युत् आयोजनामा कामदार अभावले निर्माणको काम प्रभावित बनेको छ ।

धरहराको १० औं तला ढलानको तयारी

कोरोनाको त्रासकै बीच पुनर्निर्माण जारी रहेको धरहरा निर्माणको काम अघि बढिरहेको छ । प्रत्यक्ष रुपमा नै असर नपरेको धरहराको १०औं तला ढलानको तयारी भइरहेको छ । यसै साता धरहराको १० औं तलाको ढलान गर्ने तयारी थालिएको छ ।

रानीपोखरी पुनर्निर्माण

पूर्वनिर्धारित समयमा रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्ने उद्देश्यको साथ थालिएको कामलाई कोरोनाको त्रासले छोएको छैन् ।
रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

तामाकोशी जलविद्युत् आयोजना बाँध क्षेत्रको प्राविधिक परीक्षण

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको प्राविधिक परीक्षणदेखि सुरु गरिएको छ।

दोलखाको उत्तरी क्षेत्र लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेसँगै बाँध क्षेत्रको काम सम्पन्न भइसकेको र त्यस क्षेत्रको प्राविधिक रुपमा परीक्षण सुरु गरिएको आयोजनाले जनाएको छ।

बाँध क्षेत्रको प्राविधिक परीक्षण मंगलबारदेखि यही चैत २२ गतेसम्म गरिने बताइएको छ। आयोजनाको बाँधक्षेत्र परीक्षण अन्तर्गत इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट र स्टपलगलगायत अन्य हेडबक्र्सका संरचनाको प्राविधिक परीक्षण हुन लागेको आयोजनाले जनाएको छ।

विद्युत् क्षेत्रमा विशेष महत्व राखेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजना हालसम्म सम्पन्न भइसक्नुपर्ने भए तापनि विसं २०७२ को विनाशकारी भूकम्पका कारण केही समय ढिला हुनगएको थियो।

आयोजनाको बाँध क्षेत्र परीक्षणको अवधिभर नदीको पानी रोक्ने र छाड्ने काम गरी रहनुपर्ने भएका कारण पानीको सतहमा तलमाथि हुने हुँदा तामाकोशी नदीको किनारमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, मन्थली, टुनीटार, जामुने, भोर्ले र सिगटी बवार, तामाकोशी बजार तथा मन्थलीसम्म नदी किनारमा केही गतिविधि नगर्न आग्रह गरिएको छ।

मेलम्ची सुरुङको पहिलो परीक्षण सफल

खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मेलम्ची आयोजनाको मुहान स्थलमा सुरुङको पहिलो परीक्षण सफल भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर सोमबार सुरुङको परीक्षण गरिएको हो । आयोजनाको मुहानस्थित ‘हेड वर्क्स’बाट अम्बाथान अडिटसम्मको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको थियो ।

मेलम्ची खानेपानी आयोजना राजधानीवासीको पानीको प्यास मेटिने बहुचर्चीत अयोजना हो ।

करिब दुई दशकअघिबाट निर्माण सुरु भएको आयोजना पटक-पटक म्याद सार्दै आगामी असोज मशान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट १७-१७ करोड गरी कुल ५१ करोड लिटर पानी राजधानी लाने आयोजनाको लक्ष्य छ । दोस्रो चरणको योजनाका लागि जग्गा अधिकरण र प्रवेश मार्ग निर्माणको काम सुरु गरिएको छ ।

चिनियाँ जिम्माका आयोजना सुस्ताए

कोरोनाका कारण चिनियाँ जिम्माका आयोजना भने सुस्ताएका छन् । चिनियाँ कम्पनीले जिम्मा लिएर निर्माणाधीन सडक र जलविद्युत् आयोजनामा कामदार अभावले निर्माणको काम प्रभावित बनेको छ ।

सबैभन्दा बढी समस्या नारायणगढ–बुटवल सडकखण्डमा देखिएको छ । चीन सरकारको अनुदानमा निर्माणाधीन १६ किमि रसुवागढी–स्याफ्रुबेंसी सडक निर्माणमा पनि समस्या देखिएको छ ।

चिनियाँ कामदार आउन नसक्दा विद्युत् आयोजनाको काम प्रायः ठप्प छ । दोलखा र रामेछापको सीमामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको काम चिनियाँ कामदार नआउँदा रोकिएको छ ।

खिम्ती–२ पिपल्स इनर्जी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेका छन् । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्बाइन वर्क्स (सीडब्लूटीडब्लू) ले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here